मङ्सिर २८, काठमाडौँ | नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
ओलीलाई भेट्न महासचिव गुरुङ मंगलबार साँझ बालकोट गएका हुन् ।
उनीहरुको बीचमा खास के कुरा भयो भन्नेबारे स्पष्ट खुल्न सकेको छैन । तर भेटका सम्बन्धमा महासचिव गुरुङले ओलीलाई बधाई दिन मात्रै गएको जनाएका छन् ।
गुरुङले ओली प्रतिनिधिसभामा निर्वाचित भइसकेपछि बधाई दिनमात्रै गएको बताए ।
‘उहाँ विजयी हुनुभएको छ,’ उनले भने, ‘उहाँलाई बधाई दिनमात्रै गएको हुँ ।’
भर्खरै सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनलाई सुविधाजनक मत नआएपछि वामगठबन्धन गरेर सरकार बनाउने चर्चा चलिरहँदा गुरुङ र ओलीको भेटलाई महत्वका साथ हेरिएको छ ।