फागुन १४, काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले कसैले हात नमिलाउँदैमा क्रिकेटर सन्दीप लामिछाने दोषी नहुने बताएका छन् । सर्वोच्च अदालतमा लामिछानेको पक्षमा बहस गर्दै उनले कसैले हात मिलाएन भन्दैमा उनी दोषी नहुने जिकिर गरेका हुन् । सन्दीपले राम्रो खेल खेले । उनको बलिङबाट स्कटल्याण्डका खेलाडी रिसाएका होलान्’, इजलासमा थापाले भने, ‘ हात नमिलाउँदैमा उनी दोषी हुँदैनन् श्रीमान ।’
केही दिनअघि काठमाडौँमा भएको खेलमा स्कटीस खेलाडीहरुले सन्दीप बलात्कारमा मुछिएको भन्दै हात मिलाएका थिएनन् ।’ उनले बहसका क्रममा सन्दीपको भरपुर प्रतिरक्षा गरेका थिए । अहिले सरकारी र पीडित पक्षको बहस सकिएर सन्दीपका वकिलहरुले बहस गरिरहेका छन् । जसमा थापाले सकेका हुन् भने सरोजकृष्ण घिमिरे, रोशनी पौडेल, मुरारी सापकोटा, कृष्णप्रसाद सापकोटा र सविता भण्डारी बरालले बहस गर्न बाँकी छ ।
यस्तै पीडितको तर्फबाट शान्ति रिसाल काफ्लेसहितको ३ जनाले बहस गरे भने सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरे । बलात्कार आरोपित लामिछानेले उच्च अदालतको प्रतिबन्धात्मक आदेशविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सो मुद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो ।