अनिल अधिकारी ।
२०७६ साल असोज ५ गतेका दिन गोंगबु स्थित म्याग्दीचोक निकट एक स्रोतले मेरो पानीपोखरी स्थित मेरो कार्यालयमै आएर मलाई जानकारी दियो 'जो पायो त्यसैलाई भुटानी सरणार्थीको रुपमा अमेरिका पठाउने गिरोह सक्रिय छ । गिरोहले प्रतिव्यक्ति पहिलो चरणमा १० लाख उठाउँदै छ ।'
तात्कालिन समयमा वैदेशिक रोजगारका धेरै बेथितिका विषयमा समाचार तथा अनुगमनको भिडियो समेत प्रशारण गर्दै आएको कारण स्रोत मकहाँ आईपुग्नु स्वभाविक थियो । स्रोतले अडियो रेकर्ड पनि दियो जसमा सोहि गिरोहले अमेरिका पठाईदिने भनि युवाहरुसँग गरेको कुराकानी सुनिन्थ्यो । प्राप्त प्रमाणकै आधारमा स्रोतले तोकेको व्यक्तिहरुलाई समाचारमा समेट्दा म आफै अपुष्ट समाचारको आधारमा अफ्ट्यारोमा पर्छु भन्ने सोचेर स्थलगत अनुगमनमा पुगें । मेरो उदेश्य स्रोतले दिएको जानकारी अनुसार वास्तविकता हो वा होइन भन्ने पत्ता लगाउनेमा केन्द्रित थियो ।
एक्लै थिएँ । दिनको ३ बजेको थियो । स्रोतकै जानकारी अनुसार, नयाँ बसपार्क निकट रहेको म्याग्दी चोकको एक स्थानिय होटलमा युवाहरुको बाक्लो आउजाउ र जमघट थियो । मिडियामा देखिरहेको व्यक्ति भन्ने कसैले चिन्छन भन्ने बुझेर सामान्य हुलिया बनाएर मुखमा माक्स र टाउकोमा क्याप टोपी लगाएर म ३/४ घण्टासम्म उक्त होटलमा बसें । अरुलाई संका नहोस् भन्ने बुझेर २/३ कल गर्दै फोन गरेझैं गर्दै बसें । ३ कप चिया र चामिन बनाउन लगाएर खाएँ । उक्त होटलमा उक्त दिन छिर्नेहरु मध्ये अधिकांस युवाहरु थिए । उनिहरुले अमेरिका जाने सम्बन्धमा बिभिन्न कुराकानी गरेको आधारमा स्रोतले दिएको सूचना सहि हो भन्ने प्रमाणित भईसकेको थियो ।
मेरो उदेश्य उक्त गिरोहको बारे केहि जानकारी पाइन्छ कि भन्ने थियो । तर एकै छिनको प्रयासमा त्यो कार्य सम्भव थिएन । त्यहाँ आएकाहरु ग्रुपमा साथी-साथी आउने-जाने गर्थे । कोहि डिलका कुरा गर्थे त कोहि ठगि हुन्छ कि भन्दै साथीभाईमा कुरा गर्थे । उक्त दिन अमेरिका पठाउने गिरोह युवाहरुसँग जोडिएका छन् भन्ने बाहेक प्रयाप्त आधार जुट्ने अवसर मिलेन । जो सकारात्मक कुरा गर्दै थिए उनिहरुलाई यस सम्बन्धमा सोध्न उपयुक्त थिएन । किन कि स्रोतले मलाई यस सम्बन्धमा पहिलेनै सचेत गराईसकेको थियो कि, उनिहरुको कुरा बाहिर जाँदा गोप्यता भंग हुने र आफूहरुको अमेरिका जाने सपना साकार नहुने अवस्था आउँछ भन्ने सिकाईएको थियो ।
युवाहरु बीच भएको कुराकानीको आधारमा उनिहरुलाई भुटानी शरणार्थीको रुपमा अमेरिका लैजाने प्रलोभनमा पारिएको स्पष्ट हुन सकिन्थ्यो । तर त्यो गिरोहमा को-को छन् भन्ने कुरा पत्ता लगाउन सम्भव थिएन । मैले ति मध्ये एकजना नक्कली सरणार्थीलाई पछ्याउने कोसिस गरें । उनले साथीहरुसँग अमेरिका जान तिर्नुपर्ने पहिलो चरणको १० लाख तिर्ने कि नतिर्ने भन्ने दोधार प्रकट गरिरहेका थिए । उनले आफू ठगिने पो हो कि भन्ने विषयमा बिभिन्न आशंका प्रकट गर्दै गरेको कुराकानी मैले सुनिरहेको थिएँ । मलाई आशा थियो कि उनैलाई पछ्याउँदा केहि जानकारी माग्न सक्षम हुने छु । बेलुका करिव ७ बजे ति युवा त्यो ग्रुपबाट एक्लै बसपार्कतर्फ निस्किए । म्याग्दी चोकबाट दक्षिणतर्फ शिवमन्दिर नजिकै पुगेपछि मैले उनलाई बोलाएँ । उनिसँग मैले चिया खाँदै केहि कुरा गरौँ भनेर सिधै प्रस्ताव राखेको थिएँ तर उनि अचम्मित भए । अचम्मित हुनु स्वभाविक पनि थियो । बसपार्कमा माइकमा जहिलै सुनिन्थ्यो 'आफूले नचिनेको मान्छेले दिएको खाने कुरा नखानुहोस् । ठगीमा पर्न सक्नुहुन्छ । यसो उसो…' सायद उनको मनले मलाई ठग मानिसकेको थियो ।
ति युवाले मेरो वास्तविक परिचय नपाएर ससंकित भएको भन्ने मैले ठानें र आफ्नो परिचय दिदै भनें- 'म पेशाले पत्रकार हुँ, तपाइँहरुलाई अमेरिका पठाइदिने भन्दै ठगि हुनसक्ने आशंकाले म तपाइँहरुलाई जोगाउने प्रयासमा छु । यसको लागि तपाईहरुले मलाई सबै सूचना दिनुपर्यो । भविष्यमा ठगीमा पर्नुभयो भने तपाइहरुलाई सहज हुन्छ ।' उनि मेरो प्रश्नले झनै तर्किए । अघिसम्म साथी-सर्कलमा अमेरिका जाने विषयमै कुरा गरिरहेका उनले 'मलाई अमेरिका जाने सम्बन्धमा केहि जानकारी छैन ।' भन्दै मबाट तर्किंदै आफ्नो बाटो लागे ।
तात्कालिन समयमा म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई मैले यस सम्बन्धमा जानकारी समेत गराएको थिएँ । उक्त दिन गिरोहलाई १० लाखका दरले बुझाउन गएकाहरु मध्ये अधिकाँश म्याग्दी जिल्लाका थिए, त्यसै कारण ढकाललाई फोन गरेको थिएँ । उनले यस सम्बन्धमा आफू जानकार नभएको भन्दै युवाहरुलाई सचेत गराएका थिए । मैले त्यसैको भोलिपल्ट यस सम्बन्धमा समाचार लेखेको थिएँ । अमेरिका पठाउने भन्दै गुपचुप रुपमा चर्को अशुली: एकै जिल्लाका सयौं युवाहरु ठगिन सक्ने आशंका ।
अहिले भुटानी शरणार्थी प्रकारणले देश तताईरहेको छ । सम्भवत: मलाई जवाफ दिन नचाहने तथा उक्त होटलमा १० लाख बुझाउने योजना सहित आएका नक्कली शरणार्थी अहिले अमेरिकामै छन् ।
मलाई लाग्छ, तात्कालिन समयमा भुटानी शरणार्थी प्रकरणमा माथिसम्म सेटिङ मिलाएर काम गराइएको कारण दलाल तथा युवाहरु ढुक्क थिए । त्यसै अनुसार तात्कालिन समयमा युवाहरुलाई निर्धक्क गराइएको थियो । तात्कालिन समयमा हामीलाई जानकारी हुँदा केहि जिल्लाका युवाहरुलाई शरणार्थीको रुपमा लैजाने योजना थियो । त्यसै अनुसार सर्कलमा पैसा उठाइएको थियो । कसको मार्फत उनिहरु गिरोहसँग जोडिएका थिए भन्ने विषयमा हामीलाई त्यतिखेर स्रोतले दिएको जानकारी अपुष्ट भएकै कारण हामीले उनिहरुको नाम समाचारमा उल्लेख गर्न असमर्थ रह्यौं । तर अब त्यस प्रकरणको खुलाशा क्रमश हुँदैछ ।
हामीलाई तात्कालिन समयमा प्राप्त अपुष्ट सूचनाको आधारमा यो गिरोहमा स्थानिय वडा अध्यक्ष देखि उच्च पदस्थ सहित धेरै दलालहरु जोडिएका छन् भन्ने जानकारी गराइएको थियो । तर एकिन को-को भन्ने प्रमाण थिएन ।
अन्तमा, यो प्रकरणको जरादेखि रुखसम्म पत्ता लगाउनको लागि जो नक्कली कागजातमा दलाल हुँदै मानव तस्करसम्मलाई पैसा खुवाएर शरणार्थीको रुपमा अमेरिका पुगेका छन् ति सबैलाई नेपाल फर्काउनु पर्छ । साथै उनिहरुलाई उक्त प्रकरणमा को-को संलग्न छन्, भन्ने कि जेल जाने ? भन्ने दुई बिकल्प दिनुपर्छ । त्यसरी बाध्यात्मक बिकल्प दिएर अनुसन्धान गर्न सकेमा मात्र सबै यस प्रकरणमा जोडिएकाहरु सबैलाई जेल कोच्न सम्भव छ । अनि मात्र यो प्रकरणको रुख-जरा ढल्छ ।