पढ्न करिब 2 मिनेट लाग्छ

पुस २५, काठमाडौं | पपुवा न्युगिनीलाई संसारमा भाषाको चिडियाखाना पनि भनिन्छ । यो देशमा कैयन् आदिवासी समुदायहरू बस्छन् जसको आफ्नै भाषा, संस्कार तथा परम्परा छन् । त्यहाँ ३१२ प्रकारका आदिवासीहरू बसोबास गर्दछन् । त्यसमध्ये फोर नामक आदिवासी समुदाय पनि एक हो । यो समुदाय एउटा मृत्यु संस्कारका कारण चर्चित छ ।

शोधकर्ताहरूका अनुसार यो आदिवासी समुदायका मानिसहरूले आफ्ना परिवारजनको मृत्यु पश्चात् अन्तिम संस्कारका बेला शवको टाउकोबाट मस्तिष्क निकालेर खाने गर्दछन् ।

अनौठो त के भने मरेका मान्छेको मस्तिष्क खाने यही बानीले गर्दा यो आदिवासी समुदायका मानिसमा कुरु नामक रोगविरुद्ध आनुवंशिक प्रतिरोधी क्षमताको विकास भएको छ । कुरु नाम रोग म्याड काउ रोगसँग मिल्दोजुल्दो हुन्छ ।

वैज्ञानिकहरूका अनुसार फोर आदिवासीको आहार र उनीहरुले प्राप्त गरेको रोग प्रतिरोधी क्षमताको अध्ययनले पार्किन्सन्स तथा डिमेन्सिया जस्ता रोगको उपचारको खोजीमा पनि सहयोग पुग्न सक्दछ ।

यो आदिवासी समुदायमा कसैको मरण वास्तवमा एउटा पर्वजस्तै हुन्छ । पुरुष मलामीहरूले आफ्ना मृतक आफन्तको मासु खाने गर्दथे भने महिलाहरूले मृतकको मस्तिष्क खाने गर्दछन् ।

यो परम्परा आफ्ना प्रियजनप्रति सम्मानको प्रतिकको रुपमा पनि मानिन्छ । शवलाई गाड्दा त्यो कुहिने तथा किराहरूले खाने भएकाले त्यसो गर्नुभन्दा मृतकलाई माया गर्ने आफन्तहरूले उसको शरीर भोजन गर्नु उपयुक्त हुने मान्यता उनीहरूमा छ । मृतकको शरीरका पित्ताशय बाहेक अरु सबै अंगहरूको मासु फ्राइ गरेर खाने गरिन्छ ।

पपुवा न्युगिनीमा कुरु रोगको प्रकोप पश्चात् सन् १९५० देखि मानव मस्तिष्क खानमा प्रतिबन्ध लगाइएको छ । तर यो आदिवासी समुदायमा अझै पनि कहीकतै त्यो प्रचलन कायमै छ ।

मानव मस्तिष्क खाने फोर आदिवासीमा कुरु तथा प्रायोन प्रोटिनका कारण हुने विभिन्न खाले रोगहरूविरुद्ध आनुवंशिक प्रतिरोधी क्षमता विकास भएको पाइएको छ ।