2026-09-12 05:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

सन्तान हुनुको गर्वानुभूति

माघ २६, महोत्तरी । पिताको काख गुमेको पीडा छ, शोक छ, तर उमेरले ५० वर्ष कटेकी शैल साहलाई यसै पीडा र शोकभित्र सन्तान हुनुको गर्वानुभूति छ । बाबुआमाकी एक्ली सन्तान शैललाई अहिले पिताको निधनसँगै उहाँको अरथी आफ्नो काँधमा उठाउने, चितामा दागबत्ती दिने र पारम्परिक मृत्यु संस्कारमा मुख्यकर्ता हुन पाएपछि सन्तान हुनुको गर्वानुुभूति भएको हो । पिता सर्युग साहको अरथी उठाएर दागबत्ती दिँदै मृत्यु कर्मको मुख्यकर्तामा आफू बसेको दुःखद् क्षणमा शैलले बल्ल आफूले सन्तान भएको महसुस गरेको बताउनुभयो । 

“बाबु गुमाएकी छु, पीडामा छु, प्यारो काख गुमेको छ”, आइतबार धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिकामा पर्ने जलाद नदी तटको घाटमा स्वर्गीय पितालाई दागबत्ती दिएकी शैलले भन्नुभयो, “यद्यपि बुबाको अरथी आफ्नै काँधमा उठाएर दागबत्ती दिँदा आपूm सन्तान भएको गर्व गरेँ ।” महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ का स्थायी बासिन्दा ८५ वर्षीय पिता सर्युगको शनिबार राति निधन भएपछि एक्ली सन्तान शैलले आइतबार अरथी उठाउनदेखि दागबत्ती दिने र मुख्यकर्ता भई पिताको मृत्यु संस्कारमा सहभागी हुनुभएको छ ।

यसअघि पितालाई उपचारका लागि जनकपुरदेखि काठमाडौँसम्म लिएर गएकी शैलले काठमाडौँबाट फर्कँदै गर्दा बाटोमै शनिबार राति निधन भएको क्षण अत्यन्त पीडादायी भएको बताउनुभयो । “एक दशकअघि आमा फूलकुमारी साहको निधन हुँदा मैले यो अवसर पाइँन”, पिताको वियोगमा बलिन्द्र धारा आँसु काढ्दै शैलले भन्नुभयो, “अहिले पिताको पालामा भने बल्ल सन्तान बन्न सकिछुु ।” आमाको निधन हुँदा आफूले चाहे पनि त्यतिखेर समाजले त्यो अवसर नदिँदा कुँडिएको चित्तलाई अहिले बाबुको पालामा पाएको अवसरले मलमको काम गरेको शैलको भनाइ छ । शैलकी आमाको अरथी उठाउनदेखि दागबत्ती दिने र मृत्यु संस्कारको मुख्यकर्ताको भूमिका त्यतिखेर काकाका छोरा भाइले गरेका थिए । 

एक दशकअघिको सामाजिक रीतिथिति र विश्वासभन्दा समाज अघि बढेको शैलको ठम्याइ छ । “मैले आमालाई आफैँ दागबत्ती दिन्छु, मृत्यु संस्कार (क्रियापुत्री बस्नु) को कर्ता हुन्छु भनेँ” एक दशकअघिको घटना सम्झँदै शैलले भन्नुभयो, “मेरो आफ्नै माइती ठाउँमा सारा पुकार व्यर्थ गयो ।” आइमाइले पनि अरथी उठाउने, दागबत्ती दिने र कर्ता हुने कहीँ हुन्छ भनेर आफूलाई उल्लीबिल्ली पारेको शैलले सम्झनुभयो । 

आमाको मृत्युपछि पितालाई आफ्नै घर (महेन्द्रनगर, धनुषा) ल्याएर स्याहारसम्भार गरेकी शैलले भन्नुभयो, “छोरीलाई आर्थिक, सांस्कृतिक, सामाजिक र पारम्परिक कार्यको दायित्व नदिने समाजमा आमाको पालामा म नै उदाहरण थिएँ”, शैलले अगाडि भन्नुभयो, “अब परिवेश र सामाजिक चिन्तनमा निकै फरक आएछ, ५० वर्ष उमेर कटेकी मलाई बल्ल सन्तान हुनुको महसुस अहिले भयो ।”

शैलले पिताको अरथी उठाउँदा विल्कुलै सामान्य अवस्था त थिएन । ‘हँ आइमाइले काहीँ अर्थी उठाउने र दागबत्ती दिन हुन्छ र ?’, यस्तो कानेखुशी गर्ने पनि थिए तर एक दशकअघि शैलकी आमाको निधन हुँदाको जस्तो त्यो स्वर बलियो रूपमा मुखरित भने हुन नसकेको उहाँका एक छिमेकी बताउँछन् । मधेशमा छोरीले अरथी उठाउनेदेखि दागबत्ती दिने र मुख्यकर्ता भई माता÷पिता वा अन्य परिवारजनको मृत्यु संस्कारमा सरिक भएका थोरै उदाहरणमा अब शैल थपिनुभएको छ । “छोरा सरह सबै कुरामा समान भागीदारी र दायित्वको कुरा स्थापित नै हुन त अझै केही समय लाग्ला”, शैलका पति लक्ष्मण साह भन्नुहुन्छ , “तर जति समाजले अहिले पचाउँदै छ, एक दशकअघिको तुलनामा यो सामाजिक क्रान्ति नै हो ।”

शैलले पिताको मृत्यु संस्कारमा लिएको दायित्व महेन्द्रनगरमा अब सामान्यजस्तै भएको त्यहाँका बासिन्दा बताउँछन् । अब छोराछोरीबीच सांस्कृतिक, सामाजिक र पारम्परिक कार्यमा देखिने गरेको यसअघिको विभेद क्रमशः घट्दै जाने युवा पिँढीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग