२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यायालय जनताका लागि हो, न्याय बचाउन विद्यार्थी संगठनले कदम चाल्नुपर्छ

२०७४, १९ चैत्र सोमबार ०८:२५

शुशील भट्ट/नेपालमा लामो समयदेखि राजनीतिक अस्थिरता निरन्तर रह्यो । समाजका कुनै पनि संरचनाप्रति जनताको विश्वास दह्रोसँग स्थापित हुन सकेन । अझै पनि अधिकांश नेपाली जनता सरकार, प्रशासन र प्रहरीसँग ढुक्क देखिँदैनन् । तैपनि, कुनै दुई नेपालीबीच विवाद वा असमझदारी पैदा भयो भने दुवैले अदालतबाट न्याय पाउने विश्वास राख्छन् । अहिले पनि न्याय र न्यायालयप्रति नेपालीको विश्वास हटिसकेको छैन । न्यायालयमा रहेका मुद्दाको स्थिति र अदातलबाट न्याय प्राप्त गरिन्छ भन्ने जनविश्वास अहिलेसम्म कायम रहनु सामान्य विषय होइन । तर, यतिवेला न्यायालयमाथिको यही विश्वास धुमिल बन्दै गइरहेको छ । खासगरी न्यायमूर्तिहरूकै चरित्र र व्यवहारमाथिको प्रश्नले न्यायको चीरहरण हुने खतरा बढ्दै छ ।

पछिल्ला दिनमा नेपाली न्यायालयमा घटित घटनाक्रम कानुनका विद्यार्थीका लागि धेरै कुरा सिक्ने अवसरका रूपमा रह्यो । न्यायालयमा देखिएको नैतिक विचलनदेखि एकअर्काप्रति आरोप–प्रत्यारोपको रोषलाई पनि विद्यार्थीले नजिकबाट नियाल्ने मौका पाए । कानुनका विद्यार्थीलाई त्यो एउटा मौका थियो, तर समग्र न्यायालयको हकमा कुरा गर्दा त्यो कालो दिनभन्दा केही थिएन । 

न्याय परिषद्का अध्यक्षसमेत रहेका प्रधानन्यायाधीशलाई सचिवको अध्यक्षतामा बसेको बैठकले पदच्यूत गर्ने निर्णय गर्नु आफैँमा अचम्मलाग्दो घटनाक्रम थियो ।

राजनीतिक स्वतन्त्रताका लागि लडेका विद्यार्थी निःसन्देह स्वतन्त्र प्रेस र स्वतन्त्र न्यायालयका पक्षपोषक हुन् । तर, यहाँनेर प्रधानन्यायाधीशको जन्ममितिबारेको विवादमा न त नेविसंघले बोल्ने हिम्मत गर्‍यो, न माउपार्टी कांग्रेसले नै आफ्नो धारणा सार्वजनिक गर्‍यो । सारा जगत् जानकार रहेको विषयमा नबोल्दा कांग्रेसको लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धता कमजोर त भएन ? यसको लेखाजोखा गर्नुपर्ने भएको छ ।

 लोकतन्त्रको पक्षमा सडकमा नारा लगाउँदा होस् वा जनतालाई न्याय दिलाउने सामाजिक आन्दोलनको अगुवाइ गर्दा होस्, नेपाली विद्यार्थीले सधैँ सत्यको पक्षमा आफूलाई उभ्याएका छन् । न्याय कानुनको व्याख्या वा न्यायाधीशको आदेशको मात्रै कार्यक्षेत्र हुन सक्दैन । यो त अनुभूतिको विषय पनि हो । स्वतन्त्र र प्रभावकारी न्याय संयन्त्र त्यतिवेला निर्माण हुन्छ, जब न्यायालयप्रति जनताको विश्वास बढ्छ । सर्वोच्च अदालतको नेतृत्वबारे उठेका तमाम प्रश्नले न्यायालयको गरिमा घटेको छ । जनतामा न्यायालयप्रतिको विश्वास गुम्ला भन्ने चिन्ता बढेको छ । यस्तो अवस्थामा नेपाली विद्यार्थीले यस विषयमा चासो दिन जरुरी छ ।

नेविसंघ स्वच्छ र गुणस्तरीय शैक्षिक वातावरण निर्माणका लागि क्रियाशील छ । हरेक नागरिकको शिक्षामा पहुँच पुर्‍याउने मात्रै होइन, स्वस्थ शैक्षिक प्रतिस्पर्धा गर्न पाउनुपर्छ भन्ने पनि नेविसंघको धारणा छ । यस्तो अवस्थामा मिहिनेत गरेर पढ्ने विद्यार्थी र नक्कली प्रमाणपत्र देखाएर अवसर खोज्ने विद्यार्थीबीच हामीले फरक छुट्याउनुपर्छ ।

प्रमाणपत्रमा भएको जन्ममिति विवादले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई राजीनामा गर्न बाध्य बनाइएको छ ।

 उनका शैक्षिक र चारित्रिक प्रमाणपत्रका सन्दर्भमा उठेका सवालको तत्काल न्यायिक छानबिन गराउन नेविसंघले दबाब दिन आवश्यक छ । नक्कली शैक्षिक प्रमाणपत्रधारी जोसुकैलाई कारबाही गराउन नेविसंघले अभियान थाल्न सक्नुपर्छ । आज हाम्रा शिक्षालय र विश्वविद्यालयबाट उत्पादित योग्य र सक्षम विद्यार्थीले अवसर नपाउने, तर नक्कली प्रमाणपत्रधारीले सबैतिर हालीमुहाली गर्ने अवस्था चिन्ताको विषय हो ।

न्यायालय जनताका लागि हो । कुनै व्यक्तिविशेषले आफ्नो अनुकूलमा न्यायालय सञ्चालन गर्‍यो भने न्याय मात्रै मर्दैन, देश नै मर्ने खतरा हुन्छ । तसर्थ, यो खतरा निम्तिनुअघि नै विद्यार्थी संगठनले कदम चाल्नुपर्ने देखिन्छ । देशको कानुन र स्थापित मूल्य–मान्यता नागरिकका लागि जसरी लागू हुन्छन्, न्यायमूर्तिका लागि पनि त्यसरी नै लागू हुनुपर्छ । कानुनी र संवैधानिक सर्वोच्चतालाई अक्षुण्ण राख्ने अभिभारा न्यायालयको हो । न्यायमूर्ति व्यक्ति मात्रै होइनन् सिंगो संस्था पनि हो । अझ, प्रधानन्यायाधीश त न्यायालयका धरोहरसमेत हुन् । तिनै धरोहरकोे विषयले न्यायपालिका बदनाम हुनु दुर्भाग्यपूर्ण स्थिति हो ।

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका समाजका तीन खम्बा हुन् । तर, संविधानको व्याख्याता भएकाले न्यायपालिका त्यसमा पनि सर्वोच्च अदालतको भूमिका अन्यको तुलनामा धेरै सन्तुलित र समन्वयकारी हुनुपर्छ । अदालत डुंगा चलाउने माझीजस्तो हुनुपर्छ । जसले यात्रीलाई गन्तव्यसम्म सुरक्षित पुर्‍याउँछ । तर, माझी नै डुंगा डुबाउने खेलमा लाग्यो भने यात्री कसको सहारामा जिउने ?

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सर्वोच्चले वेलावेलामा क्रान्तिकारी फैसला गरिदिएको छ । हाम्रो न्यायालय कतिसम्म हिम्मतिलो छ भने राजाले विघटन गरेको संसद् पुनस्र्थापना गरिदिन्छ । राजाको प्रत्यक्ष शासनकालमा दलका नेताप्रति प्रतिशोध साध्न बनेको शाही आयोग खारेज गर्ने निर्णय पनि सर्वोच्चले नै गरिदिएको हो । तर, अचेल सर्वोच्च व्यक्तिगत विवादले निरीह देखिन पुगेको छ । न्यायालयलाई नेतृत्व गर्ने व्यक्ति परिवर्तन हुन्छ तर न्यायालयको सान र मान परिवर्तन हुनु हुँदैन ।

 किनभने न्यायालयप्रतिको आस्था केवल एक व्यक्तिको लहड र सनकमा अनास्थामा परिवर्तित हुनु भनेको स्वतन्त्र न्यायपालिकाका लागि मात्रै अहितकर हुन्न सामाजिक मूल्य–मान्यता र जनहितविपरीतसमेत हुन जान्छ ।

न्यायपरिषद्का सचिवले प्रधानन्यायाधीशलाई पदमुक्त भएको पत्र दिन मिल्छ कि मिल्दैन भन्ने विषयमा दिग्गज भनिएका कानुनविद्कै झगडा हुन्छ । कानुनवेत्ताहरूको झगडा हेर्दा विद्यालयमा पढ्दा वादविवाद प्रतियोगितामा भाग लिएको झल्झली याद आउँछ । के न्यायालय वादविवाद प्रतियोगिता चलाउने आयोजक हो ? होइन भने कानुनविद् कहलिएकाहरू किन राजनीतिक दलका पिछलग्गुजस्ता देखिन्छन् त ? कानुनका विद्यार्थी यसको जवाफ चाहन्छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन