२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आँखा छल्दैमा, पाइँदैन सुख…

२०७६, ३२ जेष्ठ शनिबार १३:२५

नारायण ढुङ्गाना | “हेल्लो ! राजकुमार जी, बोल्नुभयो ?” एक प्रहरीको फोन आयो । “हजुर बोल्दै छु”, जवाफ फर्कियो । म महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट, तपाईं एक पटक यहाँ आएर कोठा नम्बर १० मा भेट्नुहोला ।”

ट्राफिक प्रहरीको फोनले राजकुमार (नाम परिवर्तन) झसङ्ग हुनुभयो । कुनै सवारीलाई ठक्कर दिएको छैन । कुनै प्रहरीसँग सिफारिश छैन । कुनै ट्राफिकलाई चिनेको पनि छैन, तर एक्कासी भेट्न आउनुस् भनेर फोन आउँछ । उहाँ अच्चममा पर्नुभयो । “आ होइन होला ! कसैले झुक्याउन फोन गर्यो होला”, राजकुमारको मनमा यस्तैयस्तै विभिन्न विचार खेल्न थाल्यो ।

विषय बुझ्ने उहाँको छटपटी रोकिएन । साथीभाइलाई फोन गरेर सोध्नुभयो । आफूलाई कल आएको नम्बरबारे चिनजानका प्रहरीलाई सोध्नुभयो । त्यसपछि बल्ल ट्राफिक प्रहरीबाटै फोन आएको उहाँलाई पक्का भयो । फोन चाहिँ किन आयो त ? बुझ्नका लागि काम छाडेर हस्याङ्फस्याङ गर्दै उहाँ महाशाखा पुग्नुभयो । 

अभिलेख हेरेर प्रहरीले भने, “ल तपाईंले लेन मिच्नुभएको छ”, “मैले कसरी लेन मिच्नु, घरमा काम गरिरहेको मान्छे”, उहाँले प्रतिवाद गर्नुभयो । “एक्कै छिन् पक्नुस् है”, सिसी टिभीको श्रव्यदृष्य खोल्दै खोजतलास तथा सिसीटिभी कारवाही शाखाका एक जना प्रहरीले भन्नुभयो ।

अघिल्लो दिन ठीक ६ बजेर १५ मिनेट १० सेकेण्डमा माइतीघरमा लेन मिचेको श्रव्यदृष्यबाट प्रष्ट देखियो । त्यसपछि उहाँ मलिन अनुहारमा रशिद लिएर ट्राफिक कक्षा लिनतिर लाग्नुभयो । यो प्रतिनिधि घटना हो । महाशाखामा अहिले दैनिक सयौँ यस्ता घटना आइरहेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट पठाइएको अभिलेख केलाउँदैमा सिसीटिभी शाखाका प्रहरीलाई भ्याइनभ्याइ छ ।

शुक्रबार उक्त शाखामा यसैगरी बोलाइएका मानिसको भीड थियो । सामान हराएर खोजतलासका लागि आएकासमेत थपिँदा दुई प्रहरीलाई काममा दबाब परेको देखिन्थ्यो । जनशक्ति र प्रविधिको अभावका बीच नै प्रहरीले यसरी प्रविधिमार्फत ट्राफिक नियम उल्लङ्घनविरुद्ध कारवाही अभियान तीव्र पारेको छ ।

पहिले सडकमा बसेका ट्राफिकको आँखा छलेपछि कारवाहीबाट पार पाइन्थ्यो तर अब आँखा छल्दैमा सुख पाइँदैन । हरेक व्यक्तिको सडकमै अभिलेख रहनेगरी अनुगमन भइरहेकाले काठमाडौँ उपत्यकाको मुख्य सडकमा प्रहरीको आँखा छलेर गरेको गल्तीमा समेत कारवाही भोग्नुपर्नेछ । प्रहरीको आँखा छल्दैमा प्रविधिको आँखा छल्न कहाँ सकिन्छ । 

“होइन, गरेकै छैन भन्दै धेरै आउँछन्, झगडा गर्छन्, तर क्यामराको फुटेज देखेपछि चुप लाग्छन्”, नियन्त्रण कक्षका एक ट्राफिक प्रहरीले अनुभव सुनाउनुभयो । उपत्यकाको मुख्यमुख्य क्षेत्रमा ५१४ सिसी क्यामरा सञ्चालनमा छ । क्यामराको नियन्त्रक कक्ष महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा राखिएको छ । जडान गरिएकामध्ये १५१ सिसी क्यामरा ट्राफिक प्रहरी महाशाखाले नै हेर्न सक्छ । 

प्रहरीले त्यही सिसी क्यामराले खिचेको श्रव्यदृष्यबाट नियम मिच्ने सवारीको नम्बर लिएर यातायात व्यवस्था कार्यालयमार्फत गाडी धनीको विस्तृत विवरण लिन्छ । त्यसपछि प्रहरीले टेलिफोन गरी सम्बन्धित गाडी धनीलाई महाशाखामा बोलाउँछ । “तीन पटकसम्म उनीहरुलाई फोनमार्फत बोलाइन्छ, नआए पत्राचार गरिन्छ, त्यसपछि पनि नआए नियन्त्रणमा लिएर प्रमाणसहित कारवाही गर्छौं”, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले भन्नुभयो । पछिल्लो तीन महीनादेखि यो क्रमलाई तीव्रता दिइएको उहाँले बताउनुभयो । मानवीयरूपमा मात्रै ट्राफिक व्यवस्थापन चुस्त नहुने देखेर प्रविधियुक्त व्यवस्थापनमा प्रहरी लागेको छ । 

ब्रेथ एनालाइजरको प्रयोग गरेर मापसे नियन्त्रण अभियान जारी छ । गोब्रो क्यामरा, सर्भिलेन्स भेइकलका माध्यामबाट नम्बरप्लेटको आधारमा पहिचान गरी कारवाही गर्ने प्रक्रियासमेत चलिरहेको प्रमुख पन्तले बताउनुभयो ।

प्रहरीले फोन गरेर बोलाएकै आधारमा जेठ महीनामा मात्रै १५० लाई कारवाही गरेको छ । सिसी क्यामराको आधारमा तत्कालै पिछा गर्दा स्थलगतरुपमै भेटेर कारवाही गरेको सङ्ख्या ८५६ रहेको छ । सर्भिलेन्स भेइकलमा प्रयोग गरेको सिसी क्यामराबाट ३९ कारवाही परेका छन् ।  चालू आर्थिक वर्षमा सिसी क्यामराबाट प्राप्त दृश्यको आधारमा ट्राफिक नियम उल्लङ्घन गर्ने कूल सात हजार १०६ कारवाही परिसकेका छन् ।

महाशाखा प्रमुख पन्तका अनुसार ट्राफिक व्यवस्थापनमा हरेक व्यक्तिको भूमिका महत्वपूर्ण हुन्छ । सडक, सवारी र ट्राफिक नियमका बारेमा व्यक्ति कमै जानकर छन् । सचेतनाको अभावमा समस्या बढ्दो छ । “सडकमा कसरी हिँड्ने, कहाँ र कसरी पार्क गर्ने, कसरी दायाँ¬बायाँ जाने, व्यक्ति धेरैलाई थाहै छैन, अलीअली जानेकाहरु छल्न खोज्छन्, अझै ठूलो समस्या भनेको हरेक मान्छे सडकबाटै पार गर्छन्, जसले दुर्घटनालाई निम्त्याइरहेको छ”, पन्तले थप्नुभयो । 

अहिले ट्राफिक प्रहरीले ओभरहेड ब्रिज बनाउन र सिग्नल बनाइदिन सडक विभागलाई लेखेर पठाएको छ । साँच्चै नै काठमाडौँमा ट्राफिक व्यवस्थापन गर्ने नै हो भने ठूला सवारी साधन भित्र्याएर सानालाई मुख्य सडकमा रोक्नुपर्ने प्रहरीको निष्कर्ष छ । 

काठमाडौँ उपत्यकाको शान्तिसुरक्षा हेर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्य सडकमा ट्राफिक नदेखेपछि जथाभावी गाडी दौडाउँदा दुर्घटनाको जोखिम भएपछि सिसीटिभीको श्रव्यदृश्यका आधारमा कारवाही थालिएको बताउनुहुन्छ । 

“ट्राफिक नभएका बेलामा बढी लापरवाही भो, त्यसैले हामीले अहिले काठमाडौँमा टेक्नोलोजी प्रयोगलाई बढाएका छौँ, योक्रम काठमाडौँसहित भक्तपुर र ललितपुरमा पनि चल्दै छ”, उहाँले भन्नुभयो । 

नेपालमा प्रहरीको सङ्ख्या न्यून छ । हरेक ठाउँमा प्रहरीले निगरानी गर्न सक्दैन । त्यसैले प्रविधि प्रयोगमा प्रहरीले ध्यान केन्द्रित गरेको हो । जिल्लास्तरमा समेत सक्दो प्रविधिको प्रयोग गर्न सर्कुलर गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

अगाडि प्रहरी देखे मात्रै सतर्क हुने तर प्रहरी नदेखे लापरवाहीपूर्ण तरिकाले गाडी चलाउँदा हुने दुर्घटना रोक्न यो अभियान महत्वपूर्ण हुने प्राध्यापक नरेन्द्र ठगुन्नाको भनाइ छ । यस्ता कार्यक्रम प्रभावकारीरुपमा लैजानुपर्नेमा उहाँको जोड छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण