७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खेर जाने बिजुलीको बजार खोज्दै विद्युत प्राधिकरण

२७ भाद्र २०७८, आईतवार ०७:३०

रमेश लम्साल । भदौ २७, काठमाडौँ (रासस) । राष्ट्रिय प्रणालीमा माथिल्लो तामाकोशीको बिजुली जोडिएपछि रातको समयमा झण्डै ४०० मेगावाट बिजुली खेर गएको छ । दिउँसोका समयमा पनि २०० मेगावाट बिजुली जगेडामा परेको छ ।

कुनै समय एक युनिट बिजुलीका लागि पनि ठूलो सङ्घर्ष गर्नुपरेको थियो । यतिबेला वर्षाको मौसम पनि छ । सोही कारण प्रणालीमा बिजुली फालाफाल छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार माथिल्लो तामाकोशी जोडिएपछि वर्षाकालमा मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ ।

आत्मनिर्भर भए पनि ठूलोमात्रामा दैनिक बिजुली खेर जाँदा त्यसले राम्रो गरेको छैन । दैनिक रु चार करोड बराबरको घाटा प्राधिकरणलाई लागिरहेको छ । यस्तो बेलामा बढी भएको बिजुली भारततर्फ निर्यात गर्नु नै नेपालको हितको विषय हुन जान्छ । तर, भारत सरकारकोतर्फबाट कुनै सहमति प्राप्त हुन सकेको छैन । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले हालै गर्नुभएको भारत भ्रमणका क्रममा बढी भएको बिजुलीको सहज बजार प्रवेशका लागि भारतीय अधिकारी समक्ष आग्रह गर्नुभएको छ ।

नेपालमा बढी भएको बेला भारतमा, नेपाललाई चाहिएका बेला भारतबाट आयात गर्ने विषयमा भारतीय अधिकारीसँग घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले छलफल गरेको छ । प्राधिकरणले बर्खामा नेपालमा खपत गरी बढिरहेको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत् आयातका लागि भारतको विहार राज्यसँग पारस्परिक मौसमी विद्युत् आदानप्रदान गर्ने प्रस्ताव गरेको छ । प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट बर्खामा उत्पादित विद्युत् देशभित्र खपत गर्न नसकी खेर जाने अवस्था आएपछि बिहार स्टेट पावर होल्डिङ कम्पनी लिमिटेडसँग पारस्परिक मौसमी विद्युत् आदानप्रदानको प्रस्ताव गरेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो । नेपाल र भारतबीच सन् १९७१ देखि विद्युत् आदानप्रदान हुँदै आएको छ ।

बर्खाका छ महिना नेपालबाट विद्युत् विहार पठाउने र हिउँदका छ महिना उताबाट ल्याउने गरी पारस्परिक विद्युत् आदानप्रदानको प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको भनाइ छ । “बर्खाका महिनामा २४सै घण्टा २०० मेगावाट एवं राति ११ बजेदेखि बिहान ६ बजेसम्म थप विद्युत् दिन सकिने र हिउँदमा उताबाट ल्याउने प्रस्ताव गरिएको छ, बर्खामा यताबाट पठाएको र हिउँदमा उताबाट ल्याएको परिमाणबीच फरक परेमा उपयुक्त विधिमार्फत विद्युत्को मूल्य तय गरिनेछ”, उहाँले भन्नुभयो ।

“यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन सकिएमा बर्खामा हाम्रोमा बढी भएको विद्युत् भारत पठाउन सकिन्छ भने अझै केही वर्ष हामीलाई हिउँदमा अपुग भारतबाट ल्याउन सकिन्छ, यदि पारस्पारिक विद्युत् आदान प्रदानको यो मोडेल कार्यान्वयनमा ल्याउन सकिएमा दुई मुलुकबीच विद्युत् कारोबारको कोशेढुङ्गा सावित हुने छ”, उहाँले भन्नुभयो, “यसमा भारतीय पक्षको जवाफ सकारात्मक पाएका छौँ, केही दिनभित्रमा यस बारेमा ठोस निर्णय आउने विश्वास छ ।”

साँझ ५ बजेदेखि १० बजेसम्म नेपालम अत्यधिक बिजुलीको माग हुने गरेको छ । त्यस आधारमा कूल उच्च माग एक हजार ५४३ मेगावाटसम्म पुगेको छ । प्रणालीमा भने झण्डै दुई हजार मेगावाट बिजुली उपलब्ध हुने गरेको छ । निर्माणमा रहेका अधिकांश आयोजना सम्पन्न हुने चरणमा पुगेका छन् । यस आधारमा हरेक महिना बिजुलीको मात्रा थप हुँदै जाने देखिन्छ ।

कार्यकारी निर्देशक घिसिङका अनुसार यस वर्षको बाँकी तीन महिनामा नेपालमा खपत गरेर बढी हुने करिब ७० करोड युनिट र अर्को वर्ष तीन अर्ब ७९ करोड युनिट ऊर्जा विहारलाई दिन सकिने छ । हिउँद याममा त्यति नै बराबरको विद्युत् आयात गर्न सकिन्छ । यसले गर्दा बर्खामा खेर जाने विद्युत्को उच्चतम् प्रयोग हुनेछ । अहिले विहारसँग जोडिएका ३३ र १३२ केभीका प्रसारण लाइन पूर्वाधारबाट ३७१ मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न सकिन्छ । प्राधिकरणले कटैया, रक्सौल, ढल्केबर–मुजफ्फरपुर, रामनगर बिन्दुबाट २४सै घण्टा विद्युत् नर्थ विहार पावर डिष्ट्रिब्युसन कम्पनी लिमिटेडलाई उपलब्ध गराउन सकिने जानकारी गराएको छ । 

साथै राति ११ बजेदेखि बिहान ६ बजेसम्म थप विद्युत् उपलब्ध गराउन सकिनेछ । यसबाट सञ्चालमा रहेका दुई मुलुकबीच जोड्ने प्रसारण पूर्वाधारकोसमेत उपभोग हुने विश्वास प्राधिकरणको छ । बर्खामा उत्पादित विद्युत् आन्तरिकरुपमा खपत गर्न नसकी खेर जाने अवस्था आई प्राधिकरणको वित्तीय अवस्थामा प्रतिकूल प्रभाव पर्ने देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत् बिक्रीका विषयमा छलफल गर्न प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको नेतृत्वमा टोलीलाई भारत पठाउनुभएको थियो । बुधबार, बिहीबार र शुक्रबार भारतका ऊर्जा सम्बद्ध विभिन्न निकायमा छलफल गरेको टोलीमा विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारी र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनीयर राजु महर्जन सहभागी हुनुहुन्थ्यो ।

टोलीले बिहीबार विहार स्टेट पावर होल्डिङका अध्यक्ष तथा प्रबन्ध–निर्देशक सञ्जीव हान्सलाई भारतको पटनामा भेटी विद्युत् आदानप्रदानका विषयमा छलफल एवं प्रस्ताव गरेको थियो । साथै, विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरिएका आयोजनाको सङ्ख्या तथा अवस्था, जडित क्षमता, विद्युत् माग तथा आपूर्तिको अवस्था, दुई मुलुकबीचको विद्युत् व्यापारका सम्भावना, भारतसँग जोडिएका प्रसारण पूर्वाधारको अवस्थालगायतका विषयमा भारतीय अधिकारीसँग विस्तृत छलफल गरेको थियो ।

प्राधिकरणले हालसम्म ३४६ आयोजनासँग छ हजार १७६ मेगावाट बराबरको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए)  गरेको छ । यसमध्ये १११ आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा  छन् । आयोजनाको जडित क्षमता एक हजार ३०० मेगावाट छ । त्यस्तै तीन हजार ३४ मेगावाट  क्षमता बराबरका १३६ आयोजना वित्तीय व्यवस्थापन गरी निर्माणाधीन अवस्थामा छन् ।  एक हजार ८४१ मेगावाट जडित क्षमताका ९९ आयोजना वित्तीय व्यवस्थापनको प्रक्रियामा रहेको प्राधिकरणको भनाइ छ ।  

भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालको विद्युत् बिक्री गर्न सहमतिका लागि केन्द्रीय ऊर्जा मन्त्रालयका पदाधिकारी, केन्द्रीय विद्युत् प्राधिकरणका पदाधिकारी एवं नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत् व्यापार निगम र पावर टेडिङ कर्पोरेसन (पिटिसी)का पदाधिकारीसँग विस्तृत छलफल गरिएको थियो । कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “यसको  नतिजा केही दिनमा आउन सक्छ ।” प्राधिकरणको यो प्रस्तावले स्वीकृति पाएमा नेपालको खेर जाने बिजुलीको सदुपयोग हुने र त्यसबाट प्राधिकरणको आर्थिक स्वास्थ्यसमेत राम्रो हुने विश्वास लिइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक अभ्यास खेलमा अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित यस्तो रहनेछ आजको मौसम, हल्का वर्षाको सम्भावना बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ