दिनेश ठकुल्ला/पुस १८, धनगढी । कैलालीलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने उद्देश्यले संचालन भईरहेको पूर्ण खोपयुक्त अभियान सुस्त हुँदा निर्धारित अवधिमै लक्ष्य पुरा नहुने देखिएको छ ।
सन् २०१६ भित्रै जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गर्न अभियान थालिए पनि हालसम्म जिल्लाका १२ गाविसमात्रै खोपयुक्त घोषणा भएका छन् । भौगोलिक रुपमा विकट सुदूरपश्चिमका पहाडी जिल्लाहरु खोप अभियानमा राम्रो उपलब्धी हासिल गरिरहँदा तुलनात्मक रुपमा सुगम र विकसित मानिने कैलालीमा भने अभियान सुस्त छ । कैलालीमा बढी जनसंख्या भएकाले ढिलाई भएको जनस्वास्थ्य कार्यालयको भनाई छ । तर, जनस्वास्थ्यकोे ढिलासुस्ती अभियान सुस्त हुनुको मुख्य कारण रहेको कतिपयको भनाई छ ।
कार्यालयले अग्रसरता नदेखाउँदा सुगम क्षेत्रसमेत खोपयुक्त घोषणा हुन नसकेका स्वास्थ्य क्षेत्रमा काम गर्नेहरु बताउँछन् । सरकारले सबै बालबालिकाहरुलाई आवश्यक खोपको मात्रा लगाएर बाल मृत्युदर घटाउनका लागि देशभर पूर्ण खोपयुक्त घोषणा अभियान संचालन गरिरहेको छ ।
शहरी क्षेत्र मानिने धनगढी उपमहानगरपालिका तथा टीकापुर, लम्की–चुहा, भजनी–त्रिशक्ति र घोडाघोडी नगरपालिका पूर्ण खोपयुक्त घोषणा भएका छैनन् । विभिन्न नगरपालिकाहरुका ९ वटा वडा र १२ गाविसलाई हालसम्म पूर्ण खोपयुक्त घोषणा भएका छन ।
जिल्लाका २८ गाविसमध्ये हालसम्ममा मुनुवा, नारायणपुर, जानकीनगर, प्रतापपुर, दोदोधरालगायतका १२ गाविस र साविकका गाविस रहेका तर, अहिले नगरपालिकामा गाभिएका ९ वटा वडालाई पूर्ण खोपयुक्त घोषणा गरिएको बताईएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका सुचना अधिकृत मोहनदेव भट्टले बताउनुभयो । कैलालीमा बढी जनसंख्या भएकाले ढिलाई भएको जनस्वास्थ्य कार्यालयको भनाई छ । तर, जनस्वास्थ्यकोे ढिलासुस्ती अभियान सुस्त हुनुको मुख्य कारण रहेको कतिपयको भनाई छ ।
कार्यालयले अग्रसरता नदेखाउँदा सुगम क्षेत्रसमेत खोपयुक्त घोषणा हुन नसकेका स्वास्थ्य क्षेत्रमा काम गर्नेहरु बताउँछन् । २०६८ को जनगणना अनुसार जिल्लामा २० हजार ३ सय ३३, १ वर्ष मुनिका बालबालिका रहेको तथ्याङक छ ।
करिब पाँच वर्षअघि यहाँ पूर्ण खोपयुक्त अभियान थालिएको थियो । कैलालीमा २०६९ मंसिरमा जिल्लाको मुनुवा गाविसलाई जिल्लाको पहिलो पूर्ण खोपयुक्त गाविस घोषण गरिएको थियो । पहलमानपुर र उदासीपुर गाविसलाई केही समयमै पूर्ण खोपयुक्त घोषणा गर्ने तयारी भईरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्यकर्मीहरुका अनुसार २३ महिनामुनिका बालबालिकालाई विभिन्न रोगहरुबाट बचाउन बीसीजी, डीपीडी हेप बी, पीसीबी, पोलियो, दादुरा–रुबेला, जापानिज इन्सेफ्लाइटिस आदि ११ प्रकारका खोपका सबै मात्रा लगाउनु आवश्यक हुने सुचना अधिकृत भट्टले जानकारी दिनुभयो ।
सरकारले सन् २०१७ सम्म देशलाई पूर्ण खोपयुक्त घोषणा गर्ने लक्ष्य लिएको छ । सोहीअनुसार सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयको समन्वयमा सुदूरपश्चिमलाई सरकारी लक्ष्य भन्दा एक वर्षअघि नै खोपयुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य तय गरिएको थियो । सुदूरपश्चिमका ५ जिल्ला कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ र अछाम पूर्ण खोपयुक्त घोषणा भईसकेका छन् ।
तर कैलालीमा भने ५ वर्षको अवधिमा ११ गाविसमात्रै पुर्ण खोपयुक्त गाविस घोषण भएका छन । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलले पनि खोप अभियान सुदूरपश्चिममा सबै भन्दा सुस्त कैलालीमा रहेको जनाएको छ ।
बाँकी ३ जिल्ला पनि चैतभित्रै पूर्ण खोपयुक्त हुने बताईएको छ । कैलालीसन् २०१७ भित्र पनि पूर्ण खोपयुक्त घोषणा गर्न चुनौती देखिएको छ । खोप लगाएर बाल मृत्युदर घटाउनु र खोपप्रति सचेतना बढाउन सरकारले अभियान थालेको हो । बालबालिकालाई खोपको अभावमा लाग्न सक्ने रोगबाट बचाउनका र खोपबारे सचेतनाका लागि पूर्ण खोपयुक्त घोषणा अभियान थालिएको हो ।