१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

होटल व्यवसायीका दुःख : न खोप, न खोल्ने अनुमति

१२ श्रावण २०७८, मंगलवार ०६:५०

रामबहादुर थापा । साउन १२, बागलुङ । कोरोना महामारीले होटल व्यवसायमा निम्त्याएको सङ्कट लम्बिँदो छ । निषेधाज्ञा खुकुलो पारिएपनि होटल, रेष्टुरा पहिला झैं खुल्न पाएका छैनन् । स्थानीय प्रशासनले ‘टेक अवे’ र ‘होम डेलिभरी’ मात्र गर्न पाउने प्रावधान तोकेको छ ।

झण्डै डेढ वर्षदेखि खराब स्थिति झेलिरहेका होटल व्यवसायीहरु कोरोनाविरुद्धको खोपमासमेत प्राथमिकतामा नपर्दा निराश भएका छन् । बन्दाबन्दी र निषेधाज्ञाको प्रत्यक्ष मार होटल व्यवसायमाथि छ । पर्यटन क्षेत्र ठप्प हुँदा र जिल्लाभित्रै पनि मानिसको आउजाउ घटेपछि प्रायः होटल सुनसान बनेका छन् ।

होटल व्यवसायीका अनुसार व्यापार छैन । घरभाडा, कर्मचारीको तलब, पानी र बिजुलीमा हुने खर्च भने नियमित छ । यहाँका ९५ प्रतिशत होटल भाडाको घरबाट सञ्चालित छन् । ऋणधन गरेर व्यवसाय थालेकाहरुलाई ब्याज र किस्ता चलाउनै धौ धौ छ । छिट्टै व्यवसाय लयमा नफर्के कतिपय व्यवसायी पलायन हुनुपर्ने स्थिति छ । 

होटल तथा रेष्टुराँ व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारीले खोपमा आफूहरुलाई विभेद गरिएको बताउनुभयो । उहाँले सेवा क्षेत्रको मुख्य र संवेदनशील व्यवसायलाई सरकारले उपेक्षा गरेको आरोप लगाउनुभयो । “सार्वजनिक यातायात, बजार, कार्यालय खुलेका छन्, तर होटल खोल्न अनुमति दिइएको छैन”, उहाँले भन्नुभयो । होटल पिस प्यालेसका सञ्चालकसमेत रहनुभएका राजभण्डारीले रेष्टुराले जस्तो ‘टेक अवे’ र ‘होम डेलिभरी’ सेवा होटलले दिन नसक्ने बताउनुभयो ।

होटलमा खाना र रात बिताउनका लागि पाहुना आउने भएपनि त्यही बेला होटल बन्द गर्नुपर्ने नियम अमिल्दो भएको व्यवसायी बताउँछन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयानुसार जारी निषेधाज्ञामा साँझ ७ बजेसम्म मात्र सेवा सञ्चालन गर्न पाइने उल्लेख छ ।

यहीबीच होटल व्यवसायीले सोमबार प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीलाई भेटेर व्यवसाय सञ्चालनमा सहजीकरण र खोपको प्रबन्ध गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । व्यवसायीका पीर मर्का सुन्नुभएका प्रजिअ कार्कीले होटल व्यवसाय माथिबाटै प्राथमिकताको सूचिमा नपरेका कारण खोप दिलाउन नसकिएको बताउनुभयो । उहाँले केन्द्रको नीति अनुसार तोकेर आएमा अबको चरणमा होटल व्यवसायीलाई खोपको सुनिश्चितता गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

किराना, मासु, फलफूल तथा तरकारी, ग्यास व्यापारीलगायतले खोप पाइसकेका छन् । अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मी, पत्रकार, स्वास्थ्यकर्मीपछि उमेर समूह र अति संवेदनशील व्यवसायलक्षित गरी अहिले खोप अभियान चलिरहेको छ । होटललाई पनि अति संवेदनशील व्यवसायमा सूचिकृत गरी यथाशीघ्र खोप उपलब्ध नगराए तालाचाबी बुझाएर आन्दोलनमा जान व्यवसायीहरु बाध्य हुने होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताउनुभयो । 

महासङ्घ र जिल्ला सङ्घले संयुक्त रुपमा प्रजिअसमक्ष बुझाएको ज्ञापनपत्रमा यही साउन १५ गतेभित्र माग पूरा नभए १६ गतेदेखि धर्नालगायत विरोधका कार्यक्रम गरिने उल्लेख छ । यसअघि पटकपटक ध्यानाकर्षण गराउँदा पनि खोप नपाएको व्यवसायीको गुनासो छ । शुरुमा एक सय व्यवसायीलाई मात्र भएपनि खोपको प्रबन्ध गर्न माग गरिएको जिल्ला सङ्घका अध्यक्ष राजभण्डारीले बताउनुभयो ।

उमेर समूह र प्राथमिकताप्राप्त क्षेत्र÷पेशा बाहेकका व्यक्तिले पनि भनसुनका आधारमा खोप लगाइरहेका बेला होटल व्यवसायी भने अहिलेसम्म खोपबाट बञ्चित छन् । खोपसँगै सहज रुपमा व्यवसाय सञ्चालन र व्यवसाय पुनःउत्थानका लागि सरकारले राहत र सहुलियत दरको कर्जा प्रवाहको योजना ल्याउनपर्ने व्यवसायीको माग छ ।

पर्यटन व्यवसाय उकास्नका लागि गण्डकी प्रदेश सरकारले ल्याएको राहत प्याकेजबाट व्यवसायीहरुले नै लाभ लिन नसकेको महासङ्घका अध्यक्ष चोखालले बताउनुभयो । “कर्जा दिनका लागि बैङ्कले धितो खोज्यो, हाम्रा व्यवसायीहरु अधिकांश गाउँबाट आएर होटल चलाउनुभएको छ, धितो राख्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “पहिले पनि कर्जा लिएका र ठूला व्यवसायीले मात्र लाभ लिए ।”

कर्जामा ब्याज मिनाहा, पुनःकर्जा, कर छुटलगायतका योजनाबाट सबै व्यवसायी समान रुपमा लाभान्वित हुने वातावरण बनाउनुपर्ने अध्यक्ष चोखालको भनाइ छ । महामारी अझै यस्तै रहिरहे र राहत पनि नपाउने हो भने व्यवसायीहरु होटल बन्द गर्नुपर्ने अवस्थामा पुग्ने उहाँले बताउनुभयो ।

स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित होटल व्यवसायलाई नियमित सञ्चालनका लागि अनुमति दिनुपर्ने आवाज व्यवसायीबाट उठेको छ । होटल व्यवस्थापनले पनि भौतिक दूरी कायम गर्ने, पाहुना कम राख्ने, स्वास्थ्य सावधानी अपनाउने कुरामा सचेत हुनुपर्नेमा अध्यक्ष चोखालको जोड छ । यहाँ झण्डै दुई सय होटल, रेष्टुरा छन् । बागलुङ नगरपालिकामा मात्र त्यो सङ्ख्या ७० को हाराहारीमा छ । साना, ठूला सबै होटलमा गरी करिब रु. ५० करोड लगानी छ । पर्यटकीयस्तरका होटलको सङ्ख्या भने १५ छ । 

होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशले गत वर्ष नै प्रदेशभर सञ्चालित होटलको सङ्ख्या र लगानी विवरणसमेत सङ्कलन गरेको थियो । होटलको स्थिति बुझने र सोही अनुसार राहत कार्यक्रमका लागि पहल गर्न विवरण उठाइएपनि त्यसले कुनै परिणाम दिन सकेन । कोरोना महामारी साम्य नभएसम्म होटल, रेष्टुरा व्यवसाय पुरानै अवस्थामा फर्कन कठिन छ । धेरै जनसङ्ख्यालाई खोपको पहुँचमा पुर्याउन सके स्थिति सहज हुने ठानिएको छ । कोराना मत्थर भएर निषेधाज्ञा पूर्ण रुपमा हटेपछि आन्तरिक पर्यटक घुम्न निस्कने र त्यसबाट होटल व्यवसाय चलायमान हुनेमा व्यवसायी आशावादी छन् । 

कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी होटलमा पूर्वाधार, गुणस्तर र स्वास्थ्य सावधानीका लागि व्यवसायीले पनि लगानी बढाउनुपर्ने अवस्था छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै आजदेखि सकियो दसैँ बिदा, सरकारी कार्यालय खुल्दै