भदौ १९, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो पदबाट राजिनामा दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् ।
सरकारको प्रवक्तासमेतको जिम्मेवारी पाएका खतिवडाले शुक्रबार साँझ पदबाट संविधानबमोजिम राजीनामा दिएका हुन् । आफ्नो कार्यकालमा राजस्व प्रशासनमा सुधार भएको खतिवडाले बताएका छन् । खासगरी भ्याट फिर्ता खारेजीको निर्णयलाई अर्थमन्त्रीले सफल निर्णय मानेका छन् । यसअवधिमा खर्च प्रणाली र लेखा प्रणालीमा समेत उल्लेख्य सुधार भएको प्रतिक्रिया अर्थमन्त्रीले दिए ।

प्रधानमन्त्री ओलीले खतिवडालाई मन्त्रिपरिषद् बाहिर रहेर सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए । राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एक सदस्यको सिट रिक्त छ । उक्त सिटमा नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेसँगै खतिवडा सरकारबाट बाहिरिएका हुन् ।
अर्थमन्त्री खतिवडा साढे दुई वर्ष कार्यभार सम्हालेर बिदा भएका हुन् ।