२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

आलु खेतीबाट समृद्धि खोतल्दै स्याङ्जा जिमूहाका किसान

२०७४, १२ चैत्र सोमबार ११:३२

तोलाकान्त बगाले/चैत १२, स्याङ्जा | गल्याङ नगरपालिका–११ जिमूहाका किसानले सामूहिक आलु खेतीका माध्यमबाट आर्थिक समृद्धिको बाटो रोजेका छन् । 

जिमूहा कृषि उपज कृषक सहकारी संस्थामा आवद्ध ५६ जना कृषकले दश रोपनी जग्गामा आलु खेती गरेका हुन् । 

“स्थानीय कृषकले निर्वाहमुखी कृषिका माध्यमबाट उत्पादन गर्दै आउनुभएको आलु खेतीलाई थप व्यवस्थित बनाउँदै ब्यवसायिकरुपमा अघि बढाउन संस्था दर्ता गरी समूहमार्फत खेती सुरु गरेका हौँ” – जिमूहा कृषि उपज कृषक सहकारी संस्थाका अध्यक्ष रुमलाल कँडेलले भन्नुभयो । 

व्यक्तिगत रुपमाभन्दा सामूहिकरुपमा व्यवसाय गर्दा सजिलो र उत्पादित कृषिजन्य वस्तुको बजारीकरणमा समेत महत्वपूर्ण सहयोग पुगेको उहाँले बताउनुभयो । आलुका लागि बलौटे दोमट माटो बढी उपयुक्त हुने भएपनि यहाँको माटो चिम्टयाइलो रातो रहेकाले माटोको सुधारका लागि जिल्ला कृषि विकास कार्यालयमा परीक्षणका लागि सिफारिस गरिएको उहाँले बताउनुभयो । 

“दश रोपनी जग्गा भाडामा लिएर हामीले आलु लगाएका थियौँ,” अध्यक्ष कँडेलले भन्नुभयो, “आलु खनिसकिएकाले अब खाली रहेको जग्गामध्ये छ रोपनीमा गोलभेँडा र चार रोपनीमा मकैको बीउ उत्पादन गर्ने तयारीमा छौँ ।” 

यही ठाउँमा आँधीखोला पानी उपभोक्ता समूह (आक्वा) अन्तर्गत नमूना नगदे बाली उत्पादन कार्यक्रम र जिमूहा कृषि उपज कृषक सहकारी संस्थाले आलुको बीउ उत्पादन गर्दै आएको छ । नमूना नगदे बाली उत्पादन कार्यक्रम अन्तर्गत यहाँका २७४ जना कृषक आवद्ध छन् भने व्यक्ति÷व्यक्तिको कृयाशिलतामा करिब १०० हेक्टर क्षेत्रफलमा आलु खेती गरेको नमूना नगदे बाली उत्पादन कार्यक्रमका उपाध्यक्ष विष्णु गैह्रेले बताउनुभयो । 

उहाँका अनुसार नमूना नगदे बाली उत्पादन कार्यक्रममार्फत राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्र खुमलटार ललितपुरबाट मूल बीउ ल्याई त्यस बीउलाई यहाँको हावापानी र माटो अनुसारको गुणस्तरीय उन्नत बीउ बनाइ लगाउने तथा बीउका रुपमा वितरण गर्ने गरिएको छ । 

जिमूहामा विशेष गरी जनकदेव, खुमल, उज्जल, डेजिरलगायत आलुका बीउ उत्पादन गर्ने गरिएको कृषक चतुर्भुज पन्थी बताउनुहुन्छ । यहाँ उत्पादित आलु स्वादका दृष्टिले समेत उत्कृष्ट रहेकाले खरिद गर्न व्यापारी घरमै आउने गरेकाले बिक्रीका लागि समस्या नरहेको स्थानीयवासी बताउँछन् । 

अध्यक्ष कँडेल स्वयंले तीन महिनाको अवधिमा खाने आलु र बीउ आलुको बिक्रीबाटै व्यक्तिगतरुपमा रु सात लाख आम्दानी गरेको बताउनुहुन्छ । आलुका लागि जिल्लाकै पकेट क्षेत्र मानिने उक्त ठाउँमा उत्पादन भएको आलु तथा बीउ स्याङ्जासहित भैरहवा, बुटवल, पोखरा, पाल्पा, तनहुँसम्मका स्थानमा बिक्री हुने गरेको संस्थाले जनाएको छ । 

“बीउका लागि उत्पादन भएको आलु पछिसम्म जोगाइराख्नका लागि हामीले भैरहवामा रहेको शति भण्डारमा भण्डारण गर्छौँ” जिमूहा कृषि उपज कृषक सहकारी संस्थाका उपाध्यक्ष चक्रपाणी कँडेलले भन्नुभयो, “शीत भण्डारमा भण्डारणका लागि मात्रै प्रतिकिलो रु पाँच र ढुवानी भाडा, लोड अनलोडसहित प्रतिकिलो रु १० खर्च लाग्छ ।” 

गएको याममा संस्थाले भैरहवामा रहेको शीत भण्डारमा २०० मेट्रिक टन आलुको बीउ भण्डारण गरेको थियो । आलु लगाउने बेलामा ल्याइने बीउलाई संस्थाले मुल्य निर्धारण गरेर बिक्री गर्ने गरेको छ । 

जिमूहामा ब्यवसायिकरुपमा उत्पादित आलुको बीउको बजारीकरणमा सहयोग र स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै गल्याङ नगरपालिकाले नगरका १० वटै वडामा ३० मेट्रिक टन आलु सहुलियत दरमा वितरण गरेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा