2026-11-03 09:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

च्याङ्ग्रा लिन हिमालपारि

असोज २७, बागलुङ । दशैँलाई च्याङ्ग्रा लिन यहाँका व्यापारी बर्सेनि हिमालपारिको जिल्ला मुस्ताङ छिर्छन् । हप्तौँ लगाएर च्याङ्ग्रा भित्र्याउँछन् । यसपालि पनि कतिले च्याङ्ग्रा ल्याइसके भने कोही बाटैमा छन् । व्यापारी अम्मरबहादुर क्षत्री र लक्ष्मण खड्का च्याङ्ग्रा लिएर आजै बागलुङ आइपुग्नुभएको छ । “१८ गते गएको बल्ल आज आइपुगियो”, क्षत्रीले भन्नुभयो । जोमसोमदेखि दुई दिनको बाटोमा पर्ने चमर भन्ने ठाउँमा पुगेर च्याङ्ग्रा ल्याएको उहाँको भनाइ छ ।

क्षत्री र लक्ष्मण मिलेर १४५ च्याङ्ग्रा जिल्लामा भित्राउनुभएको छ । च्याङ्ग्रा लिन यहाँका २० भन्दा बढी व्यापारी मुस्ताङ पुगेको क्षत्रीले बताउनुभयो । लामो बाटोमा कठिन यात्रा तय गरेर व्यापारीले च्याङ्ग्रा ल्याउँछन् । यसपालि च्याङ्ग्रा कम आएको र भाउ पनि महँगिएको छ । कोभिड–१९ कारण तिब्बतका व्यापारीले च्याङ्ग्रा मुस्ताङ ल्याएका छैनन् । स्थानीय च्याङ्ग्रा मात्र बजारमा आएको छ । मुस्ताङमा पालिने च्याङ्ग्राले माग नधान्ने हुँदा ठूलो सङ्ख्यामा च्याङ्ग्रा तिब्बतबाट भित्रने गथ्र्यो ।

“दशैँका बेला ३५/४० हजारसम्म च्याङ्ग्रा मुस्ताङबाट बाहिरिन्थ्यो, अहिले ८/१० हजार मात्र आउँदैछ”, क्षत्रीले भन्नुभयो । उहाँका अनुसार च्याङ्ग्राको भाउ पनि झण्डै पाँच हजारले बढेको छ । रोज्जा च्याङ्ग्राको मूल्य ३४ देखि ३५ हजारसम्म पुगेको छ ।

गत वर्ष रु २९ हजारमा बिक्री भएको थियो । मासु प्रतिकिलो रु १४ सय पुगेको थियो । खरिदमै मूल्य बढी परेको व्यापारीको भनाइ छ । किसानको गोठबाट रु २७ हजार ५०० मा च्याङ्ग्रा उठाएको क्षत्रीले बताउनुभयो । च्याङ्ग्रा कम हुनु, बढ्दो करजस्ता कारणले पनि च्याङ्ग्रा महगिँदै गएको छ । व्यापारीको आउजाउमा पनि बढी खर्च हुन्छ । स्थानीय तहसहित ठाउँठाउँमा दस्तुर र कर तिर्नुपर्दा थप मर्का पर्ने गरेको व्यापारीको गुनासो छ । 

तीन वर्षमा १० हजारभन्दा बढीले च्याङ्ग्राको भाउ बढेको अर्का व्यापारी महेन्द्र केसीले बताउनुभयो । केसीले पनि पाँच वर्षदेखि च्याङ्ग्राको कारोवार गर्दै आउनुभएको छ । महँगो परेपनि दशैँका बेला च्याङ्ग्राको मासु उपभोक्ताको रोजाइमा पर्ने गरेको उहाँको भनाइ छ । केसीको मासु पसलसमेत छ । 

च्याङ्ग्राको व्यापारबाट पहिलेपहिले जस्तो कमाइ हुन छाडेको व्यापारी बताउँछन् । एउटा च्याङ्ग्रामा एक÷दुई हजारसम्म फाइदा राखेर बेच्ने गरेका छन् । बागलुङमा बर्सेनि झण्डै दुई हजार च्याङ्ग्रा भित्रिन्छ । यो वर्ष भने त्यो सङ्ख्या घट्ने भएको छ ।

हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट र स्वस्थकर मानिन्छ । उपभोक्ताले दशैँमा च्याङ्ग्राको मासु खोजीखोजी उपभोग गर्छन् । मुस्ताङबाट झारिने च्याङ्ग्रा गण्डकी प्रदेशका विभिन्न जिल्ला हुँदै काठमाडौँसम्म पुर्याइन्छ । 

राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले व्यापारीले उपभोक्ताको माग पूरा गर्न दुःख–सुख गरेर दशैँमा च्याङ्ग्रा ल्याउने गरेको बताउनुभयो । “हिमाली जिल्ला पुगेर ल्याउनुपर्छ, खर्च बढी हुन्छ”, उहाँले भन्नुभयो, “महँगो त छ, फेरि व्यापारीले पनि अलिअलि नाफा निकाल्नुपर्यो ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखराले गुमायो छैठौँ विकेट एमालेसहित सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्छ : प्रचण्डको आह्वान मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक युक्रेनमा रुसी आक्रमण : मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो, ४८ जना बेपत्ता एनपीएल : टस जितेर लुम्बिनीले रोज्यो बलिङ, पोखरा पहिले ब्याटिङ गर्दै छिटो र सहज न्यायका लागि मेलमिलापसम्बन्धी विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम एनपीएल : विराटनगरसँग जनकपुर २ रनले पराजित डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्नू : देवराज चालिसे एनपीएल : विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्न, संसद्‌मै छलफल गर्न माग एनपीएल : जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै