फागुन २९, नेपालगञ्ज (रासस) | बर्दियाको बढैयाताल गाउँपालिका माछा उत्पादन र व्यावसायिक तरकारी खेतीको मुख्य क्षेत्रका रुपमा चिनिदै आएको छ ।
माछा उत्पादनसँगै गाउँपालिकामा आलुको बीउ र व्यावसायिक रुपमा तरकारी खेती पनि हुँदै आएको छ । तर अधिकांश किसान अहिले पनि परम्परागत तरिकाबाट खेती गर्दै आएका छन् । गाउँपालिकाले यो वर्ष कृषिमा रु ६० लाख बजेट विनियोजन गरेको छ ।
बढैयातालका स्थानीयका लागि विगतका दिनमा जिल्ला कृषि विकास कार्यालयबाट प्रवाह हँुदै आएको कृषि सेवा अहिले स्थानीय तहबाट प्रवाह भइरहेको छ । बढैयाताल गाउँपालिकाले पनि कृषि शाखामार्पmत सेवा प्रवाह गरिरहेको छ । तर सबै स्थानीयले कृषि शाखाबाट प्रवाह भइरहेको सेवाको उपभोग गर्न भने सकेका छैनन् ।
बजेट अभावको कारणले चाहेर पनि कर्मचारीले पर्याप्तरूपमा कृषिसेवा दिनसकेका छैनन् भने केही किसान आफैँ पनि कृषि शाखाबाट प्रवाह हुने सेवाका बारेमा जानकारी नपाएर सेवा लिन सकेका छैनन् । “कृषि शाखाले अनुदानमा सेवा प्रवाह गर्दै आएको छ, तर कृषकको मागअनुसार र समयमा सेवा प्रवाह भने हुनसकेको छ्रैन”, बढैयाताल–६ का कृषक जीवेन्द्र थारूको भनाइ छ ।
गाउँपालिकाको कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न गाउँपालिकाले पर्याप्त मात्रामा बजेट छुट्याउन सकेको छैन । जसका कारण किसानले मेहिनतअनुसारको लाभ लिन सकिरहेका छैनन् । गाउँपालिकामा आएको बजेटको निश्चित रकम विषयगत सेवाअन्तर्गत कृषिमा छुट्याएर किसानका लागि खर्च हुने गरेको छ । सरकारले कृषिमा आधुनिकीकरण गर्ने भने पनि कृषिका लागि भने न्यून बजेट रहेको सो गाउँपालिकाको कृषि शाखा प्रमुख दुर्गाप्रसाद बसौलाले बताउनुभयो ।
बढैयाताल गाउँपालिका बर्दियाको पूर्वदक्षिण भागमा पर्दछ । मैनापोखर, भोलागौढी र शीतलाबजार बढैयाताल गाउँपालिकाको बजार क्षेत्र हो भने अन्य सबै क्षेत्रका स्थानीयवासी कृषि पेशामा आबद्ध छन् । गाउँपालिकाको आठ हजार हेक्टरमा खेती हुदै आएको छ । झण्डै ८५ प्रतिशत स्थानीयवासी कृषिमा आश्रित भएकाले गाउँपालिका र वडा कार्यालयले व्यावसायिक कृषि कार्यक्रमलाई प्राथमिकतामा राखेको सो गाउँपालिका–४ का अध्यक्ष कर्णबहादुर थापाको भनाइ छ ।
गाउँपालिकामा माछा र आलुको बीउको राम्रो उत्पादन हुँदै आएको छ । करीब ४० किसान माछापालन गरिरहेका छन् भने करीब २०० किसान तरकारी र आलुखेती गर्दै आएका छन् । राज्यले कृषिका लागि पर्याप्त मात्रामा बजेट विनियोजन गर्न नसके पनि कृषिलाई टेवा पुग्ने कार्यक्रम गरिरहेको कृषि शाखा प्रमुख बसौलाले बताउनुभयो ।
स्थानीयस्तरमा उत्पादन भएको तरकारी सितला, पशुपति, सीतापुर हाटबजार र मैनापोखरबाट बिक्री वितरण हुँदै आएको छ । मैनापोखर र कालिकाबाट वर्षेनी करीब ४०० सय टन आलुको बीउ र एक हजार ४०० टन आलु उत्पादन हुँदै आएको छ ।
किसानले तरकारीका अलावा धान, गहँु, मकै, मसुरो, केराउ, अरहरलगायतका अन्नबाली पनि उत्पादन गर्दै आएका छन् । गाउँपालिकाले यो वर्ष कृषिका लागि रु ६० लाख निशर्त र रु १८ लाख सशर्त बजेट विनियोजन गरेर कृषिका लागि छनोट गरेको योजनाको कार्यान्वयन गर्ने तयारी थालेको छ ।
सो गाउँपालिकाको कृषि विकास शाखाबाट प्रवाह भइरहेको सेवामा स्थानीयवासीको पहुँच बढाउन कृषि सेवा क्षेत्रलाई अझ फराकिलो पार्न आवश्यक रहेको स्थानीयवासीको माग छ ।