२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘गरीबलाई प्रकृति पनि निष्ठुरी हुने रहेछ’

५ श्रावण २०७८, मंगलवार १०:१२

कृष्ण अधिकारी । साउन ५, सिन्धुपाल्चोक (रासस) । बाढीले घरखेत बगाएर बेसहारा बनेकी हेलम्बु–२ गणेशबगरकी राम्री लामाका आँखा अझै ओभाएका छैनन् । गत असार १ गते साँझ मेलम्ची खोलामा आएको बाढीले उहाँको घर बगाएर लग्यो भने भएको थोरै खेत पनि बगरमा परिणत गरिदिएपछि उहाँको परिवार सुुकुम्बासी बनेको छ ।  

“दिनभरि मेलापात गरी साँझ घर फर्केर खाना तयार गर्दै थिएँ, एक्कासि बम पड्किएजस्तो ठूलो आवाजसँगै मेलम्ची उर्लियो । वरपरको जमीन हल्लिँदा भूकम्प गएजस्तो लाग्यो । हत्तपत्त श्रीमान्लाई  नागरिकता र जग्गाधनी पुर्जा ढाडमा बाँधेर दौडिन भनेँ । हामी भागेर माथि डाँडामा पुग्दानपुग्दै मेलम्चीले उग्ररुप लिइसकेको थियो । हेर्दाहेर्दै हाम्रो बस्ती बगरमा परिणत भयो”, उक्त दिनको घटना सुनाउँदै उहाँले भन्नुभयो, “घरभित्रका कुनै सामान निकाल्न सकिएन, गोठमा बाँधेको भैँसी पनि बगायो ।”

असारे धान काट्ने र नयाँ धान रोप्ने तयारीमा रहेका यहाँका बासिन्दा भएको जमीन पनि बाढीले सखाप पारिदिएपछि भोकमरीमा पर्ने चिन्तामा छन् । गणेशबगरका घरबारविहीन बनेका १६ परिवारलाई गाउँपालिका र अन्य सङ्घसंस्थाको सहयोगमा माथि डाँडामा पालमा राखिएको छ । घरमा खासै क्षति नपुगेको भए पनि सम्भावित क्षतिको त्रासका कारण अन्य २४ परिवार पनि अझै सोही स्थानमा पालमै बस्दै आएका छन् । 


एकातिर भएको चलअचल सम्पत्ति गुमाउनु पर्दा र अर्कातिर पालमा अर्काले दिएको राहतले छाक टारेर दिन काट्नुपर्दाको पीडा त छँदैछ, त्यसमा पनि यतिबेला पालमा बसेका अधिकांशमा ज्वरो आउने, रुघाखोकीको समस्याले गर्दा कोरोना सङ्क्रमणको जोखिम पनि उत्तिकै रहेको स्थानीय बाढी पीडितहरुको गुनासो रहेको छ । “गाउँपालिकासँग कोरोना परीक्षण गरिदिन आग्रह गर्दा पनि कुनै सुनुवाइ भएन”, स्थानीयवासी केवाङ लामा भन्नुहुन्छ । पालमा बस्दा दिउँसोको समयमा गर्मी र राति चिसो हुने गरेको, एकै ठाउँमा झण्डै डेढ सय मानिस बस्दा अन्य समस्याहरु पनि आउने गरेको उहाँ बताउनुहुन्छ ।

घरबाट झण्डै आधा घण्टाको दूरीमा बग्ने मेलम्ची खोला अहिले आफ्नो घर भएको ठाउँबाट बगेको देख्दा उहाँ अत्यन्त दुःखी हुनुहुन्छ । “अब कहाँँ बस्ने ? जग्गाको बन्दोबस्त गरे घर बनाउन सहयोग गर्ने बताउँछ गाउँपालिका । आफूसँग अर्को जमीन छैन । खोला घटेपछि पहिलेकै ठाउँमा बनाउँ भने फेरि यस्तै बाढी आउन सक्छ”, उहाँले भन्नुभयो, ‘‘हामी भूमिहीनलाई सरकारले यही गणेशबगरको पाखोमा घर बनाई दिनुपर्छ ।” आफूले केही दिनअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीग्रस्त क्षेत्रको अवलोकन भ्रमण गर्दा पनि यही गुनासो राखेको उहाँको भनाइ छ ।

जिल्लाकै घ्याङफेदीमा रहेको घर २०७२ सालको भूकम्पले भत्काएपछि उहाँले गणेशबगरको छेउमा रु चार लाखमा चारआना जग्गा किनेर पक्की घर बनाउनु भएको थियो ।  स्थानीयवासी केवाङ लामाको पीडा पनि उस्तै छ । मेरो घरमाथि अर्को छिमेकीको घर लड्यो । बस्नै नहुने गरी घर क्षति भएको छ । अहिले घरको करेसाबाट खोला हिँडेको छ । “भूकम्पपछि ऋणधन गरेर घर बनाइयो, आज बाढीले फेरि बगरको बास गरायो”, आँखाभरि आँसु पार्दै उहाँले भन्नुभयो, “गरीबलाई प्रकृति पनि निष्ठुरी हुने रहेछ ।” यसपटकको बाढीमा परी हेलम्बुमा १६ जनाको अकालमै मृत्यु भएको छ । यस क्षेत्रको मुख्य व्यापारिक केन्द्र चनौटेका अधिकांश घर बस्न योग्य छैनन् । तीन सय ५० हेक्टरभन्दा बढी खेतीयोग्य जमीन बगरमा परिणत भएको छ । 

बाढी आएको एक महिना बितिसक्दा पनि पीडितहरुको पुनस्र्थापना गर्नेतर्फ कुनै ठोस पहल नहुँदा उनीहरु अझै कतिञ्जेल यसरी पालमै बस्नुपर्ने हो भन्ने अनिश्चयले पनि चिन्तित छन् । आकाशमा कालो बादल मडारिएको देख्नासाथ उनीहरु कतिबेला अर्को अनिष्ट हुने हो भन्ने भयले त्रसित हुने गर्दछन् । पटकपटक विभिन्न प्राकृतिक प्रकोपबाट प्रभावित बन्दै आएका स्थानीयवासीका लागि यसपटकको बाढी पुस्तौँसम्मका लागि अपूरणीय क्षतिको घटना बनेको छ ।

मेलम्ची खोलामा यस्तो बाढी आउला भन्ने कसैले सोचेको पनि थिएन । मेलम्ची खानेपानी आयोजनाले सुरुङ खन्दा निस्केको ठूलो परिणामको मग बगरमै मिल्काएको र यसपटकको बाढीले त्यसलाई मसते बगाएर ल्याउँदा तल्लोतटीय क्षेत्रमा ठूलो क्षति पु¥याएको स्थानीय बासिन्दाको भनाइ छ । समयमै त्यसको उचित व्यवस्थापन नगर्दा आज बाढीको प्रवाह बढ्न गई ठूलो जनधनको क्षति भयो, यस विषयमा आयोजनाले कुनै चासो र जिम्मेवारी लिएको देखिएन, स्थानीय समाजसेवी हस्त पण्डितले बताउनुभयो । यसपटकको बाढीले खोलाको सतह झण्डै १५ देखि २५ फिटसम्म माथि बढेकाले आगामी दिनमा सामान्य बाढी पनि बजार र बस्ती क्षेत्रमा पस्न सक्ने भएकाले यसको समयमै व्यवस्थापन गर्ने र हिमाली क्षेत्रमा भएको परिवर्तनको उच्चस्तरीय अध्ययन हुनु आवश्यक रहेको उहाँको तर्क छ । 

बाढीले असर पुर्याएको मेलम्ची बजारका बासिन्दा भत्किएका घरबाट काम लाग्ने कुनै सामान भए निकाल्न र बालुवा, ढुङ्गा पन्छाउन शुरु गरेका छन् । माथिबाट खोलामा बाढी आउँदै गरेको केही समयअघि सूचना पाएका कारण यहाँ मानवीय क्षति हुन पाएन । केही व्यक्तिले मात्र घरभित्रका महत्वपूर्ण कागजात र बहुमूल्य सामान निकाल्न भ्याएका थिए । यस्ता प्राकृतिक विपद्मा पूर्वसूचनाले ठूलो क्षति हुनबाट रोक्न सकिने अनुभव यस घटनाले सिकाएको मेलम्ची–६ का वडाध्यक्ष जीतराज थापा बताउनुहुन्छ ।

खोलाको अतिक्रमण गरी घरलगायत अन्य संरचना निर्माण गर्ने, खेती लगाउने गरेका कारण पनि यसपटक बढी क्षति भएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “अहिले क्षति भएका घर, झोलुङ्गे तथा पक्की पुललगायतका संरचनाहरु ९० प्रतिशत मापदण्ड विपरीतका छन् । खोला किनारबाट १०० मिटर राख्नुपर्नेमा कतिपय ठाउँमा त २५ मिटर पनि थिएन ।”

यतिबेला बाढी प्रभावित क्षेत्रमा स्काभेटर लगाएर नदीलाई केही गहिराउने र ढुङ्गालाई किनारा लगाउन काम भइरहेको छ । “वर्षायाम भएकाले नदी किनारमा दिगो संरचना बनाउन सकेका छैनौँ, दशैँलगत्तै यसतर्फ काम शुरु हुनेछ”, वडाध्यक्ष थापाले भन्नुभयो, “नगरपालिकाले रु ५० लाखको कोष खडा गरेको र यसमा विभिन्न निकायबाट सहयोग गरी झण्डै छ करोड रकम जम्मा भएकाले त्यसबाट जमीनको पुनस्र्थापनादेखि भत्किएका संरचनाको पुनर्निर्माण गर्ने योजना बनाइका छौँ ।”

प्राकृतिक विपद्का हिसाबले देशकै उच्च जोखिममा रहेको यस जिल्लामा वर्षायाममा आउने बाढी, पहिरो तथा अन्य विपद्का बारेमा पूर्वसूचना प्रणाली, विपद् प्रतिकार्य योजना एवं सामग्रीहरुको व्यवस्था भए पनि यति ठूलो बाढीको कल्पनासम्म नभएको मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपाल बताउनुहुन्छ । बाढीलगत्तै स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा पीडितहरुको उद्धार तथा पुनस्र्थापना गर्न सकिएको भए पनि विपद्प्रति समुदायमा अझै सचेतना हुन नसक्दा क्षति न्यूनीकरण गर्न नसकिएको उहाँको अनुभव छ । “विपद्लगत्तै विभिन्न निकाय र व्यक्तिगतरुपमा प्राप्त भएको राहत सामग्रीहरुको उचित ढङ्गबाट वितरण गर्न एकद्वार प्रणाली लागू गरिएकाले खासै गुनासो आउन पाएन”, उहाँ भन्नुहुन्छ, “विपद्को अवस्थामा गरिने मानवीय संवेदनशीलताका बारेमा भने अझै धेरैमा बुझाइको कमी हुँदा उद्धार, राहत र पुनस्र्थापनामा विभिन्न कठिनाइ रहेको छ ।”

एशियाली विपद् पूर्वतयारी केन्द्रको सहयोगमा सञ्चालित एशियाली पूर्वतयारी साझेदारी कार्यक्रमअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण केन्द्रले विश्वका विभिन्न देशको अनुभवका आधारमा तयार पारेको आधारभूत मानवीय मापदण्डमा विपद्मा मानवीय पीडा हुनबाट बचाउन र कम गर्न संस्था र व्यक्तिहरुले मानवीय प्रतिकार्यको गुणस्तर एवं प्रभावकारिताको सुधारका लागि विभिन्न नौवटा प्रतिबद्धतामा जोड दिएको छ । विपद्को समयमा पीडितको मानव अधिकार र मानवीय मूल्यलाई ख्याल गरी यस मापदण्डअनुसार सहायतालाई अझ प्रभावकारी र व्यवस्थित गर्न सकेमा तीनै तहका सरकार, गैरसरकारी सङ्घसंस्था र अन्य सरोकारवाला निकायहरु अझ जिम्मेवार र उत्तरदायी रहेको पुष्टि हुन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारम्बार बत्ति जाने समस्या, प्राधिकरणले दियो जवाफ शेरबहादुर देउवा गठबन्धनबाट नहल्लिएसम्म सरकार र गठबन्धन दायाँबायाँ नहुने राजनीतिमा अडान र बफादारी भन्ने कुरा शेरबहादुर देउवाबाट सिक्नुपर्छ : महेश बस्नेत गगन थापाले नागरिकका अपेक्षा पूरा गर्नका लागि सरकारले गति लिन नसकेको बताए आजदेखि पाँच रुपैयाँका १० लाख थान नयाँ नोट चलनचल्तीमा आज सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ? माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने निर्णय सगरमाथा आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन नतिजा सार्वजनिक कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनायो बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु नेकपा एमालेले प्रचण्डले गरिरहेको सरकार परिवर्तनको हल्ला कुण्ठा मात्रै भएको बताए जनताले चाहेको तीव्र विकासको आकाङ्‍क्षा पूरा गर्नु साझा दायित्व : राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नेहरूलाई सम्मान गर्ने नयाँ वर्ष २०८२ को पहिलो दिन पनि शिक्षकहरू सडकमै स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु नयाँ वर्ष २०८२ को अवसर पारी आज युट्युबमा आयो ‘घरज्वाइँ’ चलचित्र