प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम उम्मेदवार सिफारिस, को कहाँबाट परे ? (सुचिसहित)

Posted on: 06 Oct, 2017

असोज २०, काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनका लागि विभिन्न जिल्लामा उम्मेदवार चयनको काम धमाधम भइरहेको छ । राजनीतिक दलहरूले आआफ्ना जिल्लाका निर्वाचन क्षेत्रका उम्मेदवार चयनका लागि सकेसम्म सर्वसम्मत, नभए मतदानबाट र त्यो पनि नभए आकांक्षीहरूको सूची तयार पारी सम्बन्धित कमिटीमा पठाउने काम गरिरहेको विभिन्न जिल्लाबाट आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

चितवनमा कांग्रेस र एमालेले गरे सिफारिस

प्रतिनिधासभा र प्रदेश सभा निर्वाचनका लागि एमाले र कांग्रेसले चितवनबाट सम्भावित उम्मेदवारको नाम सिफारिस गरेका छन् । माओवादीले भने पोलिटब्युरो बैठकपछि मात्र नाम सार्वजनिक गर्ने जनाएको छ ।

एमालेबाट कोको सिफारिस ?

जिल्ला कमिटीको बिहीबारको बैठकले प्रतिनिधि र प्रदेश सभाका लागि उम्मेदवारको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ । चितवनमा प्रतिनिधिसभाका तीन र प्रदशे सभाका ६ क्षेत्र छन् ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे सर्वसम्मत सिफारिस भए । यसै क्षेत्रअन्तर्गत प्रदेश सभा (क) बाट दाबा दोर्जे लामा र डा. कृष्ण पन्त र (ख) बाट वैकल्पिक केन्द्रीय सदस्य कृष्ण खनाल सर्वसम्मत सिफारिस भए ।

प्रतिनिधिसभा क्षेत्र नं. २ बाट जिल्ला अध्यक्ष एवं सांसद कृष्णभक्त पोखरेलको नाम सर्वसम्मत सिफारिस भएको छ । यस क्षेत्रको प्रदेश सभा (क) बाट विजय सुवेदी र (ख) बाट तेजेन्द्र खड्का सर्वसम्मत सिफारिस भए ।

क्षेत्र नं. ३ बाट भने सर्वसम्मत हुन नसकेको प्रचार विभाग प्रमुख खोमकान्त रेग्मीले जानकारी दिए । यस क्षेत्रबाट युवा नेता घनश्याम भट्टराई, शंकर थपलिया, सूर्यप्रसाद जमरकट्टेल, रविकिरण पौडेल र विना तिमिल्सिनाको नाम सिफारिस भएको छ ।

यस क्षेत्रको प्रदेश सभा (क) बाट जिल्ला नेता कृष्ण भुर्तेलको नाम सर्वसम्मत भएको छ । (ख) बाट रामप्रसाद न्यौपाने, श्रीमान् थिङ, श्याम विष्ट, लीलाधर आचार्य, प्रकाश ढुंगाना, सुदीप रेग्मी, विजय घले, प्रेमराज तिमिल्सिना, शान्तराज आचार्य र कल्पना सापकोटाको नाम सिफारिस भएको छ ।

कांग्रेसबाट २७७ जनाको सिफारिस

प्रदेश र संघको निर्वाचनका लागि कांग्रेस चितवनले प्रत्यक्ष र समानुपातिक गरी दुई सय ७७ जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ । कांग्रेस केन्द्रीय समितिले भने जिल्लाबाट ५४ जनाको नाम मात्रै सिफारिस गर्न निर्देशन दिएको थियो ।

नगर र क्षेत्रबाट आएका सिफारिसलाई आफ्नो रायसहित कांग्रेसले केन्द्रमा सिफारिस गरेको जिल्ला सभापति जितनारायण श्रेष्ठले जानकारी दिए । उनी क्षेत्र नं. २ को प्रदेश सभा (क) बाट सिफारिसमा परेका छन् । प्रतिनिधिसभा क्षेत्र नं. २ मा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी प्रत्यक्षतर्फ सिफारिसमा परेका छन् । अधिकारीसँगै कांग्रेसले अन्य सातजनाको नाम सिफारिस गरेको छ ।

क्षेत्र नं. ३ मा हालका सांसद रामकृष्ण घिमिरे, अन्जनी श्रेष्ठ र उमेश श्रेष्ठलगायत २१ जना सिफारिसमा परेका छन् । यो क्षेत्रको प्रदेशतर्फ (क) मा १३ जना प्रत्यक्षमा र ३५ जना समानुपातिकमा तथा (ख) बाट प्रत्यक्षमा सात र समानुपातिकमा २८ जनाको नाम सिफारिस भएको छ ।

क्षेत्र नं. १ मा कांग्रेसले प्रत्यक्षमा पाँच र समानुपातिकमा आठजनाको नाम सिफारिस गरेको छ । यो क्षेत्रको प्रदेश सभा तर्फ (क) बाट प्रत्यक्षमा सात र समानुपातिकमा ११ र (ख) बाट प्रत्यक्षमा ३१ र समानुपातिकमा २८ जनाको नाम सिफारिस भएको छ ।

कुन क्षेत्र कहाँ पर्छ

प्रतिनिधिसभाको निर्वाचनका लागि चितवनमा क्षेत्र नं. १ अन्तर्गत हालको राप्ती, खैरहनी र रत्ननगर नगरपालिका तोकिएको छ । प्रदेश सभामा भने क्षेत्र नं. १ (क) मा राप्ती नपा र खैरहनी नपाको वडा नं. ३, ६, ७, ८, ९, १० र ११ तोकिएको छ । (ख) मा खैरहनी नपाको वडा नं. १, २, ४, ५, १२ र १३ र रत्ननगर नगरपालिका तोकिएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा कालिका नपा, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरको वडा नं. १ , २, ३, ५, ७, १०, ११, १२ र २९ तोकिएको छ । यस क्षेत्रअन्तर्गत प्रदेश सभा (क) मा कालिका नपा, इच्छाकामना गापा र भरतपुर महानगरको वडा नं. १, ३ र २९ छन् । (ख) मा भरतपुर महानगरपालिकाको २, ४, ५, ७, १०, ११ र १२ वडा छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा भरतपुर महानगरपालिका वडा नम्बर ६, ८, ९, १३, १४ देखि २८ वडा र माडी नगरपालिका छन् । यस निर्वाचन क्षेत्रको प्रदेश सभा क्षेत्र (क) मा भरतपुर महानगरपालिका वडा नम्बर ६, ८, ९, १५, १६, १७, १८, १९, २०, २६, २७ र २८ नम्बर वडा रहेका छन् । क्षेत्र (ख) मा भरतपुर महानगरको १३, १४, २१, २२, २३, २४ र २५ वडा तथा सिंगो माडी नगरपालिका रहेका छन् ।

एमालेले बाँकेबाट गर्यो सिफारिस 

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले बाँकेका तीनवटै क्षेत्रका सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ ।

क्षेत्र नं. १ बाट पार्टीअध्यक्ष अशोक कोइराला, जिल्ला सचिवालय सदस्य एवम् युवा संघका पूर्वउपाध्यक्ष सूर्य ढकाल र भारती खनालको नाम सिफारिस भएको छ ।

क्षेत्र नं. २ का लागि पशुपतिदयाल मिश्रको नाम सिफारिस भएको छ । मिश्र राष्ट्रिय जनता पार्टीका सहमहामन्त्रीबाट राजीनामा दिएर एमालेको चुनाव चिह्न लिएर निर्वाचनमा जान लागेका हुन् । क्षेत्र नं. ३ बाट नन्दलाल रोकाय, कमल बस्नेत र एकता शाहको नाम सिफारिस भएको छ ।

कांग्रेसबाट तीन पत्रकार सिफारिस

कांग्रेसले तीन प्रत्रकारलाई उम्मेदवार सिफारिस गरेको छ । पत्रकार महासंघका पूर्वकेन्द्रीय महासचिव पोषण केसी पनि सिफारिसमा परेका छन् । क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि उनी सिफारिसमा परेका हुन् ।

प्रेस युनियनका केन्द्रीय सदस्य जयसिंह केसीलाई प्रदेश सभा निर्वाचनमा समानुपातिक सदस्य पदका लागि सिफारिस गरिएको छ । निर्वाचन क्षेत्र नं. १ (ख) बाट केसी सिफारिसमा परेका हुन् । पत्रकार महासंघका पूर्वपार्षद रहेका मेघराज वलीलाई क्षेत्र नं. ३ (क) बाट प्रदेश सभा सदस्यका लागि सिफारिस गरिएको छ ।

यी हुन् एमाले कास्कीबाट सिफारिस नाम

एमाले कास्कीले प्रतिनिधि र प्रदेश सभाका लागि प्रत्येक निर्वाचन क्षेत्रबाट तीनजना गरी २३ जनाको नाम केन्द्र र प्रदेश कमिटीमा सिफारिस गरेको छ । एमालेले तीन दिन लगाएर सिफारिस हुने नामको टुंगो लगाएको हो ।

एमालेले प्रतिनिधिसभा क्षेत्र नं. १ का लागि पूर्वमन्त्री एवं सल्लाहकार परिषद्का उपाध्यक्ष खगराज अधिकारीको नाम मात्र सर्वसम्मत चयन गरेको छ । प्रदेशतर्फ क्षेत्र नं. १ (क) का लागि महिलाबाट सरिता कुमाल, टीकाराम पंगेनी र दिलीप न्यौपाने र (ख) मा मनबहादुर गुरुङ र वसन्त बराल सिफारिसमा परे । महिलामा कसैको उम्मेदवारी नपरेपछि जिल्ला कमिटीले समन्वय गरी नाम पठाउने भएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं. २ का लागि सांसद रवीन्द्र अधिकारी सर्वसम्मत हुन सकेनन् । अधिकारीलाई सर्वसम्मत बनाउन मंगलबारदेखि छनोट प्रक्रिया स्थगित गरिएको थियो । तर, सहमति नभएपछि उनीसँगै रत्ना गुरुङको नाम केन्द्रमा पठाइएको छ । प्रदेशतर्फ २ (क) का लागि हिरा गिरी, कृष्ण थापा र धनराज आचार्य र (ख) का लागि प्रभा कोइराला, दानबहादुर बानियाँ र सञ्जीवबहादुर कोइरालाको नाम सिफारिस भएको छ ।

क्षेत्र नं. ३ का लागि प्रतिनिधिसभातर्फ जगत विश्वकर्मा, जगन्नाथ बास्तोला र उमा कोइराला सिफारिसमा परे । प्रदेशतर्फ ३ (क) मा दलबहादुर गुरुङ, नारायण बास्तोला र सरस्वती अधिकारी र (ख) मा देवका पहारी, युवा संघ अध्यक्ष राजीव पहारी र दामोदर बैरागी सिफारिसमा परे ।

धादिङमा एमालेले प्रदेश उम्मेदवार टुंग्यायो

जिल्लामा एमालेले प्रदेश सभाका उम्मेदवार सिफारिस गरेको छ । प्रदेश सभाका लागि धादिङमा चारवटा क्षेत्र छन् । क्षेत्र नं. १ (क) बाट नेत्रराज पौडेल निर्विरोध सिफारिस भए ।

१ (ख) को बैठकले चारजनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ । केन्द्रीय लेखा आयोगका सदस्य मीनराज कँडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव लक्ष्मण शर्मा, पार्टी सचिव शिवराज कँडेल र पुराना नेता देवप्रसाद त्रिपाठीको नाम सिफारिस गरेको हो ।

क्षेत्र नं. २ (क) मा कृष्णबहादुर लामा, डा. रामकुमार अधिकारी, पार्वती खाँण, खेमबहादुर पाठक, धर्मराज अर्याल, राजेन्द्रप्रसाद सापकोटा र यज्ञश्वर अर्यालको नाम जिल्ला कमिटीमा पठाइएको एमाले नेता नेत्रप्रसाद नेपालले जानरकारी दिए ।

त्यस्तै २ (ख) मा पनि टेलिफोन र एसएमएसमार्फत टिपाइएका नामसमेत संकलन गर्दा करिब डेढ दर्जनले आकांक्षा प्रकट गरेकाले सबैसँग कुरा गरेर प्रतिस्पर्धाका निम्ति उपयुक्त नाम मात्र जिल्ला कमिटीमा सिफारिस गर्न लागिएको एमाले प्रदेश नं. ३ का सदस्य एवं सो क्षेत्रका इन्चार्ज डा. रामकुमार अधिकारीले जानकारी दिए ।

सो क्षेत्रमा बहालवाला सांसद धनबहादुर घले, रामहरि अधिकारी, उमेश थापा, इन्दिरा ढुंगाना, भरत खत्री, बाबुकृष्ण श्रेष्ठ, विष्णु सिंखडा, नारायण कार्की, गोपी पाण्डेलगायतको नाम जिल्ला कमिटीमा पेस गर्न लागिएको अधिकारीले बताए ।

नवलपुरमा एमालेले मात्र गर्यो सिफारिस

नवलपुरका प्रतिनिधिसभाका २ र प्रदेश सभाका ४ क्षेत्रका लागि एमालेले मात्र उम्मेदवार सिफारिस गरेको छ । कांग्रेस र माओवादी अन्तिम छलफलमा जुटेका छन् ।

प्रतिनिधिसभा क्षेत्र नं. १ मा डा. गोपाल खनाल, कृष्ण पौडेल र सुष्मा काफ्लेको नाम सिफारिस भएको छ । प्रदेश सभातर्फ क्षेत्र नं. १ (क) मा षडानन्द लामिछाने, यदुनाथ आचार्य, गीता तिवारी, (ख) मा पार्टी अध्यक्ष रोशनबहादुर गाहा, धर्मदत्त भुसाल र पार्वता पाण्डे सिफारिसमा परे । प्रदेश निर्वाचन क्षेत्र नं. २ को (क) मा सूर्यप्रसाद पाण्डे, रामकृष्ण ढुंगाना र ईश्वरी ढकाल र (ख) मा जनकलाल श्रेष्ठको एकल नाम सिफारिस भएको छ ।

कांग्रेस छलफलमा

कांग्रेसले नवलपुर र नवलपरासीमा नगरसमिति र गाउँसमितिले क्षेत्रीय समितिमा सिफारिस गरेको नाममाथि छलफल भइरहेको जनाएको छ ।

कांग्रेस नवलपरासीका सभापति विष्णु लामिछानेले नगर र गाउँसमितिले क्षेत्रीय समितिमा नाम सिफारिस गरिसकेको र त्यसमाथि क्षेत्रीय समितिमा छलफल चलिरहेको बताए । लामिछानेले क्षेत्रीय समितिले एक–दुई दिनमा उम्मेदवारको नाम जिल्ला समितिमा सिफारिस गर्ने जानकारी दिए ।

बारामा पुरुषोत्तम पौडेल दुई क्षेत्रबाट सिफारिस

एमाले बाराले जिल्लाको ४ वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको छ । एमाले नेता एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेलको नाम दुईवटै क्षेत्रबाट सिफारिस भएको छ । पौडेल क्षेत्र नं. १ र ३ बाट सिफारिसमा परेका छन् ।

बारा क्षेत्र नम्बर १ बाट पौडेलसहित अच्युत मैनाली र प्रमिला चौधरीको नाम सिफारिस भएकोे क्षेत्रीय संयोजक ढुण्डिराज उप्रेतीले बताए । क्षेत्र नं. २ बाट भने एकजना मात्रै उम्मेदवारको नाम सिफारिस भएको छ । छठुप्रसाद यादवको नाम सर्वसहमतिले सिफारिस भएको हो ।

क्षेत्र नं. ३ मा पौडेलसहित अध्यानन्द पाण्डे र विना खड्का सिफारिसमा परे । क्षेत्र नं. ४ बाट देवनारायण चौधरी, नेजमा आलम र वीरेन्द्रप्रसाद साहलाई उम्मेदवार सिफारिस गरिएको छ ।

प्रदेश सभा क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. ४(२)बाट अमर यादवलाई सर्वसहमतिबाट उम्मेदवार बनाउन सिफारिस गरिएको एमाले बाराले जनाएको छ । प्रदेश सभाका अन्यको टुंगो लागेको छैन ।

रुकुममा कांग्रेसले गर्यो सिफारिस 

कांग्रेस पश्चिम रुकुमले आगामी प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारको सिफारिस गरेको छ । तीन दिनसम्म बसेको बैठकमा सर्वसम्मत हुन नसकेपछि संघ र प्रदेशका लागि २६ जनाको नाम सिफारिस गरिएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पूर्वराज्यमन्त्री गोपलजीजंग शाह, जिल्ला सभापति प्रेमप्रकाश ओली, महाधिवेशन प्रतिनिधि यामबहादुर केसी र पूर्वपार्टीउपसभापति वीरबहादुर ओलीलाई सिफारिस गरिएको छ । समानुपातिकतर्फ सभापति प्रेमप्रकाश ओली, पूर्वराज्यमन्त्री गोपलजीजंग शाह र वरिष्ठ अधिवक्ता डा. नवराज गौतमको नाम सिफारिस गरिएको छ ।

प्रदेश सभाका लागि क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ कृष्णबहादुर रोकाय, हर्कसिंह खत्री, राजु केसी, गंगाराम गौतम, ओम केसी र लेखमाया केसीलाई र समानुपातिकतर्फ मानबहादुर नेपाली, धीरेन्द्रकुमार बटाला, मनीषा भण्डारी, जनकुमार बाँठा र यज्ञ परियारलाई सिफारिस गरिएको छ ।

क्षेत्र नं. २ बाट प्रत्यक्षमा तिलबहादुर भण्डारी, गोरखप्रसाद चन्द, थलबहादुर खड्का र नरजंग ओली र समानुपातिकमा कालुराम खड्का (मोहवीर), खड्गबहादुर डाँगी, सीता ओली, भीमबहादुर डाँगी, मोहनप्रकाश आचार्य र दीपेन्द्र पुन सिफारिसमा परेका छन् ।

एमाले बैतडीले प्रदेश कमिटीमा पठायो नाम

एमाले बैतडीले प्रतिनिधिसभा र प्रदेश सभाका लागि प्रदेश कमिटीमा उम्मेदवारको नमावली सिफारिस गरेको छ ।

प्रतिनिधिसभाका लागि दामोदर भण्डारी, परमानन्द भट्ट र पद्मा खत्रीलाई प्रत्यक्षतर्फ सिफारिस गरिएको छ । यस्तै समानुपातिकतर्फ पुरनसिंह दयाल, जयानन्द जोशी र माया भट्टलाई सिफारिस गरिएको छ ।

प्रदेश सभाका लागि क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ सुरेन्द्र पाल सर्वसम्मत सिफारिस भएका छन् । यस्तै क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ लीलाधर भट्ट, महादेव भट्ट र सुशीला सिंह चन्दलाई सिफारिस गरिएको छ । प्रदेश सभाका लागि समानुपातिकतर्फ चन्द्रा लुहार, पार्वती भट्ट, जानकी अवस्थी, राजु भुल, धना धामी, प्रेमराम लुहार र लालसिंह कार्कीलाई सिफारिस गरिएको छ ।

सिन्धुपाल्चोकमा ठूला दलले गरे सिफारिस

सिन्धुपाल्चोकमा तीन ठूला दलले उम्मेदवार सिफारिस गरेका छन् । अधिकांश क्षेत्रमा सहमतिमा सिफारिस भए पनि केही क्षेत्रमा आकांक्षी धेरै हुँदा दलहरूले सबैको सिफारिस गरेका छन् ।

दसैँअघि नै माओवादीले चुनावमा भाग लिने सम्भावित उम्मेदवारको नाम घोषणा गरिसकेको छ । कांग्रेस र एमालेले दसैँलगत्तै उम्मेदवार सिफारिस गरेका हुन् । राप्रपाले भने उम्मेदवार सिफारिस प्रक्रिया थालेको जनाएको छ । तर, प्रतिनिधिसभा २ बाट नेता पशुपतिशमशेर राणा उठ्ने लगभग निश्चित भएको राप्रपाले जनाएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं. १ का लागि कांग्रेसबाट मोहनबहादुर बस्नेत, एमालेबाट अरुण नेपाल र माओवादी केन्द्रबाट अग्निप्रसाद सापकोटा, राजकुमार श्रेष्ठ र सरल सहयात्री पौडेल सिफारिसमा परे । क्षेत्र नं. २ मा कांग्रेसबाट विकास लामा, तारानाथ दाहाल, आइतमान तामाङ, एमालेबाट शेरबहादुर तामाङ र माओवादीबाट दाबा तामाङ सिफारिसमा परे ।

प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा (क) मा कांग्रेसबाट भूपेन्द्रबहादुर थापा, बालकृष्ण बस्नेत, विष्णु खत्री, भोला बोहरा, एमालेबाट सुरेश नेपाल, माओवादीबाट लालकान्छा तामाङ सिफारिसमा परे । (ख) मा कांग्रेसबाट कृष्ण न्यौपाने, राजेन्द्र श्रेष्ठ, एमालेबाट सुरेश नेपाल र माओवादीबाट माधव सापकोटा सिफारिसमा परे ।

क्षेत्र नं. २ प्रदेश सभा (क) मा कांग्रेसबाट विकास तामाङ, यज्ञ दंगाल, रुद्रलोचन आचार्य, तेजबहादुर बानियाँ, एमालेबाट सुभाष कर्माचार्य, इन्द्र नेपाल र माओवादीबाट युवराज दुलाल सिफारिस भए ।

(ख) मा कांग्रेसबाट पासाङ दोङ, रमेश भण्डारी, सागर श्रेष्ठ, जिमी लामा, मधुसूदन सिग्देल, एमालेबाट बालकृष्ण देउजा, मित्रलाल चौलागाईं, धर्मकृष्ण श्रेष्ठ, माधव पाण्डे, उपेन्द्र तामाङ र माओवादी केन्द्रबाट चन्द्रबहादुर थापा सिफारिसमा परे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!