२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनमा चलचित्रकर्मी : प्रत्यक्षमा न्यून उपस्थिति, समानुपातिकमा के होला ?

२०७९, ११ मंसिर आईतवार ०९:०७

मङ्सिर ११, काठमाडौँ | यही मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा फिल्मकर्मीहरूले दिएको उम्मेदवारीको राम्रै चर्चा भयो । प्रायः पार्टीको प्रचारप्रसारमा मात्र देखिने फिल्मकर्मीहरू यसपटक चुनावी मैदानमा देखिए । रिल लाइफबाट चुनावी मैदानमा होमिने कलाकारको सङ्ख्या उच्च थियो ।

 यद्दपि सफलता पाउनेको सङ्ख्या निकै कम छ । प्रत्यक्षको तुलनामा समानुपातिकमा फिल्मकर्मी सांसद बन्ने सम्भावना बढेको छ । राष्ट्रियसभा सदस्य रहिसक्नुभएकी गायिका कोमल वलीले नेकपा (एमाले)बाट दाङको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको थियो । उहाँलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले पराजित गर्नुभयो । गायिका वलीले २९ हजार ९२ मत प्राप्त गर्दा निर्वाचित गिरीले ३६ हजार नौ सय ११ मत प्राप्त गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मोरङ क्षेत्र नं ३ मा उम्मेदवारी दिनुभएकी अभिनेत्री रेखा थापा १० हजार नौ सय ९८ मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित हुनुभयो ।

 सो क्षेत्रमा नेपाली कांग्रेसका सुनिलकुमार शर्मा निर्वाचित हुनुभयो । काभ्रे–२ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका फिल्म निर्देशक तथा समीक्षक मनोज पण्डितले एक सय ७३ मत मात्र प्राप्त गर्नुभयो । उहाँले आफूले प्राप्त गरेको मतको सम्मान गर्दै सक्रियता बढाउने बताउनुभयो । “उम्मेदवारी दण्डहिनताका विरुद्ध थियो । सामाजिक व्यवस्थापनका लागि आवाज सधँै उठाइरहनेछु”, निर्देशक पण्डितले भन्नुभयो । 

काठमाडौँ क्षेत्र नं ६ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका गायक सञ्जय श्रेष्ठले पाँच सय ७७ मत मात्र प्राप्त गर्नुभयो । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल निर्वाचित हुनुभयो । काठमाडौँ क्षेत्र नंम्बर १ को प्रदेश (२) मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) तर्फ उम्मेदवारी दिनुभएका फिल्म अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठले ६७ मत प्राप्त गर्नुभयो । 

“यसपटक प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिनुभएका फिल्मकर्मीले केही न केही सिक्नुभएको छ, चुनावी मैदानको सिकाइले आउँदो समयमा यसक्षेत्रमा विकास गर्न र एकताबद्ध हुन् मद्दत गर्नेछ”, वितरक श्रेष्ठले भन्नुभयो । सो क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार सुरजचन्द्र लामिछाने निर्वाचित हुनुभयो । 

यस्तै कमेडियन हिमेश पन्त, टेलिभिजन शङ्खला ‘सक्किगो नि’मा ‘सिते बा’ को भूमिकाबाट परिचित मधुसुधन पाठक, कलाकार सम्राट सापकोटा, कलाकार राज तिमल्सेनाले निर्वाचनमा हार बेहोर्नुप¥र्यो । प्रत्यक्ष निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्यतर्फ धादिङको क्षेत्र नं १ को (१) बाट उम्मेदवारी दिनुभएका निर्माता तथा अभिनेता मधुकुमार श्रेष्ठ र प्यूठान–१ को (२) बाट प्रदेशसभा सदस्यतर्फ उम्मेदवारी दिनुभएका फिल्म निर्माता तथा अभिनेता रोज राणा (सरोज थापा) निर्वाचित हुनुभएको छ । निर्माता श्रेष्ठले १७ हजार आठ सय ३२ र निर्माता राणा २२ हजार पाँच सय १९ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । 

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृति सङ्घबाट राजनीतिमा समेत सक्रिय रहनुभएका ‘जोगिन्दर’ को उपनामले परिचित हास्यकलाकार शिवशङ्कर रिजाल आउँदो निर्वाचनमा कलाकर्मी चुनावी मैदानमा बढ्ने देख्नुहुन्छ । “कलाकारलाई प्रचारप्रसारका लागि मात्र नभइ जनताको सेवा गर्न योग्य ठान्ने दलहरूले अझैँ सङ्ख्या बढाउनु जरुरी छ, हामी सेवा गर्न सक्षम छौँ”, हास्यकलाकार रिजालले भन्नुभयो । 

समानुपातिक सूचीमा चलचित्रकर्मी

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष झैँ समानुपातिकमा समेत फिल्मकर्मी छन् । सिरहाबाट प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेपालसँगै बलिउडमा समेत अभिनयका प्रसिद्ध अभिनेता तथा गायक एवं सङ्गीतकार मुरलीधर (मुरली मिझार) उम्मेदवार हुनुहुन्छ । मोरङबाट फिल्म निर्माता, निर्देशक, प्रदर्शक तथा वितरक उद्धव पौडेल राप्रपाबाटै प्रतिनिधिसभातर्फको समानुपातिक उम्मेदवार हुनुहुन्छ । यही पार्टीबाट फिल्म निर्माता तथा प्रदर्शक प्रदीपकुमार उदय लुम्बिनी प्रदेशसभाको समानुपातिक उम्मेदवार हुनुहुन्छ । राप्रपाको लुम्बिनी अध्यक्षसमेत रहनुभएका उदय केही वर्षयता फिल्मभन्दा पनि राजनीतिमा सक्रिय हुनुहुन्छ ।

“पार्टीले अवसर दिएको सदुपयोग गरेको छु, मलगायत अन्य फिल्मकर्मीको पहल फिल्म क्षेत्रमा रहेका कमजोरीलाई हटाउन हुनुपर्छ”, अध्यक्ष उदयले भन्नुभयो, “फिल्मकर्मी पार्टीको प्रचारप्रसारमा मात्र सीमित नभइ नेतृत्वतर्फ पनि अगाडि बढ्नुपर्छ ।” 

कालोपोथी निर्देशन गरेर चर्चा कमाउनुभएका फिल्म निर्देशक मीनबहादुर भाम नेपाली कांग्रेसको समानुपातिक उम्मेदवार हुनुहुन्छ । उहाँको नाम मुगुबाट खसआर्य तर्फ राखिएको छ । फिल्म निर्देशक असिम शाह राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि मुस्लिम खुला तर्फको समानुपातिक उम्मेदवार हुनुहुन्छ । नेपाल जनता दलको वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका फिल्म निर्माता रघु परियार समानुपातिक तर्फ उम्मेदवार हुनुहुन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल