2026-09-13 06:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

तरामी मगरले मनाउन पाएनन् ‘असारे’

रामबहादुर थापा । असार २९, बागलुङ । यहाँको पुस्तैनी मेला ‘असारे’ यसपालि लागेन । ताराखोला गाउँपालिका–५ मा चल्ने मेलालाई कोरोनाले रोक्यो । बर्सेनि असार तेस्रो मङ्गलबारदेखि शुरु हुने मेला सातादिन चल्थ्यो । स्थानीय तरामीमगरले हर्षोल्लासपूर्वक असारे मनाउँथे । बर्खे झरीकोसमेत पर्वाह नगरी मेलामा रम्थे । असारेलाई गाउँलेले आफ्नो मौलिक संस्कृति मान्छन् । तीन सय वर्ष अघिदेखि असारेको थिति बसेको बताइन्छ । असारेमा खुशी साट्ने, मिठो–मसिनो खाने, प्रकृति र देउता पूज्ने चलन छ । नयाँ पुस्ताले ‘असारे मेला’का रूपमा संस्कृति धाने पनि जनबोलीमा भने ‘असारे’ प्रचलित छ ।

डोल्पाको ताराभोटबाट आएका पूर्वजले मेलाको चलन बसालेको असारे युवा क्लबका अध्यक्ष प्रकाश रोकाले बताउनुभयो । “कोरोनाका कारण यो वर्ष मेला गर्न सकिएन, रीतिथितिअनुसार पूजाआजा भने भयो”, उहाँले भन्नुभयो । असारे ताराखोलाको ऐतिहासिक महत्व राख्ने मेला भएको उहाँको भनाइ छ । आउँदा वर्षमा मेलाले निरन्तरता पाउने क्लबले जनाएको छ । क्लबले नै असारेको परम्परा धान्दै आएको छ । “पुरानो संस्कृति संरक्षण गर्नु हाम्रो दायित्व हो”, क्लबका अध्यक्ष रोकाले भन्नुभयो । मेलालाई ‘असारे बस्ने’ पनि भन्ने चलन छ । असारे बसेका बेला खेतीपातीको काम गर्न नहुने मान्यता छ । बर्सातमा बाढीपहिरोजस्ता प्रकोप नहोस्, रोगव्याधि नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्दै गाउँलले पूजाआजा गर्छन् ।

तारागाउँमा रहेको थानमा पूजाआजापछि करिमेलामा सांस्कृतिक कार्यक्रम तथा खेलकूदको आयोजना गर्ने गरिन्छ । विगतमा मगर समुदायमा मात्र सीमित असारे मेला पछिल्लो समय सबै वर्ग र समुदायको साझा बन्दै गएको छ । मेलामा युवायुवती पिङ खेल्ने, मीठा परिकार खाने, असारे गीत तथा नाचमा रमाउने गर्छन् । खेतीपातीपछि आराम गर्ने, आफन्त र मित्रजनसँग भेटघाट हुने अवसरका रूपमासमेत मेलालाई लिइन्छ । पछिल्लो समय मेलाको स्वरूप केही फेरिँदै गएको छ । मेलामा दोहोरी गीत, भलिबल, रस्साकस्सी, धनुषवाणलगायतका प्रतियोगिता पनि सञ्चालन गरिन्छ । ताराखोलामा प्रचलित सांस्कृतिक झाँकी, गीत तथा नृत्य पनि प्रदर्शन गर्ने गरिएको छ । 

धार्मिक आस्था, मान्यता र परम्परासँगै मेलालाई नयाँपन दिन थालिएको हो । पुरानो पुस्ताले असार तेस्रो मङ्गलबारसम्म खेतीपातीको काम भ्याएर चार दिन विश्राम लिएर असारे बस्ने चलन शुरु गरेको मगर अगुवा बताउँछन् । सोही बेलादेखि आराम र मनोरञ्जनका लागि ‘असारे मेला’ शुरु भएको विश्वास गरिन्छ । मेला धार्मिक, सांस्कृतिक मान्यतासँग पनि जोडिएको छ । मेला भर्न हिल, अर्गल, हटिया, हरिचौर, तमान, खुङ्गा म्याग्दीको रुम, निस्कोट, किमचौरलगायतका ठाउँबाट सर्वसाधारण आउँछन् । 

गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले अर्गल, हिल, अमरभूमिलगायतका गाउँमा पनि बर्खे मेला हुने गरेको बताउनुभयो । विसं १७६६ तिर ताराखोलामा मगर बसाइँ सरेपछि मेलाको प्रचलन बसेको उहाँको भनाइ छ । समय अघिपछि भए पनि गाउँपालिकाका विभिन्न ठाउँमा बर्खे मेला आयोजना गरिन्छ । यो वर्ष भने सबै मेला, पर्व कोरोनाका कारण प्रभावित बनेका छन् । ताराखोलाका मगर समुदायले राघे, माघे सङ्क्रान्ति र श्रीपञ्चमी पर्वलाई विशेष रूपमा मान्छन् । 

साउने सङ्क्रान्तिमा चेलीबेटी बोलाउने, टिकाटाला गर्ने पनि चलन छ । मगर समुदायमा आधारित भुस पोल्ने र सिस्नो खोस्ने नाच पनि ताराखोलाका ऐतिहासिक संस्कृति हुन् । “कला, संस्कृतिको उत्थान र जर्गर्ना गाउँपालिकाको प्राथमिकतामा छ”, अध्यक्ष घर्तीले भन्नुभयो ।

ताराखोलाको पहिचान झल्काउन बहुसांस्कृतिक सङ्ग्रहालय बनाउने योजना गाउँपालिकाको छ । उक्त सङ्ग्रहालय बनाउन आउँदो आवका लागि रु २५ लाख बजेट छुट्ट्याइएको अध्यक्ष घर्तीले जानकारी दिनुभयो । “प्रदेश र सङ्घ सरकारबाट समेत बजेट जुटाएर आउँदो वर्ष रु एक करोड बराबरको काम गर्छौं”, उहाँले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले