२४ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अनि जितबहादुरलाई अकबरे खुर्सानी टर्रो लाग्यो. . .

२ मंसिर २०७८, बिहीबार १३:५७

अश्विन दानी | मङ्सिर १, गोरखा | सेतै फुलेका कपाल, चाउरी पर्न सुरसार गरिसकेका गाला । कपाल सेतै फुले पनि गालामा मुजा पर्न थालिसके पनि उनको शरीरले भने आराम पाएका छैनन् । उनी अर्थात गोरखा गाउँपालिका-४ फुजेलका ५४ वर्षीय जितबहादुर भट्ट । 

उनी अचेल बिहान उज्यालो भएदेखि साँझैसम्म खुर्सानी बारी मै हुन्छन् । व्यवसायीक रुपमा खुर्सानी खेती गरेका उनले सोचेजति आम्दानी गर्न नसकेपछि निराश बनेका छन् । तर पनि लगानी निकै भइसकेकाले उनी विकल्प बारे सोच्न पनि सक्दैनन् ।  भट्ट भुतपूर्व सैनिक हुन् । २०५६ सालमा नेपाली सेनाबाट निवृत्त भएपछि उनको बसोबास गोरखा नगरपालिका- १३ देउराली रामशाह टोलमा भयो । 

सेनाबाट निवृत्त भएपछि उनलाई सामाजिक काममा लाग्न मन लाग्यो । रामशाह टोल सुधार समितिको दुई कार्यकाल अध्यक्ष पनि भए । गोरखाकै मझुवामा रहेको गोरखकाली रबर उद्योग बचाउ समितिमा ६ वर्षसम्म संयोजक भएर स्थानीयको प्रतिनिधित्व गरे । रिर्टायर जीवनपछि सामाजिक काममा सक्रिय रहेका भट्टले व्यपार पनि सँगसँगै गर्दै थिए । ‘डेरीको व्यबसाय थियो । २०७२ सालको भूकम्प र त्यसपछिको नाकाबन्दीले व्यपार खस्कियो । केही लगानी डुब्यो’, उनी भन्छन् । 

भूकम्प र नाकाबन्दीले व्यापारबाट पनि घाटा व्यहोरेका उनले त्यसपछि कृषक बन्ने सोच बनाए । अनि २०७४ सालमा पैतृक थलो फुजेल फर्किए । व्यापारबाट असफल भएका भट्टले सुरुमा बाख्रा पाले । ‘म गाउँ फर्किएपछि कालिका कृषक समूहले संचालन गरेको बाख्रा फार्म  किनेँ । त्यो पहिले व्यवस्थित रुपमा चल्न सकेको थिएन’, उनले भने । 

बाख्रापालनमा पनि करिब १४ लाख लगानी गरिसकेको उनी सुनाउँछन् । २२ वटा बाख्राबाट व्यवसाय थालेका उनको व्यवसाय फस्टाउँदै थियो । तर, एकै पटक ५३ वटा बाख्रा मर्यो ।  ‘बाख्रा पाल्न थालेको बर्षदिन नहुँदै एकै पटक ५३ वटा बाख्रा मरेपछि ठूलो आर्थिक क्षति व्यहोर्नु पर्यो, ’ उनी सुनाउँछन् । 

बाख्रापालनमा पनि सोचे जस्तो नभएपछि उनले फेरि सोच बदले । व्यवसायीक खुर्सानी खेती सुरु गरे । अहिले उनले एक सय १७ रोपनी जग्गामा खुर्सानी खेती गरिरहेका छन् । आफ्नो पैतृक १६ रोपनी र भाडामा लिएको एक सय एक रोपनी जग्गामा उनको अकबरे खुर्सानी खेती छ । उनी भन्छन्, ‘अकबरे खुर्सानी खेतीको बारेमा धेरै अध्ययन गरेको छु । मेरो जानकारीमा भएसम्म नेपाल कै सबैभन्दा ठूलो अकबरे खुर्सानी खेती यही हो ।’ 

अनि, जीतबहादुरले अकबरे खुर्सानीबाट टर्रो स्वाद पाए . . .

व्यापार र बाख्रापालनबाट घाटा व्यहोरेका उनले खुर्सानी खेती सुरु गर्ने बेला सोच्थे, खुर्सानीको बजार राम्रो छ । व्यवसायीक खुर्सानी खेती गरेपछि पहिले व्यहोरेको घाटाको ऋण तिरौँला । 

पिरो अकबरे खुर्सानीबाट मनग्य आम्दानीको गुलियो स्वाद लिने आशामा उनले एकै पटक एक सय १७ रोपनी जग्गामा ७५ हजार बिरुवा लगाए । २०७६ सालदेखि खुर्सानी खेती गर्ने चाँजोपाँजो मिलाएका उनले गत भदौबाट मात्रै उत्पादन सुरू गरे । तर, पिरो खुर्सानी बेचेर गुलियो आम्दानी लिने आशा गरेका उनले टर्रो स्वाद पाए । अर्थात् सोचे जति आम्दानी गर्न सकेनन् । ‘बेमौसमी वर्षातले धेरै ठूलो नोक्सानी भयो । ७५ हजार बिरुवा लगाउँदा २५ हजारभन्दा बढी पानीले खत्तम बनायो । यो बेलासम्म ३० लाख रुपैयाँको खुर्सानी बेच्ने लक्ष्य थियो तर जम्मा एक लाख ५० हजारको मात्रै बेचेँ, ’ उनी मौसमका कारण घाटा व्यहोरेको भन्दै दुखेसो पोख्छन् । 

भट्ट आफू ऋणमा डुबे पनि उनले अहिले दैनिक १० जनासम्मलाई रोजगारी दिएका छन् । उनकोमा काम गर्न स्थानीय महिलाहरू दैनिक आउने गर्छन् । उनीहरूले दैनिक ६ सय रुपैयाँ पाउने भट्टले बताए । तर, सोचे जस्तो उत्पादन लिन नसक्दा ५१ लाख रुपैँया ऋण लागेको उनले बताए । 


भन्छन्- सरकारको साथ पाए हरेश खान्नँ 

एक पटक रोपेको खुर्सानीको बोटले तीन वर्षसम्म उत्पादन दिने गर्छ । एक बर्षमा दुईदेखि चार पटकसम्म टिप्न मिल्छ । अहिलेसम्म उनले पाँच क्विटल मात्र खुर्सानी बिक्री गरेका छन् । बजारको भने समस्या छैन् । अहिले दुई सय २५ रुपैयाँ प्रतिकिलोमा बिक्री हुन्छ । ‘वर्षातले बोट सखाप बनाएर यो सिजनमा उत्पादन भएन त्यसैले सधैँ यस्तै हुन्छ कि भन्ने डर भने लाग्छ,’ उनले भने । 

उनको मनमा लगानी डुब्ने थोरै डर भए पनि सँगसँगै अहिलेसम्म डुबेका सबै लगानी उठाउने आशा पनि छ । उनले यस क्षेत्रलाई खुर्सानीको पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना पनि बनाइरहेका छन् । भन्छन्, ‘अहिलेसम्म मैले कही कतैबाट अनुदान, सहयोग लिएको छैन् । अब सरकारबाट केही सहयोग पाएँ भने यसलाई खुर्सानीको पकेट क्षेत्र बनाउँछु ।’ 

खुर्सानी खेतीमा अनुदान पाउने आशामा वडा, पालिका, प्रदेश सरकार, ज्ञान केन्द्र, संघीय सरकारसम्म पुगिसके । तर, बाँझोबारी जोत्न दुई वर्षअघि कृषि ज्ञान केन्द्रले दिएको ८५ हजार बाहेक कुनै अनुदान पाएका छैनन् । सबै ऋण लिएर काम गरेपछि सोचेजस्ते उत्पादन नहुँदा समस्या परेको उनी बताउँछन् । सरकारले व्यवसायीक कृषि गर्नेलाई अनुदान दिने, मोडल फार्म घोषणा गर्ने, पुरस्कार दिने गर्छ । तर, सरकारले दिने गरेको सहुलियत भने सत्ता र शक्तिको आसेपासेले दुरुपयोग गर्दा वास्तविक किसानले नपाउने उनको गूनासो छ । ‘अहिले व्यवसाय सुरू गर्दा लागेको ऋण तिर्न सक्ने अवस्था छैन् । वडादेखि केन्द्र सरकारसम्म धाउँदा धाउँदा थाकिसकेँ । तर, अझै कतैबाट सहयोग पाईन्छ कि भन्ने आश छ,’ उनी भन्छन् । 

अत्याधिक पिरो हुने हुँदा बजारमा अकबरे खुर्सानीको माग बढी छ ।  त्यसैले सरकारी निकायबाट सहयोग पाए यस व्यवसायलाई पकेट क्षेत्रको रुपमा विकास गरेर अघि बढ्ने उनको लक्ष्य छ । भन्छन्, ‘सरकारी निकायबाट पनि साथ सहयोग मिल्यो भने हरेस खान्नँ । खुर्सानीलाई यस क्षेत्रको पहिचान बनाउने गरी काम गर्छु ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकार रजकका परिवारलाई भेटेर देउवाले दोषीलाई सरकारले छाड्दैन भने नेपाली सेनाले चैत २८ गतेदेखि ‘गोरखा जितगढी एकीकरण पदयात्रा’ शुरु गर्दै १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ देशका विभिन्न स्थानबाट लागूऔषध सहित २० जना पक्राउ चैत्र १५ गतेको घटनाका दोषीलाई सरकारले कारबाही गर्नुपर्छ : माधव नेपाल कुलमानको पुनर्बहालीको माग गर्दै माइतीघरमा प्रदर्शन भक्तपुरमा बन्दै छ बिस्केट जात्राका लागि रथ शिक्षक पछि चिकित्सक पनि उत्रिए सडकमा काँग्रेसको कार्यक्रममा भारतीय पाहुना शिक्षकहरुको शान्तिपूर्ण आन्दोलन जारी सात समूहलाई सगरमाथा आरोहणको अनुमति सानिमा बैंकले ग्राहकहरूले भारतको एपोलो अस्पतालमा विशेष छुट पाउने नेपाल शिक्षक महासंघले शैक्षिक हड्ताल भोलिदेखि गर्ने देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवर्द्धनमा तीन तहकै सरकरले ध्यान दिनुपर्छः रामचन्द्र पौडेल यु–१९ पुरुष विश्वकप एसिया छनोट : नेपालले टस हार्यो रामनवमी पर्वका अवसरमा आज देशभरका राम मन्दिरमा भक्तजनको भीड आइतबार सुन तोलामा १ हजार ९ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ? नारायणगढ–बुटवल सडक : दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने आजदेखि रास्वपाको जनयात्रा सुरु थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री