किरण पौड्याल। भदौ २३, इलाम ।
कपाल हेर्दा झाँक्रीजस्तो, नङग्रा हेर्यो भालु
हमालको फेसन अरे, भन्छन् कपाल पालु
अरूका दाजुचाहिँ जागिर खान्छन्,
हाम्रा दाजुचाहिँ जाँड खान्छन् ।
कुनै समयका चर्चित लोकगीत हुन् यी । यिनै लोकगीतले कुनैबेला गाउँघर हल्लिन्थे । धेरैलाई यी वाक्यबाटै गीतको तरङ्ग दिमागमा आइसक्छ भने गीत नजानेका र नसुनेका व्यक्तिलाई पनि व्यङ्ग्य मिश्रित यी शब्दले तानेरै छाड्छ । यस्ता सामाजिक विषयवस्तुमाथि गीत रचना गर्ने र गाउने व्यक्ति हुनुहुन्छ इलामे गायक प्रकाश बस्नेत ।
देउमाई नगरपालिकास्थित राँकेका प्रकाश यी र यस्तै गीत गाउँदै कुनै बेला साङ्गीतिक दुनियाँमा रम्नुहुन्थ्यो । समाजमा घटेको घटनालाई टपक्कै टिपेर गीतमा रूपान्तरण गर्ने प्रकाशका गीतले दुई दशकअघि बच्चादेखि वृद्धसम्मलाई छुन्थे । समसामयिक विषयलाई ‘चोटिलो व्यङ्ग्य’ गर्ने प्रकाशका शुरुआतकै गीतले ‘वाहवाही’ बटुलेपछि दशकसम्म साङ्गीतिक क्षेत्रमै रम्नुभयो । विसं २०५८ पछि साङ्गीतिक क्षेत्रमा पस्नुभएका उहाँले यी मात्र होइन, ‘लगन जुरेन, साइतै जुरेन : यसपालि त मामा घर जाने हो’ जस्ता गीतमा शब्द र सङ्गीत दिनुभयो भने आधा दर्जन गीतमा आफैँ अभिनय गरेर दर्शकमाझ छाउनुभयो ।
म्युजिक भिडियोमा पनि गीतकै सुरमा अभिनय गर्न सक्ने प्रकाशले आफ्नो अपेक्षाभन्दा माथिको प्रशंसा पाउनुभयो । विशेषगरी गाउँघरका विवाह र सांस्कृतिक कार्यक्रममा मनोरञ्जनका राम्रै साधनमा पर्थे प्रकाशका गीत । ग्रामीण समुदायका झझल्को दिने ती गीत दर्शक नचाउनका लागि अचुक ओखती बने । साङ्गीतिक क्षेत्रमै समय दिएर प्रकाशले कतिपय व्यङ्ग्यात्मक गीतसमेत रच्नु र गाउनुभयो । यिनै गीतले प्रकाशलाई रचनाकार, गायक, सङ्गीतकार हुँदै ‘मोडल’ सम्म बनायो ।
परिस्थिति कोल्टो पर्दा
यति प्रख्यात प्रकाश लामो समय साङ्गीतिक दुनियाँमा रम्न सक्नुभएन । राज्यको तत्कालीन परिस्थिति र साङ्गीतिक क्षेत्रको बदलिँदो परिवेशले प्रकाश यही क्षेत्रमा टिक्नु भएन । साङ्गीतिक क्षेत्रमा लाग्दादेखिकै सरकार–माओवादी द्वन्द्व र साङ्गीतिक क्षेत्रमै आएको उतारचढावले प्रकाशलाई निरुत्साहित मात्र गराएन पलायन हुन बाध्य बनायो ।
“मेरा लागि समय नै सही थिएन”, प्रकाशले भन्नुभयो, “मैले गीतबाट पैसा कमाउन एल्बम र सिडी बेच्नुपथ्र्यो तर समय म्युजिक भिडियोको आइसकेको थियो ।” परिस्थितिलाई सामना गर्न नसक्दा प्रकाश दर्शकमाझ चिनिए पनि अर्थोपार्जन भने भएन । एकातिर एल्बम बेच्न नसकेर आर्थिक मन्दी चलिरहेका बेला बदलिँदो राजनीतिक परिस्थितिले साङ्गीतिक कार्यक्रम गर्ने माहोल पनि बनेन । सबैतिरको समस्याले प्रकाशले साङ्गीतिक क्षेत्रबाट पलायन हुनुपर्यो । “मान्छे बाँच्नका लागि आदर्श होइन, यथार्थ मुख्य हुँदोरहेछ”, प्रकाशले विगत सम्झनुभयो, “दर्शक र स्रोताले राम्रै भने पनि गोजीमा पैसा नभएपछि पलायन नभएर के गर्नु र !”
विकल्पमा विदेश
आफूले बुझेको र लामो समय गुजारेको साङ्गीतिक क्षेत्र छाडेर जान प्रकाशलाई सहज त थिएन तर परिबन्धले बाँधेपछि कसको के लाग्यो र ! फेरि के गर्ने÷कता जाने भन्ने अन्योलका प्रश्न नजन्मिने कुरा पनि भएन । परिवारको सल्लाह मान्दै प्रकाशका लागि अर्को अवसरको क्षेत्र जुर्यो– वैदेशिक रोजगार । आफ्नै मामा वैदेशिक रोजगारका क्रममा दक्षिण कोरियामा भएकाले प्रकाश पनि त्यहीँ जानुपर्ने सल्लाह परिवारबाट आयो । परिस्थितिले बाँधेपछि उहाँले नाइँ भन्न सक्ने कुरा पनि भएन । अब प्रकाशले आफ्ना दर्शक÷स्रोता मात्र नभई मित्र र परिवारसमेत चटक्कै छाडेर कोरिया हान्निनुपर्ने भयो ।
प्रकाश कोरिया त जानु भयो तर उहाँले सोचेजस्तो भएन । एकातिर आफ्नो देशको जस्तो हावापानी मिलेन भने साथी÷सहकर्मी थिएनन् । ‘फगत’ एक्लो ज्यान काममा खट्नुपर्ने भएपछि प्रकाशलाई त्यहाँ बस्न मनै भएन । परिवारको माया, साथीभाइको सम्झनाले तान्न थाल्यो तर त्यहाँ तीन महिना बस्दा भने प्रकाशलाई ‘पैसा भन्ने चिज नेपालमै कमाउन सकिन्छ’ भन्ने लाग्न थाल्यो । ठूलो लगानी र धेरै परिश्रम बगेकाले त्यति सजिलै नेपाल फर्किन सक्ने कुरा थिएन तर पनि उहाँ डेढ वर्षमै घर फर्किन बाध्य हुनुभयो ।
भाषा पढाएर ‘मालामाल’
‘पैसा’ नेपालमै कमाउने भन्ने सपना बोकेर प्रकाश घरै फर्किनुभयो । घर फर्किएपछि जिल्ला सदरमुकाम बस्ने र कोरियाली भाषा पढाउने निष्कर्षमा प्रकाश पुग्नुभयो । आर्थिक स्रोतको गतिलो माध्यम कोरियाली भाषा अध्यापन हुनसक्ने बुझेपछि उहाँ निरन्तर भाषा पढाउन लाग्नुभयो ।
खाडी मुलुक भौँतारिनेको लहड बढेका बेला कोरिया जान धेरै युवा ताम्सिए । एक्ला प्रकाशले सबैलाई अध्यापन गराउन सक्ने कुरा त भएन तर हिम्मत भने हार्नुभएन । निरन्तर २० घण्टासम्म खट्दै उहाँले धेरै विद्यार्थी सफल बनाउनुभयो । धेरैका ‘ज्ञानका गुरु’ बन्नुभएका प्रकाशको आर्थिक पाटो पनि राम्रै गरी सप्रियो । कमाइ भएसँगै उहाँलाई लगानीयोग्य क्षेत्रमा रकम लगाउन मन लाग्यो । यत्तिकैमा प्रकाशले आफ्नै गाउँ राँकेमा ठूलै रकममा होटल खोल्ने विचार गर्नुभयो । आफ्नै जग्गामा रु तीन करोड लगानी गर्दै चारतले घरसहित बस्नेतले अहिले होटल सञ्चालनमा ल्याउनुभएको छ । अढाइ वर्षअघि खोलेको होटलमा अहिले उल्लेखनीय आम्दानी दिइरहेको छ । “लगानी गरेअनुसारको आम्दानी राम्रै छ । ग्रामीण क्षेत्र हो अरू क्षेत्रजस्तो त कहाँ हुन्छ र तर पनि चलेकै छ”, प्रकाश भन्नुहुन्छ, “स्थानीय खाद्य परिकारलाई प्राथमिकतामा राखेर होटल सञ्चालन गरेको छु । साथीभाइको सहयोगले पनि राम्रै भएको छ ।”
बाहिरी खाद्य परिकारलाई भन्दा पनि स्थानीय वस्तुलाई प्राथमिकता दिन थालेपछि होटलमा ग्राहकको समेत आगमन बढेको बस्नेत बताउनुहुन्छ । अहिले उहाँको होटलमा दैनिक ५० भन्दा बढी मानिसको बसोबास हुन्छ । “मेची राजमार्ग हुँदै ताप्लेजुङको पाथीभरा जानेको ठूलै सङ्ख्या होटलमा बस्छ । सबैलाई ग्रामीण परिवेशको खानेकुरा खुवाउँदा ग्राहकसमेत निकै खुशी हुन्छन्”, प्रकाश भन्नुहुन्छ ।
‘कमब्याक’ योजनामा प्रकाश
लामो समय साङ्गीतिक क्षेत्र छाड्नुभएका प्रकाश अब भने ‘कमब्याक’ हुने योजनामा हुनुहुन्छ । आफ्नो ‘स्वर्णिम’ समय सोही क्षेत्रमा गुमेको र साथी÷सहकर्मी पनि कमाएकाले साङ्गीतिक क्षेत्रमा पस्ने प्रकाशको उद्देश्य छ ।
“अहिले पनि साइटबाट काम त गरिरहेकै छु । धेरै गीतमा सङ्गीत भरेको छु”, प्रकाश भन्नुहुन्छ । अहिले फुर्सदको समय आफूले सामाजिक काम र साङ्गीतिक कार्यक्रममै दिँदै रहेको प्रकाशको भनाइ छ तर यतिमात्र होइन, एकपटक साङ्गीतिक क्षेत्रमै पसेर पुनः दर्शकमाझ चिनिने योजना छ प्रकाशको । साङ्गीतिक दुनियाँबाटै चिनिएका प्रकाशलाई अझै पनि साङ्गीतिक ‘धङधङी’ भने ताजै छ । यसले गर्दा पनि दर्शक/स्रोतसामु आफू पुग्ने प्रकाशको भनाइ छ । “म आफूलाई त्यति अब्बल दर्जाको गायक त ठान्दिनँ”, प्रकाश भन्नुहुन्छ, “काम गर्दा साङ्गीतिक क्षेत्रमा गुमनामचाहिँ हुन्नँ ।” रासस