मनोज बोहोरा | ए ! दाई यहाँ कोठा खाली छ ? छ भने हाम्लाई एउटा चाहिएको थियो, भर्खरै हामी झापाबाट डिग्री पढ्न भनेर आको, यता कतै कोठा खाली छ भने यसो भन्दिनु न । दिन भरि कोठा खोज्यो कहीँपो खाली छ भनेर भन्दैनन् बा ! यतिका धेरै घरका टाउका मात्र देखिन्छन् कोठा पाउन चाहिँ किन यति गाह्रो हौ । किराना पसलका साहुजी मुसुमुसु हाँस्दै भन्छन्, हेर भाई यो काठमाण्डौँ हो, यहाँ झापाली भन्दा कहाँ पो त्यति सजिलै कोठा दिन्छन् हौँ । ठाउँ अनुसार त भाका मिलाएर पो बोल्नु पर्छ त हौँ । तिमीलाई साँच्ची कै कोठा चाहिएको हो भने तिमीले तिम्रो घर बिराटनगर भन, घर बिराटनगर भन्दैमा तिम्रो के जान्छ तर झापाली भन्दै हिड्यौ भने तिमीले कोठा अहँ भेट्न हम्मे हम्मे पर्छ ।
ति किराना पसले साहुजीका कुरा सुनेर म अकमक्क परे । म दिन भरिको कोठा खोज्दाको शारिरिक थकान र मानसिक पिडाबाट सार्है थाकेको थिएँ । साँझ पर्न लागेकाले मैले साहुजीलाई मेरो मोबाइल नम्बर छोडेर त्यहाँ (बानेश्बर) बाट सङखमुल हुँदै पाटन ढोकातिर लागें । बाटोमा एउटा घरमा झ्यालमा बत्ती बलेका थिए तर कोठाका झ्यालमा भने पर्दा थिएन् । सिसामा साईन पेनले ठूलो अक्षरमा (टुलेट) लेखिएको थियो । थाकेका मेरा मन र सम्पूर्ण शरीरमा एकाएका स्फूर्ति आए जस्तो भयो । त्यो खुसीको मिठास मैले मज्जाले चाखे । अनि त्यस घरतर्फ लागे ।
घरबेटी बालाई गेटसम्म बोलाएँ । घरबेटीबाले कोठा त खाली छ तर कति जना पो बस्ने हो नानीहरु, कहाँ हो घर ? भने । मनमा झस्का पसिगयो, अब के भन्ने भनेर झापाली भनु या नभन्नु । आखिरमा घर मेरो झापा भनेर मुखबाट फुत्किहाल्यो । त्यो सुनेर हो या किन हो घरबेटीबाले सिधै कोठा त हुदैन् भने । नदिने भए किन यत्रो प्रश्नहरु सोधेका होलान् जस्तो लाग्यो । मैले ति ललितपुरका घरबेटी बालाई सयौं बिन्तीभाउ गर्दा पनि आखिरमा मेरा बिन्तीभाउ सबै खेर गए । मनमा कोठा नभेटाएको पीरले अलिअलि रिस त मलाई नि उठेको थियो नि तर मैले कतिपनि नरिसाईकन मेरा सबै कोठा नभेटाएको पिडा सुनाएँ । बरु उल्टै बाबैलाई के भयो कुन्नि ? बाबै त तात्तिदै, त… झापालीलाई कसले दिन्छ र काठमाण्डौँमा डेरा ? बिबाद गर्नु उचित लागेन्, अघि किराना पसलेले भनेको झलझली सम्झीरहे अनि आफन्त बसेको कोठातर्फ लागें । आखिरमा फेरी एकपटक कोठा पाउने परिक्षामा म असफल भएँ, त्यो पनि झापाली भनेकै कारण ।
आफन्तको कोठा पुग्दा म पसिनाले खल-खली भएको थिएँ, जिउ चिलाएर नुहाउने मन थियो तर पानीको आफ्नै बिडम्बना थियो, त्यसैले केही नभनी म हातमुख धोएर खाना खान बसें । कोठामा फेरी एकपटक कोठा नपाउँदाको बेलिबिस्तार सुनाएँ । म बुझ्थे – मलाई जतिकै पींडा झल्किदै थियो मेरा आफन्तका आखाँ र अनुहारमा । म पनि आएको लगभग पन्ध्र दिनजति पुग्न आँटेको थियो । एउटै कोठामा ५ जना बस्नु पर्ने बाध्यता थियो । कहिलेकाही त गाउँबाट आएका पाहुनाले गर्दा सुत्न पनि ज्यादै समस्या पथ्र्यो । थाकेकोले म ओछयानमा पल्टिदै मैले नि यसो सोचें आखिरमा चाहिएको कोठा हो, बिराटनगर घर भन्दा कोठा पाईन्छ भने के भो ? भन्दिउँ न त । फेरी एक मनले सोचें हाम्रा झापाली पुर्खाले त्यस्तो के गरेछन् हौ, यो काठमाण्डौमा कि झापालीलाई कोठा पाउन यति कष्ट ? मेरो मनमा यो प्रश्नको उत्तरले मलाई धेरै बेर सोच्न बाध्य बनाईरह्यो । आखिरमा हामी पनि यो देशको एक जिम्मेबार, कर्तब्यनिष्ठ, राष्ट्रप्रति श्रद्धा आफ्नै नागरिक हौ । तर किन हाम्रो नियतमाथि नै यत्रो ठूलो बज्रपात बर्साईयो ? जब म काठमाण्डौँका गल्ली-गल्लीमा कोठा खोज्न हिंडे, कोठा नपाउनुको कारण सायद म झापाली हुनु नै थियो त ? यो कस्तो बिडम्बना ? यस्तै अनेक किसिमका विचारहरु अनियन्त्रित रुपमा एका-एक स्वखलित हुनथाले, म पनि ति बिचारसँगै मस्त बग्न पो थालेछु ।
अब कोठा नपाउनुको पींडा त छँदै थियो, अब झन झापाली भएर पो कोठा नपाएको रहेछु भन्ने पिडाले झनझन मन भत्भती पोल्न सुरु भयो । बाले फोन गरेर दिक्क पारिसकेका थिए, त्यत्रो तिघ्रे भएर पनि जाबो एउटा कोठा खोज्न नसक्ने तँ ? त्यत्रा बाक्ला घरै-घर छन्, तँ चाहिँ कहाँ जान्छस् हौ, कोठा खोज्न ? घरबाट पनि खाली त्यही एउटै प्रश्न, कोठा भेटीस् ? मलाई पनि यो कोठा भन्ने शब्द सुन्दा-सुन्दा अब त लुगाफाटा बोकेर झापा नै फर्किनु कि जसो पनि लाग्थ्यो । बरु तेलको खानी भेटिएला तर कोठा खोज्न सार्है कष्ट रहेछ यहाँ । आफन्तकहाँ पनि कतिदिन बस्नु ? लाजै मर्नु भईसकेको थियो । यहाँको महङगी त्यही हो, तेल भुटुन दाल-चामलको । अनि एउटा साँगुरो कोठामा सबै बस्नुपर्ने फेरी चिनजानको पाहुनाको चाप पनि त्यस्तै बाक्लो । आफैलाई अप्ठयारो लागिसकेको थियो । आखिरमा किन हामी झापालीलाई कोठा पाउन यति गाह्रो ? यो प्रश्नको उत्तर आजसम्म भेटाउन सकेको छैन् किनहोला ?