२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

व्यावसायिक कृषिमा पहिचान बनाउँदै बाघमारा

२०७५, २३ चैत्र शनिबार ०९:०५

चैत २३, पोखरा । वर्षात् शुरु भएसँगै यतिखेर बाघमाराका कृषक लहरे तरकारीको तयारीमा जुटेका छन् । बेर्ना तयार गर्नु, हुर्किएका बेर्नाका लागि थाँक्रो राख्नु, असिनाजस्ता प्रकोपबाट जोगाउन प्रयास गर्नु यतिखेर यहाँका कृषकको दैनिकीजस्तै बनेको छ । पोखराको बजारमा विशिष्ट पहिचानजस्तै बन्दै गएको यहाँको दूध तथा तरकारीको व्यवसायबाट कृषकले राम्रो आयआर्जन गर्न सफल बनेको बाघमाराका अगुवा कृषक खगेन्द्रराज अधिकारीले बताउनुभयो । जलवायु परिवर्तनका कारण वर्षेनी मौसममा हुँदै गएको परिवर्तनसँगै यहाँको तरकारी उत्पादन हुने क्रममा पनि परिवर्तन आएको छ ।

पछिल्ला चार दशकको अन्तरालमा यस क्षेत्रमा शुरुमा दाल र पिडालु उत्पादन हुने गरेकोमा त्यसपछि गोलभेँडा हुँदै अहिले लहरे तरकारी राम्रो उत्पादन हुने गरेको छ । आजभन्दा झण्डै डेढ दशक अघिसम्म बाघमाराको गोलभेँडा पोखरामा मात्र नभएर स्याङ्जा, तनहुँका साथै नेपालका प्रमुख शहर बुटवल, काठमाडौँलगायतका बजारमा पुग्ने गरेको थियो । बाघमाराको गोलभेँडा भनेर विशिष्ट पहिचान बनाए पनि यो खेती २०५५÷५६ सालदेखि भने विस्थापित बन्दै लहरे खेतीतर्फ आकर्षण बढेको हो । त्यस्तो उत्पादन हुने गोलभेँडा विस्थापित बन्नु अनुसन्धानकै विषय भएको कृषक बताउँछन् ।

बढ्दो शहरीकरणका साथै मुलुकका अधिकांश स्थानमा कृषिप्रतिको अनिच्छा बढिरहेको अवस्थामा यहाँ भने व्यावसायिकताले अझै गति लिँदै गएको अर्का कृषक ठाकुरप्रसाद आचार्यले बताउनुभयो । तरकारी खेतीका साथै दूधलाई लक्षित गरी व्यावसायिक रुपमा नै पशुपालनको क्रमसमेत तीव्ररुपमा बढिरहेको आचार्य गाई फार्मका सञ्चालकसमेत रहनुभएका उहाँले जानकारी दिनुभयो ।

चार दशकअघि बाघमारामा उत्पादन हुने पिडालु, उखु, दाल कास्कीसहित आसपासका विभिन्न स्थानमा माग हुने गरेको यहाँका स्थानीयवासी बताउँछन् । बाघमारामा विशेष गरी वर्षात्को सहयोगमा घिरौँला, चिचिन्डा, लौका, फर्सी, सिमी, बोडीलगायतका लहरे तरकारीको राम्रो उत्पादन हुन्छ ।

आजभन्दा साढे दुई दशकअघिदेखि बाघमाराबाट दुग्ध विकास संस्थानलाई दूध सङ्कलन गरी बिक्री गर्न थालेसँगै यस क्षेत्रमा कृषिको व्यावसायिकता विकास भएको हो । तत्कालीन समयमा नै अधिकतम १६० लिटरसम्म दूध यहाँबाट दुग्ध विकास संस्थानलाई दिइएको थियो ।

शुरुमा दुग्ध विकास संस्थानले दूध लैजाने गरेकोमा २०६१ साल भदौदेखि पोखरामा निजीस्तरबाट सञ्चालित पन्थी डेरीले बाघमारामा दूध सङ्कलन गर्न थालेको थियो । अन्य निजी डेरी पनि बाघमारामा सम्पर्कमा आउन थालेसँगै गाईपालनको वातावरण विकास भएको हो । त्यस समयमा २५० लिटरसम्म दूध सङ्कलन हुने गरेको थियो ।

विसं २०५०÷५१ सालतिर बाघमारामा बस सञ्चालन नहुँदा तालचोकसम्म बोकेर दूध पु¥याउनुपर्नेमा यातायातको सुविधासँगै २०६१ सालपछि पुलचोकमा दूध सङ्कलन केन्द्र खोलिएको थियो । पछिल्लो डेढ दशकयता भने चिरगादीमा पक्की पुल बन्नुका साथै पोखराको दोभिल्ला हुँदै सवारी साधन आवतजावत गर्न थालेका कारण उत्पादित दूध बजारमा पु¥याउन सहज भएको छ । बाघमाराबाट दैनिक सात हजार लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ । वडास्तरीय कृषि सञ्जालका संयोजक चन्द्रप्रसाद पौडेलका अनुसार दूध उत्पादनको बढ्दो क्रमसँगै बाघमारालाई २०७४ मा दूधको शहर घोषणा गरिएको थियो ।

दूधको बिक्री वितरणको सहजताका लागि हाल यस क्षेत्रमा आठवटा दूध सङ्कलन केन्द्र सञ्चालनमा आएको जानकारी दिँदै उहाँले व्यावसायिकताको विकासलाई लक्षित गरी बृहत्तर गाईपालन समितिसमेत गठन गरिएको बताउनुभयो ।

बढ्दो व्यावसायिकताप्रतिको आकर्षणलाई आत्मसात् गर्दै पोखरा महानगरपालिका–३३ ले कृषिका लागि आवश्यक पूर्वाधार विकासमा जोड दिएको वडाध्यक्ष शिवप्रसाद आचार्यले बताउनुभयो । “कृषकलाई उत्पादन सहजरुपमा बजार पु¥याउन सडक पूर्वाधार विकासमा जोड दिएका छौँ”, उहाँले भन्नुभयो, “हामीले भरतपोखरीको तल्लो भागको समथर भूभागलाई गाईपालनको पकेट क्षेत्र र माथिल्लो भागलाई बाख्रा तथा कुखुरापालनको पकेट क्षेत्र बनाउन लक्ष्य राखेका छौँ ।”

कृषकलाई पानीको समस्या नहोस् भन्ने उद्देश्यले बाघमाराका पुष्प बस्ती, शिव बस्ती र तिक्लाङमा डिप बोरिङ गरिएको छ । वडाध्यक्ष आचार्यका अनुसार भरतपोखरीको अत्यधिक उत्पादनयोग्य सुरौदी क्षेत्रमा बाँझिदै गएका खेतमा खेतीका साथै व्यावसायिक पशुपालन लक्षित गरी गोठ बनाउने कृषकका लागि वडाका तर्फबाट छाना राख्ने सहयोग गरिने छ । यहाँका कृषकलाई उत्प्रेरित गर्न प्रदेश तथा सङ्घका तर्फबाट प्रदान गरिने अनुदान उपलब्ध गराउन वडाका तर्फबाट सहयोग गरिने उहाँले बताउनुभयो ।  (रासस) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस