"समयसँगै समाजको संस्कारमा परिवर्तन आएको छ । परम्परागत मौलिकतालाई प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

"समयसँगै समाजको संस्कारमा परिवर्तन आएको छ । परम्परागत मौलिकतालाई प्"/>
२१ मंसिर २०८२, शनिबार
बर्दिया - BRD

प्रविधिसँगै गुमेको सिर्जनशीलता ..

१३ आश्विन २०७४, शुक्रबार ११:५५


"समयसँगै समाजको संस्कारमा परिवर्तन आएको छ । परम्परागत मौलिकतालाई प्रविधिले घोक्रेठ्याक लाएको छ । प्रविधिसँगै हाम्रा सिर्जनात्मकताहरु पनि गुम्दै गएका छन् । यो कुरा निकै गम्भीर र सोचनीय विषय बनेको छ । यसरी मौलिकता गुम्नु वा हाम्रा पुस्ताहरुमा सिर्जनशीलता गुम्नु भनेको असाध्यै डरलाग्दो अवस्था हो । "

  – प्रभात सुवेदी 

दुबैतिर हलोलाई उल्टो पारेर अनौलाई माथि फर्काएर गाडिएको रमाइलो दृश्य अनि अनौमा दुईतिर दुईओटा पेट्रोल म्याक्स (मैन्टोल) झुण्डाएर बालिन्थ्यो । ग्यासको भरमा बल्ने हुनाले बेलाबेलामा निकालेर भूँईमा राखी दम दिनु पर्ने अवस्था । बेलाबेलामा त्यसको जालीमा किरा ठोक्किएर प्वाल पर्ने समस्या । सिङ्गल वा डबल पर्दा लगाइएको गाउँका घरघरबाट उठाएर राखिएको खाटमा तयार गरिएको अग्लो होचो स्टेज । अनि एउटा लामो तारमा बाँधिएको स्ट्याण्डमा राखिएको डल्ले माईक अनि त्यसको टुईँ टुईँ आवाज । र, त्यसैमा फु फु गर्दै हेलो हेलो गर्दै कार्यक्रम हेर्नका लागि आमन्त्रण गरिएका गाउँका बुबाआमा, दाजुभाइ, दिदीबहिनी र अन्य भद्र भलाद्मीहरु ।

हो, यस्तै हुने गर्दथ्यो आजभन्दा दुई÷तीन दशक अगाडि चाडबाडका समयमा आयोजना गरिने साँस्कृतिक कार्यक्रमहरु गाउँघरमा । यति मात्रै हैन, उतिबेला भने कार्यक्रमको अभ्यास गर्नुपर्दा मादल, बाँसुरी र अन्य बाजाहरु लाईभ बजाइन्थ्यो र गाइन्थ्यो पनि । 

यसरी बजाउँदा हातै दुख्थ्यो र गाउँदा गाउँदा मुख र गाला नै दुख्थे । नाच्नेहरुका घुँडा र ढाड दुखेर कक्क्रक्कै परेपनि खुट्टैमा नेल परेर पर्ला रोधीमा ननाची छोड्दिन भन्दै नाच्दथे… कपीभरी गीतै गीत हुन्थे । रातरातभरी नै मट्टितेलको बत्ती बालेर अभ्यास गरिन्थ्यो, जसको मुस्लो नाकभित्रै पसेर नाकबाट भोलिपल्ट बिहान कालो कालो सिँगान निस्केर हैरान । यति मात्रै हैन, दिउसो फूर्सद नहुने भएकोले राती नै रिहर्सल गर्नका लागि घरबाट लुकिलुकि जानु पर्दथ्यो । राती १, २ बजेतिर घर आउँदा घरको ढोका लगाएर परिवारका सबै सदस्यहरु सुतिसकेको अवस्था हुन्थ्यो त्यसैले उठाउनु भन्दा बरु पिँढीमै कुक्रुक्किएर सुतेर बाँकी रात काटिन्थ्यो । ती दिनहरु संझिँदा पनि निकै मन भरिएर आउँछ आजभोलि । 

 अब जमाना त्यस्तो रहेन । अत्यन्तै सजावटका साथ टाँगिएको स्टेच । झकिझकाउ म्युजिकल बत्तीहरु, उसैमाथि अत्यन्तै आधुनिक त्रिकोणीक आवाज सहितका साउण्ड सिस्टमहरु अनि गीतहरु बजाउनका लगि ल्यापटप र त्यही ल्यापटपबाट घन्केका सङ्गीतहरुमा युवा युवतीहरुको आकर्षक नृत्य । 

पहिले पहिले केटाकेटी मिलेर नाच्ने चलन थिएन, भएपनि एकादुई नृत्यहरु हुने गर्दथे तर पनि सार्है सामान्य, कतै छोइयो भने पनि अचम्मे हुन्थ्यो । स्टेजमा पस्दा नमस्कार गर्दै बडो झुकेर र नृत्य सकिएपछि पनि निक्कै आदर गर्दै दर्शकहरुलाई नमस्कार गर्दै विदा भइन्थ्यो । तर, पछि विस्तारै युगल नृत्यले प्रवेश पाएको हो । त्यही नृत्यमा पनि गुन्यूचोली लाएर कोरीबाटी गरेर सजिएका चेलीहरु र दौरा सुरुवाल, टोपीमा ढलक्क ढल्किएका युवाहरु सँगसँगै मिलेर कम्मर हल्लाई हल्लाई नाच्ने गर्दथे । अनि गीतहरु पनि “यो नेपाली शीर उचाली ..” जस्ता हुन्थे । 

तर आजभोली समय यस्तो रहेन । अब भने साना साना बालबालिकाहरु पनि आफूलाई अत्याधुनिक शैलीमा प्रस्तुत गर्न थालिसकेका छन् । उनीहरुको प्रस्तुतीले अलग्गै जानकारी हुन्छ कि जमाना फेरिँदैछ वा फेरिइसकेको छ । अबका नृत्यहरुमा हार्दिकता भेटिँदैन । स्टेजमा पस्दा पनि पछाडिको भाग देखाएर अनि त्यही भाग मरक्क मरक्क मर्काएर दर्शकको हाुटिङसहित प्रवेश गर्ने प्रचलन छ । केही मौलिक गीतहरुमा बाहेक अन्य गीतहरुमा गरिने नृत्यका पोशाकहरु अब घुँडामा च्यात्तिएका पाइन्ट र छोरीचेलीहरुले पाइन्ट वा एक वित्ता वा सो भन्दा कम लम्बाइ भएका कट्टु लाएर नाच्न थालिसकेको अवस्था छ । यति मात्रै हैन पहिले पहिले घुँडा देखिनु राम्रो मानिदैनथ्यो तर आजभोलि भने घुँडा वा तीघ्रा नदेखाएर गरेको नृत्य नै नृत्य नमान्ने अवस्था पो भइसकेको छ । यो विकास हो वा समयको माग हो अथवा कला संस्कृतिमा आएको पश्चिमीकरण हो हामी आँफैले केलाउन सक्नु पर्दछ । 

पहिले पहिले नाटक तथा कमिक्सहरु गर्दा पनि निकै समस्याहरु हुने गर्दथे । अहिले जस्तो लाइटिङको सिस्टम नहुँदा पर्दा लगाइन्थ्यो र पर्दा पनि घरघरबाट तन्ना ल्याएर गाँसेर बनाइन्थ्यो र लामो बनाइन्थ्यो । खुर्र खुर्र पारेर डोरीले तान्न मिल्ने बनाइन्थ्यो र सिर्र सिर्र सिठ्ठी फुकेर त्यसकै इशारामा पर्दा खोल्ने र बन्द गर्ने गरिन्थ्यो । अनि संवाद बोल्नु पर्दा पनि एउटा मात्रै माइक्रोफोन पालैपालो लिएर बोल्दा एउटा दृश्य सकिन पनि एक घण्टा जस्तै लाग्दथ्यो । 

अब त्यस्तो परिस्थिति रहेन । पर्दाको काम भने लाइटले गर्ने जमाना आइसक्यो भने प्रत्येक कलाकारको हातहातमा कर्डलेस माइकको व्यवस्था भैसकेको अवस्था छ । अब उस्तै पर्दा स्टेजलाई नै माइक्रोफोनमय बनाउन सकिने समेत प्रविधी आइसकेको अवस्था छ । 

हिजोका दिनहरुमा भएका कार्यक्रमहरु मनस्पटलमा मात्रै रहेका छन् । यदाकदा रिलवाला क्यामेराले खिचिएका तस्वीरहरु कोही कसैसँग होलान् वा हुन सक्लान् । तर धेरै पछि मात्रै (पाल) भिडियो क्यामेराको चलन आयो । तर अहिले त्यस्तो रहेन । कुनै कार्यक्रम होस् दुनियाका हातहातमा मोबाईलका बत्ती कमसेकम पनि सय पचासका हाराहारीमा स्टेजतिर तेसारिएका हुन्छन् । अनि तीनै पलहरुलाई कैद गरेर सामाजिक सञ्जालहरुमा पोस्ट गर्दै आत्मसन्तुष्टि लिने लहर नै देखिएको अवस्था छ । 

त्यतिखेर कार्यक्रम गर्नका लागि पनि गाउँ गाउँबाट घरघर बाट पैसा उठाएर गरिन्थ्यो । पैसा पनि खासै लगानी पनि हुँदैनथ्यो । बढीमा दुई तीन हजार भए त कार्यक्रम गर्न सकिन्थ्यो । खर्च त्यही साउण्ड सिस्टम र ड्रेस किन्नका लगि अनि श्रृङ्गारिक सामग्रीहरुका लागि हुने गर्दथ्यो । तर आजभोलि भने विभिन्न खालका उत्पादनमूलक कम्पनी तथा व्यापारिक प्रतिष्ठानहरुले समेत प्रायोजन गर्ने प्रचलन बढ्दै गएको अवस्था छ । जसले समाजको आर्थिक समृद्धिको पहिचान दिलाएको छ ।  

समयसँगै समाजको संस्कारमा परिवर्तन आएको छ । परम्परागत मौलिकतालाई प्रविधिले घोक्रेठ्याक लाएको छ । प्रविधिसँगै हाम्रा सिर्जनात्मकताहरु पनि गुम्दै गएका छन् । यो कुरा निकै गम्भीर र सोचनीय विषय बनेको छ । यसरी मौलिकता गुम्नु वा हाम्रा पुस्ताहरुमा सिर्जनशीलता गुम्नु भनेको असाध्यै डरलाग्दो अवस्था हो । कोही कलाकारले आफ्नो प्रस्तुतीहरु राख्दा डिजेलाई आधार मानेर राख्दछ भने यसको सँगसँगै उसले आफ्नो सिर्जनशील शक्तिलाई गुमाइरेहको कुरालाइ पनि विर्सनु हुँदैन । 

तसर्थ आजका बाल प्रतिभाहरुलाई स्टेज सोहरुमा लैजाँदा वा उनीहरुले कुनै प्रतिभा प्रस्तुत गर्दछन् भने पनि तिनीहरुको सिर्जनशीलतामा आँच नआउने गरी प्रस्तुतीहरु राख्नका लागि प्रेरित गरिनु पर्दछ । अरुका सिर्जनाहरुमा रम्ने भन्दा पनि मौलिक सिर्जनाहरुमा विशेष ध्यान दिइ कलाकारिता प्रस्तुत गर्न सकियो भने साँच्चिकै मौलिक कला र संस्कृतिको संरक्षण एवम् संवद्र्धन गर्दैै आउने पुस्ताहरुमा पनि यस्ता महत्वपूर्ण संस्कार र संस्कृतिहरु हस्तान्तरण गर्दै जान सकिने थियो । 

हुनत केही स्टेज कार्यक्रमहरुमा भने मौलिक नृत्यहरु प्रस्तुत गरिने गरिएको छ । जस्तोकि मारुनी, झ्याउरे, सालैजो, टप्पा, सखिया आदि नृत्यहरुले नेपाली समाज र तत्सम्बन्धि संस्कृतिको जर्गेना गर्दै नयाँ पुस्ताहरुका लागि अझै हाम्रो रितीथितीका बारेमा जानकारी पाउने अवसर रहन्छ । हैन भने भोलिका दिनमा हाम्रा मौलिक कला र संस्कृतिहरु ईतिहासका पानामा मात्रै सिमित हुने अवस्था नआउनला भन्न सकिँदैन । 

अस्तु ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी