असोज २४, काठमाडौँ । एजेन्सी | अन्तरिक्ष पर्यटनकै विकास भइसकेको अहिलेको अवस्थामा अन्तरिक्षको यात्रा अब नौलो कुरा रहेन । ब्लु ओरिजिन तथा भर्जिन ग्यालेक्टिक जस्ता कम्पनीले पर्यटकलाई अन्तरिक्षको भ्रमण समेत गराइरहेका छन् ।
एलन मस्कको कम्पनी स्पेस एक्सले मंगल ग्रहमा बस्ती बसाउने तयारी गरिरहेको छ । छिट्टै नै पृथ्वीको तल्लो कक्ष अर्थात् पृथ्वीभन्दा ५०० किलोमिटरमाथिसम्मको यात्रा निकै सामान्य तथा सहज हुनेछ । तर यदि अन्तरिक्षमै कोही मानिसको मृत्यु भयो भने के होला ? अन्तरिक्षमा मृत्यु हुँदा मृत शरीरको अवस्था के होला ? शवलाई पृथ्वीमा फिर्ता ल्याइन्छ त ?
अन्तरिक्षको इतिहासमा हालसम्म एउटा मात्रै यस्तो घटना भएको छ, जसमा अन्तरिक्षमै मानिसको मृत्यु भएको छ । घटना सन् १९७१ जुन ३० मा भएको हो ।
सोयुज ११ अन्तरिक्षयान स्पेस स्टेसनबाट तीन हप्तापछि छुट्टिएर पृथ्वीमा फर्किनेवाला थियो । स्पेस स्टेसनबाट क्याप्सुल अलग भयो । त्यसमा तीन जना रुसी अन्तरिक्षयात्रीहरु, जियोर्गी डोब्रोवोलस्की, भिक्टर पातासायेभ र भ्लादिसिलाभ भोल्कोभ थिए । क्याप्सुल क्याबिनको भेन्ट भल्भ निस्कियो । त्यसपछि क्याप्सुलभित्र रहेको सबै अक्सिजन सकियो ।
अक्सिजनको अभावमा तीनैजना अन्तरिक्षयात्रीको मृत्यु भयो । अन्तरिक्षमा यस्तो घटना पहिलो र हालसम्मको अन्तिम पटक नै भएको थियो । अन्तरिक्षमा मृत्यु भएका रुसी अन्तरिक्षयात्रीको शरीर त्यसपछि के भयो ? उनीहरुलाई पृथ्वीमा ल्याइयो कि ल्याइएन ? त्यो विषय हालसम्म सार्वजनिक गरिएको छैन ।
पृथ्वीमा कुनै जीवको मृत्यु भएपछि केही समयपछि शव गल्न सुरु हुन्छ । त्यसअघि पहिले शरीरको रगतको बहाव रोकिन्छ । गुरुत्वाकर्षणका कारण रगत एकैठाउँमा जम्मा हुन थाल्छ, त्यसलाई विज्ञानको भाषामा लिभोर मोर्टिस भनिन्छ ।
त्यसपछि शरीर चिसो हुन थाल्छ, जसलाई अल्गोर मोर्टिस भनिन्छ । त्यसपछि मांसपेशीहरु कडा हुन थाल्छन् । शरीरमा रहेको क्याल्सियमले मांसपेशीका फाइबरलाई जकडाउन थाल्छ, जसलाई रिगोर मोर्टिस भनिन्छ । त्यसपछि शरीरमा रहेको इन्जाइम र प्रोटिन कोषिकाभन्दा बाहिर निस्किन थाल्छ । त्यहीबेला आन्द्रामा रहेका ब्याक्टेरिया बाहिर आउन थाल्छन् र पूरै शरीरमा फैलिन्छन् । ब्याक्टेरियाले नरम तन्तुलाई नष्ट गर्न सुरु गर्छन् र दुर्गन्ध फैलिन थाल्छ । शरीरबाट ग्यास निस्किन थाल्छ र शरीर फुल्छ ।
रिगोर मोर्टिस तबसम्म चल्छ, जबसम्म मांसपेशीहरु पूर्णरुपमा सकिंदैनन् । जबसम्म नरम तन्तुलाई ब्याक्टेरियाले पूर्ण रुपमा नष्ट गर्दैन, तबसम्म शरीरबाट दुर्गन्ध आइरहन्छ । यो भनेको शरीर सड्ने प्रक्रिया हो । त्यसका पछाडि वातावरण, तापक्रम र आसपासमा रहेका कीटाणुहरुको गतिविधि यसमा जिम्मेवार हुन्छन् । तर अन्तरिक्षमा यी सबै प्रक्रिया हुँदैनन् । अन्तरिक्षमा मृत शरीर फरक परिस्थितिमा रहन्छ र त्यहाँ ममीफिकेसन (शरीर सुक्दै जानु)को प्रक्रिया सुरु हुन्छ ।
ममीफिकेसन निकै गर्मी र ठण्डी मौसममा मात्र हुन्छ जहाँ अक्सिजन हुँदैन । शरीरको पानीले भित्र जमेको बोसोलाई नष्ट गर्दछ । त्यसले शरीर बाहिर आएर त्यसको चारैतर्फ मैन जस्तो पत्र बनाउँदछ । उक्त मैनजस्तो पत्रले शरीरको छालालाई खराब हुनबाट रोक्छ, जसकारण छाला सड्दैन । त्यसका अलावा अर्को काम पनि हुन्छ । नरम तन्तु नष्ट हुन्छन् र हड्डीहरु देखिन थाल्छन् । तर कडा तन्तुहरु हजारौं वर्षसम्म उस्तै रहन सक्छन् ।
विभिन्न ग्रहमा गुरुत्वाकर्षणको मात्रा फरक हुन्छ । त्यसले मृत शरीरको पहिलो अवस्था अर्थात् लिभर मोर्टिस प्रभावित हुन्छ । गुरुत्वाकर्षणको अभावमा मृत शरीरमा रगत एकैठाउँमा जम्मा हुँदैन र बग्दैन पनि अनि पूरै शरीरमा फैलिएको हुन्छ । तर स्पेस शूटभित्र रहेको भए रिगोर मोर्टिस प्रक्रिया हुन्छ । यद्यपि कम अक्सिजन वा अक्सिजन अभाव भएको बेला पेटमा रहेका ब्याक्टेरियाले तन्तुहरु नष्ट गर्ने काम गर्न सक्दैनन् ।
पृथ्वीमा रहेका सूक्ष्मजीवले शरीरलाई नष्ट गर्नमा सहयोग गर्दछन् । तर अन्तरिक्षमा यस्तो हुँदैन । त्यसैले अन्तरिक्षमा नरम तन्तुहरु पनि यथावत् अवस्थामा रहन्छन् । सौर्यमण्डलका अन्य ग्रहमा पनि कीटाणु तथा अन्य जीव हुँदैनन् जसका कारण मृत शरीर गल्दैन । अर्थात् मंगल ग्रहमा कसैको मृत्यु भयो भने उसको शरीर सड्दैन । चन्द्रमामा तापक्रम माइनस १२० देखि १७० डिग्री सेल्सियससम्म हुन्छ, जसमा मृत शरीर पूर्ण रुपमा जम्छ ।