बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर

Posted on: 23 Apr, 2024

बैशाख ११, बागलुङ । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण आगलागी भयो । सो आगलागी गाउँले र प्रहरीको सक्रियतामा दुईपछि नियन्त्रणमा आयो । त्यसभन्दा अगाडि जिल्लाको कुनै पनि वनमा आगलागी भएको थिएन । 

त्यसयता गलकोट नगरपालिकाका एक दर्जन वनमा आगो सल्कियो । एक सातापछि उक्त आगो नियन्त्रणमा आयो । त्यसलगत्तै ताराखोला, ढोरपाटन र निसीखोला गाउँपालिकाको दुई दर्जन बढी वनमा आगलागी भइसकेको छ । दिनप्रति दिन आगलागी हुँदै गएपछि थुप्रै वन जङ्गल रित्तिएका छन् । आगलागीले वन्यजन्तु तितरवितर बनेका छन् । 

आगलागीका कारण हालसम्म मानवीय क्षति भने भएको छैन । करिब एक दर्जन गोठ र पशुचौपाया जलेको डिभिजन वन कार्यालय बागलुङले जनाएको छ । फागुनदेखि हालसम्म ३८ वटा सामुदायिक वनमा आगलागी भएको डिभिजन वन कार्यालय बागलुङकी सूचना अधिकारी लक्ष्मी केसीको भनाइ छ | 

उनका अनुसार निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा लागेको आगो अहिले पनि नियन्त्रण बाहिर छ । आगो नियन्त्रणका लागि कर्मचारीसहित स्थानीय खटिएको उनको भनाइ छ । अहिले १५ वटा सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर रहेको छ  । हालसम्म एक हजार दुई सय हेक्टरभन्दा बढी जङ्गलमा आगलागी भएको उनको भनाइ छ । 

चार दिनदेखि निसीखोला गाउँपालिका–२ मा लागेको आगो अहिले नियन्त्रणमा लिन सकिएको छैन । उपल्लोबेङ्ग्रीदेखि सुरु भएको आगो वडा नं ४ को माझापाख हुँदै बडाचौरको बराह सामुदायिक वनमा फैलिएको छ । हावाहुरीका कारण आगो अझै नियन्त्रणमा ल्याउन नसकेको निसीखोला गाउँपालिका–४ का अध्यक्ष टीकानिधी पौडेलले बताए । 

आगो नियन्त्रणका लागि गाउँले नै लागे पनि असफल भएको उनको भनाइ छ । वडा न २ को शान्ति सामुदायिक वनबाट सुरु भएको आगो धेरै ठूलो क्षेत्रफल फैलिएको अध्यक्ष पौडेलले बताए ।

आगो नियन्त्रणका लागि गाउँगाउँबाट ठूलो सङ्ख्यामा स्थानीय वनमा पुगे पनि हावाहुरीले गर्दा नियन्त्रण गर्न नसकेको स्थानीय रामबहादुर घर्तीले बताए । शुक्रबार साँझदेखिनै आफूहरु सुरक्षित भएर स्याउलाका भरमा आगो निभाउने प्रयास गरेको उनको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!