अन्जलीको अक्षेता बिवाह

Posted on: 25 Dec, 2016

अछुत कोपिला | राति ११ वजे ड्युटी सकियो । डेरामा गएर विश्राम गरिरहेको थिए । के गरौ नगरौ भई रहेको थियो । ढिलो भएर होला खान मन लागेन । अझ भनौ न ट्याम चुक्यो । खाटमा पल्टिए । बत्ति बलिरहेकै थियो । एक्कासी मेरा आँखा कोठाको भित्तामा टाँसिएको पत्रिकामा गए । त्यसमा लेखिएको थियो 'जुम्लामा बाल विवाह बढ्दै' यस्तै अरु पनि । आँखा तानेर हेर्न मन लाग्यो हेरे । जुम्लाको चौधविस क्षेत्रमा बाल विवाह बढ्दै गएको कुरालाई फोकस गरेको थियो । विवाहलाई धर्मसंग पनि जोडेर हेरिदै आदि  । मन छोयो दोहोर्याई तेहेर्याई पढें । समाजमा रहेको धार्मिक तथा अन्धविस्वासका कारण बालविवाह बढी हुने गरेको सार थियो समाचारमा ।

त्यसपछि आफ्नो विगतलाई नियाले एकछिन । एकछिन बालापन सम्झिन मन लाग्यो । सोचें मैलै पनि उहिल्यै विवाह गरेको भए  उमेर नपुगी बाल विवाह गर्नेको सूचीमा परिसकेको हुन्थे । सन्दर्भ २०६८ साल तिरको हो । जती बेला म १५ वर्षको मात्र थिए र कक्षा ९ मा पढ्थे । एक दिन एक्कासी बुवाले भन्नुभयो “छोरा बिहे गर । घरजम गर । अब भैगो त कति पढ्लास ? सबै घरबारे भैग्या ।” सायद त्यति बेला नै मैले मेरा बुवाको भनेको मानेको भए म पनि आज घरजम गरिसकेको हुँदो हुँ । मन-मनै हाँस्न मन लाग्छ कतै बच्चा बच्ची पो खेलाई रहेको पो हुन्थें की ?

त्यति बेला मेरो बाल हृदयले विवाह, माया–प्रेमको विषय अनुभव त के थाहा समेत पाएको थिएन । स्कूलमा औधी मिल्ने एउटा साथी थियो अनुस, हामी वीचमा प्राय सबै कुराहरु आदानप्रदान हुन्थे । मैले उसलाई घरमा बुवाले  भनेको कुरा भन्न खोजिरहेको थिए । सायद उ पनि केहि भन्न चाहन्थ्यो । त्यसैले सबै भन्दा पहिले एकान्त खोज्यौं । हामी विद्यालय  पछाडिको पिपलको रुखको मुनी बस्यौ । त्यहाँ कोहि थिएन । कोहि थिएन पनि के भनौ ? पिलको रुख, त्यहि रुखका हाँगाबाट जमिन सम्म आउन खोजिरहेको सुर्यको किरण, हावा आदि त थिए केरे । तैपनि मैले र उस्ले आफ्ना कुरा खोल्यौं ।

विवाहको कुराले भारी बनाएको मेरो मनलाई हलुंगो बनाएँ । अनुश आफ्ना कुरा खोल्दै थियो । ठिक  त्यहि बेला  सामाजिक विषयको चौथो घण्टी बज्यो । हामी कक्षा कोठामा पुग्यौं । हामी अलि ढिलो भएकोले होला सर पढाउन सुरु गरीरहनु भएको थियो । त्यो दिन सरले बाल बिवाह बारे पढाई रहनुभएको थियो । सानो उमेरमा बिवाह गर्न हुन्न भन्ने विषयमा केही सिकाएर सर जानुभयो । त्यो दिन हामीले धेरै कुरा गर्न पाएनौं । स्कूल सकियो घरतिर लाग्यौं ।

भोलीपल्ट अनुश र म त्यहि ठाउँमा गयौ । उस्ले मलाई १० कक्षामा पढ्ने अन्जलीले आफूलाई मन पराउने कुरा अवगत गरायो । अन्दाजी साढे ४ फिट अग्ली, गौ-गोरो वर्ण भएकी, मिजासिली, फरासिली, हँसिली, अनारका दाना जस्तै चट्ट मिलेका दाँत, मधुर स्वर भएकी, मिलेको जिउडाल, महेनत गरेको कोरीबाटी गर्ने अन्जली मेरो मनाश पटलमा फन्फनी घुमी एकछिन् । म तँ नाजवाफ भए । सोचे अनुस कथित तल्लो जातको दलित केटा । अनि अन्जली सामाजिक संरचनाको माथिल्लो जातकी केटी ।  अन्जलीले उस्लाई मन पराएको त्यो कुराले दैलेखको तोले गाविसका सेते दमाईको हत्या प्रकरण, चर्चित एसिड काण्ड, कालिकोटका जुविथा गाविस­४ का मनवीर सुनारको घटना लगायातका कुनै समयका बहुचर्चित भयानक  परिघटना सम्झिए मैले । मनभित्र एक खालको त्रासको आँधि चलिरहेको थियो । उनिहरुलाई प्रभाह थिएन म भने स्थिर थिइन । डर लागिरहेको थियो । तर उनीहरुलाई खास प्रवाह थिएन ।

अनुशले अन्जलीको प्रेमलाई अपनायो । विस्तारै उनीहरुको प्रेमको पालुवा पलाउन शुरु गरिरहेको थियो । दिन दुईगुना रात चौगुना मायाँ बड्यो । प्रेम एउटा यस्तो अनपेक्षित समाचार रहेछ जुन कहिल्यै लुकाएर लुक्दो रहेनछ । अनुस र अन्जलीको  सम्बन्ध बारे एक कान, दुईकान, मैदान हुँदै सबैतिर फैलियो ।

उनीहरुको प्रेमको कुरा अन्जलीको घरसम्म पनि पुग्यो । उसका आमा बुवाले थाहा पाए । त्यो दिनबाट उनीहरुको प्रेममा संघर्षका दिन शुरु भए । जुन दिन अन्जलीको घरमा कथित तल्लो जातको केटा अनुससँगको सम्बन्धका बारे थाहा भयो । त्यसपछिका दिनमा उनीहरुको प्रेम सम्बन्ध छुटाउन अनेक प्रकारका प्रयासहरु गरिए । त्यतिले नपुगरेर अनुसलाई जहाँ भेटायो त्यहि मानसिक यातना दिन थालियो ।

उता अन्जली पनि घरमा घृणाकी पात्र भई । गाली गलौज तथा अमानवीय व्यवहार र हरेक दिनको टोकाइ खान थाली । पछि अनुसका घर परिवारले पनि थाहा पाए । उनीहरुलाई पनि त्यो सम्बन्ध सामाजिक संरचनाका कारण मन परेन । त्यसैले पनि अनुसका घरकाले त्यो सम्बन्ध कायम राख्न चाहेनन् । सम्बन्ध तोड्न अनुसलाई निरन्तर दबाव दिए ।

एक दिनको घटना हो । त्यस दिन दशै परेको थियो । संयोगले म आफ्नो घरबाट टिका थाम्न भनेर मामाको घर जैतपुरमा गएको थिएँ । अन्जलीको मोवाईलबाट फोन आयो । मैले फोन उठाउदा उ रुन्चे स्वरमा बोली रहेकी थिई । मैले भने 'के भयो र सन्चो छैन तिमीलाई ।' उ रोइरहेको थिई । मात्र उस्को मुखबाट सुकसुक आवाज आइरहेको थियो । उ केही बोलेन म के भयो भनेर बारबार आग्रह गरिहेको थिएँ । उताबाट आवाज आएन । एकछिन पछि फोन कट्यो । मैले फोन डायल गर्दा सम्पर्क हुन सकेन । अनुसलाई फोन डायल गर्दा स्विच अफ थियो । मेरो मन झन् आत्तियो । हर्षित मन लिएर दशै मनाउन गएको मेरो मन निराशाको कालो बादलले ढपक्कै ढाकिदियो । म घरको दायाँपट्टीको पर्खालमा अढेस लागेर बसिरहेको थिएँ । फेरी अन्जलीको फोन आयो । मैले छिटोछिटो फोन उठाए । उ रुन्चे स्वरमा बोलीरहेकी थिई । आवाज कटेर आइरहेको थियो । म एम्बुलेन्समा............  अनुसलाई  अब मलाई कहिल्यै........... भन्नु है । पिलिज, पिलिज म बोल्न नपाउदै फोन कट्यो । अघि त मेरो मनमा कालो बादल मात्र मडारिएको थियो । अव भने ८ रेक्टर स्केलको भूकम्प नै गएको जस्तो भयो । नदिनाला, घर,मान्छे, सडक सबै एकनास देख्न थाले । मानौ आफ्नै अगाडी आफ्नै प्रियसीको लास चितामा दनदनी बलिरहेको छ । विस्तारै सम्मालिए म । अनुसको मोबाईल स्विच अफ मात्रै भन्छ । गाउँमा मान्छे विरामी भएको र तत्काल हस्पिटल लिनु पर्ने भयो भन्ने बाहना बनाएर म टिका नै नथापि घर फर्किएँ ।

अनुसको घर टाढा भएकाले हर कोशिस गर्दा पनि उसंग सम्पर्क हुनै सकेन । तत्काल उसलाई भेट्न जान सकिने अवस्था पनि थिएन । अन्जलीको फोनपनि अफ भैसकेको थियो । निर्विकल्पित भए । निराशाको कुनै सिमा थिएन ।

त्यो दिन केही गरी सम्पर्कको माध्यम बनेन । भोलीपल्ट हामीसंगै  पढ्ने अञ्जलीको गाउँकी देवालाई  फोन गरें । उस्ले अञ्जलीले विष सेवन गरेको कुरा गरी । मन झन् अत्तालियो । आफ्नै प्राण गएजस्तो भयो । मेरो कुरा गराईबाट उस्ले अनुमान गरी होली । पछि उस्ले नआत्तिन भनी उ ठिक हस्पिटल लगेको हो । हिजो दिनभरी अप्ठेरो भयो पछि विस्तारै ठिक हुन थालेपछि घरमा ल्याएको हो । अहिले घरमा आराम गरिरहेकी छ ।

पछि भेट्न जादा अञ्जली फरक भएकी थिई । चिन्नै नसकिने, काली, तानिएका आँखा, उदास अनुहार, जाँगर नलागेको अनुहार, बोल्दा कुनै प्रकारको उत्साह नदेखिने, केवल अरुका लागि बाँचेकी अञ्जली चिन्नै नसकिने भएकी थिई । घरकाले उस्को फोन जफत गरेछन् । निकै दया लागेर आयो भित्रभित्रै । छोटो  समय नै विरुप भएकी उ ।

धेरै समय भएको थियो अनुस र अञ्जली वीच सम्पर्क हुन नसकेको विस्तारै सम्पर्क सुत्र फिट भयो । उनीहरु वीच सम्पर्क बढ्न थाल्यो । फोन बाक्लिदै गयो । उनीहरु वीच भेटघाट पनि हुन थाल्यो । जती जती उनीको चोखो प्रेम घरले छुटाउन खेज्थे त्यति त्यति उनीहरुको प्रेम प्रगाढ हुँदै गएको थियो । त्यो प्रेमको शिलशिला चलीरहयो । निरन्तर ।

अञ्जली र म एसएलसीको तयारीका लागि भनेर  खलंगामा ट्युसन पढ्न आयौं । अञ्जली पनि कम्प्युटरको बेसिक कोर्स गर्न भनेर बजारमै बसेकी थिई । दुबै स्वतन्त्र भएका थिए । हप्ता जस्तो भेट हुन्थ्यो । माया प्रेमका कुरा हुन्थे । भावि जिन्दगीका कुरा हुन्थे उनीहरु वीच । कल्पनाको संसारमा ढुब्थे । एक अर्का विना बाच्न नसक्ने कुरा गर्थे । आखिर प्रेममा भन्दा बेसी कल्पना के पो हुन्छ र ?

दुवै जना बजारमा पढ्ने पढ्ने भएपनि पछि उनीहरुले भेट्ने समय अलि पातलो बनाए । हप्ताको एक दिन भेट हुन्थ्यो । अनुस एसएलसीको तयारीमा घनिभुत रुपमा लागेको थियो । मलाई पढाई नसा जस्तै थियो कतिले किताबी किरो सम्म भन्थे । भनौ न अनुस म जस्तै भएको थियो ।

समय बितेको पनि पत्तै भएन हाम्रो एसएलसी आउन ठिक  १५ दिन मात्र बाँकी थियो । अनुसले आफू दुई जना वीचको भेटका बारेमा मलाई भन्यो । अञ्जलीको स्वास्थ्य जाँच गर्न उ नेपालगंज जाने भइछ । भोली मात्र । थाहा छ उपचारका लागी घर नजिकैको खेत बेच्ने भएका छन् रे ? मैले सोधे के को उपचार हो र एक्कासी नेपालगंज जानु पर्ने । यहाँको डाक्टरले पथ्थरियाको शंका गरेको रहेछ । चेक जाँचको राम्रो उपकरण नभएकोले उता जानुपर्ने भएछ । छिट्टै जान भनेको छ रे डाक्टरले ।

राम्रोसंग पढ्नु भन्दै थिई । हप्ता दश दिन जति लाग्ला भन्दै थिई । मलाइ त न्यार्सो लागि राछ । उ अली निराश भावमा बोलीरहेको थियो । अञ्जलीको बारेमा खुब पिर गरिरहेको थियो । कतिवेला शंका कतै मेरी अन्जलीलाई..........। मैले भने  'पागल बौलाईस उसको प्रेममा । यस्तो बेलामा पनि उल्टो कुरा सोच्ने हो त ? कामना पो गर्ने हो त स्वास्थ्य लाभको ।'

भोली पल्टको कुरा हो । हामी बिहान साढे पाँच बजे तिर ट्युटन जाने गर्थ्यौं । त्यसैले बिहानै उठेर अनुसलाई फोन गरें । उसले आफूलाई सन्चो नभएको कुराँ गर्यो । म एक्लै पढ्न गएँ ।

ट्युसन कलास सकिएपछि म सिदै उसको कोठामा गएँ । उ सुतिरहेको थियो । मैले के भयो सोध्दा सबै वृतान्त सुनायो । म केही नबोली उस्को मोबाईल समाते म्यासेज बक्समा हेरे । पहिला कहिले काँही उनीहरु वीच झगडा हुँदा उनीहरुको सम्वाद म्यासेजमा हुन्थ्यो । ईनबक्समा अञ्जलीको नम्बरबाट आएको म्यासेज थियो । त्यसमा लेखिएको थियो “म अहिले पिपलगाउँमा छु, वजै मर्नु भएकाले खवर गर्न पाईन, मेरो विवाह भईसक्यो ।” दोहोर्याई तेहेराई पढें । तीन-चार पटक पढें विस्वासै लागिरहेको थिएन । मैले अञ्जलीलको नम्बरमा फोन गरें केटाले उठायो । सोधपुछ गर्दा श्रीमतीको नम्बर हो । किन घरीघरी फोन गरेको । उल्टो थर्काएपछि फोन राखिदिएँ ।

उपचारका लागि भनेर आफ्नो प्रेमिसँग सल्लाह गरेर गएकी आफ्नी प्रेमिकाको बिवाह भएको खबर पायो अनुसले । ठिक दुई दिन अघिको मात्र कुरा हो । त्यसको दुई दिनपछि पाएको बिवाह सन्देशले गम्भीर प्रश्न पनि खडा गरिदियो । भेटमा आफ्नो मायाँ, शरीर, यौवन आफ्नो प्रेमीको लागि भनेर गएकी केटीको अप्रत्यासित खवरले अनुस भक्कानिएको थियो । उसको मनमा भुईचालो गएको थियो ।

परीक्षा नजिकिदै गर्दा भोग्नु परेको अनपेक्षित खबरले अनुस पागलै भएको थियो । हामी सबै साथीहरुले उस्लाई समाल्न निकै प्रयास गरेका थियौं । सबै साथीहरुको प्रेरणाले उ विस्तारै सम्हालिएको थियो । परीक्षाको लागि भनेर तयारी गर्न लाग्यो । अनुसले सोच्यो होला आफूले धोका पाएँ । हामीले भन्यौ अभागी रैछ विचारी अञ्जली अनुस जस्तो मायाँ गर्ने केटा गुमाई । उ विस्तारै सम्हालीए पनि पूर्ण रुपमा परीक्षामा ध्यान लगाउन सकेको थिएन । हाम्रो सहानुभुतिले हाम्रा लागि भएपनि थोरै मुस्कुराइ दिन्थ्यो । परिस्थिति केही हदसम्म सामान्य भयो । अनुसले एसएलसी परीक्षा दियो । अञ्जलीले घरजम गरी ।

समय वित्दै जाँदा अञ्जलीको बिवाहको बारेमा अनौठा कुरा सुनिन लागे । उस्को बिवाह अहिलेको समयमा पनि भिन्नै तरिकाले भएछ । अलिकति भौतिकवादी जस्ती देखिन्थी । किनकी उ कम्युनिष्ट पार्टी समर्थित विद्यार्थी संगठनमा काम गर्थी । तर उसैको बिवाह भने पुराका पुरा धार्मिक तरिकाले भएको रहेछ । त्यो पनि परम्परागत धामीको जाल साँझीबाट । मैले चिनेसम्म उस्को लोग्नेपनि केहि हदसम्म भौतिकवादी नै थियो । सक्कली होस या नक्कली लोग्ने पनि कम्युनिष्ट पार्टी कै विद्यार्थी संगठनको नेता थियो । जे होस भौतिकवादीले अपानाएको नक्कली नराखाले भने अचम्मित भएका थियौं हामी ।

अञ्जलीको बिवाहको प्रसंग भने रमाइलो लाग्यो । अञ्जलीको लोग्नेले अञ्जलीलाई फकाउन भनेर आफ्नी साथी अम्बिकालाई लमी लगाएको रहेछ । अम्बिका अञ्जली संगै पढेकी साथी हो । अम्बिकाले अनेक उपाय लगाइछ, फकाइछ । अक्बिका भने फकाउन सिपालु देखिई उस्ले धामीले मन्त्र जपेको अक्षेता ल्याएर अञ्जलीलाई खुवाइछ – (अक्षेता भनेको देउताका धामीले मन्त्र जपेर दिएको चामल हो) । यो कुरा अञ्जलीले थाहा पाएकी रहेनछ । साथीले दिएको चामल त हो भनेर खाइछ । पछि अञ्जलीले अटेरी गर्न थालेपछि कुरा खोलिछ । अलि धम्काइछ पनि र भनिछ हेर तैले धामीले दिएको अक्षेता खाइसकिस बिहे गरिनस भने तँ बौलाउछे यता उता आदि ।

अञ्जली टुनामुनामा फसिछ । अपरीपक्क उस्ले अम्बिकाको कुरामा विश्वास गरिछ । उस्को मनमा डरको मनोविज्ञानले राज गरेछ । त्यसपछि उपचारका लागि भनेर छुट्टिएकी अञ्जलीको बिवाहको अप्रत्यासित खबर पाएको हो अनुसले ।

यसरी पनि बाल बिवाह बढ्नुको एउटा कारण थपिएको छ अक्षेता विबाह ।


अछुत कोपिला 

०७३ पुस १० जुम्ला,

यस बिषयमा तपाइको प्रतिक्रिया...!