फागुन १२, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेले आफूलाई विदेश भ्रमणको अनुमति दिन माग गर्दै हिजो दिएको निवेदनमा अहिले सर्वोच्च अदालतमा सुनवाइ सकिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई यूएई भ्रमणमा जाने अनुमति दिन अदालतसमक्ष अनुरोध गर्यो । क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई सुरक्षित रुपमा यूएइ लैजाने र फिर्ता ल्याउने जिम्मा आफूहरुले लिने बताएका थिए । उनले यो क्रिकेट श्रृंखला नेपालका लागि एकदमै महत्वपूर्ण भएकाले सन्दीपको उपस्थिति जरुरी रहेकोमा जोड दिए । न्यायधीश ईश्वर खतिवडाले केहीबेरमा आदेश सुनाउने तयारी गरेका छन् ।
न्यायाधीश खतिवडाले सन्दीपको क्रिकेट करिअर जिवित रहोस भन्ने आफ्नो व्यक्तिगत चाहना रहेको बताएका छन् । न्यायाधीश खतिवडाले फैसलाको कैफियत प्रतिवेदनबिना कसरी अन्तरकालिन आदेश दिने भन्ने प्रश्न गरेका थिए । उनले नेपालको यूएइ भ्रमण कहिलेदेखि कहिलेसम्मको हो भनेर पनि सोधेका थिए ।
‘म उनको करिअर जिवित रहोस, अझ माथि पुगोस भन्ने चाहन्छु । तर, हामीले प्रक्रिया अनुसार चल्नुपर्छ । सर्वोच्च अदालतभन्दा माथि अर्को निकाय पनि नभएकाले हामीले गम्भीरतापूर्वक सोच्नुपर्छ । विगतमा यस्तो अभ्यास छैन ।’ उनले भने ।
लामिछानेविरुद्ध नाबालिग बलात्कारको अभियोग छ । त्यो मुद्दामा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर त्यसविरुद्ध लामिछानेले गरेको पुनरावेदनमा उच्च अदालतले २८ पुसमा २० लाख धरौटीमा छाड्दा उपत्यका छाड्न नपाइने, विदेश जान नपाइने जस्ता शर्तहरु राखिएको थियो ।
धरौटीमा छुटेपछि क्रिकेट संघले उनको निलम्बन हटायो । लगतै राष्ट्रिय टिममा राख्यो र लिग टू अन्तरगत काठमाडौंमा भएको स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक शृंखला खेल्यो । अर्को शृंखला खेल्न नेपाली टोली भोलि यूएई जाँदैछ ।
क्रिकेट संघले सन्दीपलाई पनि लैजान चाहेको थियो, तर अदालतको शर्तका कारण सम्भव थिएन । त्यसैले सन्दीप विदेश जाने अनुमति माग गर्दै सर्वोच्च गएका हुन् ।