२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीबाट फर्किएर खोरिया फाँड्दै तरकारी लगाउँदै

२०७७, १२ जेष्ठ सोमबार ०८:३६

जेठ १२, म्याग्दी | कोभिड– १९को जोखिम बढ्दै जादा खाद्य सङ्कट आउन नदिन हिमाली जिल्ला म्याग्दीमा तयारी शुरु गरिएको छ ।

वैदेशिक रोजगारीमा गएर फर्किएका, अध्ययन, व्यवसाय वा जागिरका लागि शहरमा बस्दै आएका युवा बन्दाबन्दीका कारण गाउँ फर्किएरसँगै वर्षांैदेखि बाँझो रहेका जमिनलाई खनजोत गरी खेती गर्न थालेका छन् ।

पश्चिम म्याग्दीको मालिका, धौलागिरि र मङ्गला गाउँपालिका, उत्तरी म्याग्दीको अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाका साथै बेनी नगरपालिकाका युवा यतिखेतर बाँझो जमिन जोत्न, खोरिया फाँड्न र तरकारी, फलफूल तथा वर्षेबाली लगाउन व्यस्त छन् ।

सरकारले हालै पारित गरेको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएको र बाली लगाउनुअघि नै किसानको नाफा सुनिश्चित गर्ने नीति लिँदै कृषि पूर्वाधारमा ठूलो लगानी गर्ने घोषणा गरेपछि म्याग्दीका युवा कृषि क्षेत्रतर्फ आकर्षित भएका हुन् ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका– ६ दुखुमा वडा कार्यालयको सहयोगमा बाँझो जमिनलाई हरियाली बनाउने अभियान शुरु गरेका छन् । दुखुका गाउँले मिलेर सामूहिक कृषिखेती शुरु गरेका छन् ।

बन्दाबन्दीको समयमा गाउँ फर्किएका युवा मिलेर स्थानीयरुपमा उत्पादन हुने सिमी, भट्टा, कोदो, मकैलगायतको खेती बाँझो जमिनमा लगाउन खनजोत शुरु गरेका हुन् । सोह्र घरधुरीको २२ वर्षदेखिको १७० रोपनी बाँझो जमिनमा गाउँले मिलेर १० वर्षसम्मको आम्दानी गाउँले लिने सम्झौता जग्गाधनीसँग गरेर झाडी फाँड्ने खनजोत गरेर खेती गर्न शुरु गरेका हुन् । ९८ घरधुरी रहेको दुखुलेकमा ४८ दिन लगाएर झाँडी पन्छाइ दैनिक छ हल गोरुले बाँझो जमिन जोतेर हरियाली बनाउन लागिएको छ । मालिका गाउँपालिका वडा नं ६ का वडाध्यक्ष सन्तनाथ सुवेदीले ‘एक गाउँ एक’ उत्पादन योजनासँगै रैथाने बाली पकेट निर्धारण गरेर भूगोलअनुसार खेती शुरु गरेको जानकारी दिनुभयो । 

स्थानीय सर्गबहादुर रोकाले बाँझो बसेको जमिनलाई हरियाली बनाउने अभियानमा सरिक हुन शहर वा गाउँबाहिर रहेका युवालाई गाउँमा आउन आग्रह गर्नुभयो । खेतीतर्फ आकर्षित, आयात घटाउने, रोजगारी र आयआर्जन बढाउने र स्थानीय आवश्यक खाद्यान्न उत्पादनसँगै आम्दानी बढाउने उद्देश्यले दुखुलेकमा गाउँपालिकाले तीन लाख बजेट विनियोजन गरेको छ । सार्वजनिक जग्गामा टिमुर लगाउन एक लाख र बाँझो जमिनमा वा खेती गर्दै आएको जग्गामा दुई लाखको सिमीको बीउबिजन खनजोत गरेर लगाउन विनियोजन गरेको वडासदस्य पदबहादुर रोकाले बताउनुभयो ।

कोरोना भाइरसका कारण खाद्य सङ्कटको अवस्था आउन नदिन स्थानीय तहले ‘एक गाउँ एक उत्पादन’ लक्षित गरेर रोजगारी सिर्जना गर्न अुनदानलगायतको व्यवस्था गरेको छ । गाउँले उत्पादन गरेको टिमुर सिमी, गहत भट्टलगायतका खेतीको बजारीकरणका लागि दरबाङमा आत्मनिर्भर व्यवसायी कृषि सहकारी संस्थाले जिम्मा लिएको छ ।

त्यस्तै धौलागिरि गाउँपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने भएको छ । कार्यपालिकाको बैठकले खेती हुन छाडेर बाँझिएका जमिनलाई उपयोग गर्नेलाई प्रोत्साहन गर्ने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो ।

आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम तथा बजेटमा समावेश गरी बाँझो जमिन प्रयोगमा ल्याउनेसम्बन्धी कार्यविधि ल्याएर कार्यान्वयन गर्ने उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाको उपल्लो क्षेत्रमा खाद्यबालीको साथै उच्च बजार मूल्य भएका दलहन, तरकारी, फलफूल, जडीबुटीको व्यावसायिक खेतीतर्फ आकर्षित गर्न लागिएको उहाँको भनाइ छ । तल्लो क्षेत्रमा केरा, सुन्तला र उच्च पहाडी क्षेत्रमा सतुवा, टिम्मुरलगायतका जडीबुटी खेती गर्न कृषकलाई आग्रह गरिएको छ ।

“कोरोना भाइरसका कारण खाद्य सङ्कटको अवस्था आउन नदिन पालिकाका सातवटै वडामा खाद्य बैंक स्थापना गरेर समस्यामा पर्ने विपन्न, मजदुरलाई उपलब्ध गराउने नीतिसहित अगाडि बढेका छौँ”, उहाँले भन्नुभयो ।

खाद्यसङ्कट, सामाजिक विचलन र आर्थिक सङ्कट ल्याउने भएकाले मदिरा उत्पादनबाट जीविकोपार्जन गर्दै आएकालाई आयआर्जनको वैकल्पिक सीप सिकाउने गाउँपालिकाले जनाएको छ । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकामा पनि धमाधम खोरिया फाँडेर तरकारीखेती अभियान शुरु भएको छ । गाउँपालिकाका सबै वडामा गरी २०० रोपनीभन्दा बढी बाँझो जग्गामा तरकारी, फलफूल र खाद्यान्न बाली लगाइएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

त्यस्तै अन्नपूर्ण गाउँपालिकामा पनि युवा कृषि कर्ममा लागेका छन् । गाउँमा यतिबेला खेतबारीको कामको मौसम शुरु भएको छ । धानको व्याड बनाउने, बीउ राख्ने बाँझो जोत्ने लगायतको काममा युवा खटिरहेको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता एवं वडा नं ६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो ।

“विगतमा कृषि कर्मका लागि जनशक्तिको अभाव हुने गर्दथ्यो, अहिले युवा नै खेतीपातीको काममा लागेपछि निकै सहज भएको छ”, उहाँले भन्नुभयो ।  बेनी नगरपालिकाका १० वटै वडामा बाँझो रहेका खेतीयोग्य जमिनको पहिचान गरी त्यो जमिनमा सामूहिक वा एकल खेती गर्ने अभियान शुरु गरिएको छ ।

बेनी नगरपालिका– २ बगरफाँटमा पहिले बाँझो रहेका जग्गामा अहिले धमाधम केराखेती गरिएको छ भने वडा नं ३ तोराखेतमा खोरिया फँडानी गरिँदै छ । त्यसैगरी कृषिका लागि उर्वर मानिएको वडा नं ४ सिङ्गामा पनि एक टुक्रा जमिन बाँझो नराख्ने अभियान सञ्चालन भइरहेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस