सुनिल कुँवर | पश्चिम नेपालको दुर्गम भेगमा अवस्थित बझाङ जिल्लाको एउटा स्थानीयतह हो, बुङ्गल नगरपालिका, पर्यटकीय र धार्मिक स्थलहरुले पवित्र पुण्य भूमिको रुपमा परिचित यहाँका आकर्षक गन्तव्यहरु पहिचान र बिगतको केन्द्रीकृत शासनप्रणालीको मातहतमा संचालन भएको परिप्रेक्ष्यमा यी आकर्षक भूमिहरु ओझेलमा परेको पक्कै पनि मह्सुश गर्न सकिन्छ |
राष्टिय राजनीतिमा नेत्तृत्व गर्ने राजनीतिज्ञहरुको गैरजिम्मेवारी पूर्ण व्यवहार र बेमतलबि चरित्रले गर्दा सम्भावनाले भरिपूर्ण भूमिहरु पछी परेका छन् | यहाँको श्रोत र साधनलाई मात्र सक्रियरुपमा परिचालन गर्न सकियो भने बुङ्गल नगरपालिकामा मात्र सिमित नभएर समग्र बझाङको कायापलट हुने अवस्य छ | बैदेशिक रोजगारीमा जाने युवालाई नगरपालिका भित्रै आन्तरिक श्रोत र साधनको परिचालन हुनेगरी विभिन्न व्यवसायीमा लाग्न प्रेरित् गर्नु बर्तमान नेत्तृत्वको सबैभन्दा ठूलो उपलब्धि हुने छ | हजारौं संख्यामा दिनानुदिन भारत र अन्य खाडी मुलुकहरुमा विदेशिने युवाहरुले आफ्नैं ठाउँमा रोजगारी पाउदा नगरको आन्तरिक राजस्वमा बृद्दिहुनगई समृद्दि नगरको परिकल्पना गर्न सकन्छ । सर्वप्रथम आजको आवस्यकता केहो त्यसलाई बुझ्नु जरुरी छ | सरकारी बिद्यालयमा भएको राजनीतिलाई अन्त्य गर्दै, विद्यालय शान्ति क्षेत्र भन्ने मूल मर्मलाई बुझ्न नसके सम्म शिक्षा क्षेत्रमा भएको विकृति अन्त्य गर्न सकिदैन | सरकारी बिद्यालयमा श्रोत र साधनको विकास गरी क्रमश स्थानीय भाषामा किताब प्रकाशन गराई बिद्यालयमा प्रयोगात्मक शिक्षाको अवधारणा ल्याउन सके शिक्षा क्षेत्रमा मौलाएको विकृति अन्त्यको आशा गर्न सकिन्छ | जसको कारण शिक्षा क्षेत्र र सरकारी बिद्यालयप्रति सकारात्मक भावना प्रकट हुन्छ | एसईई दिईसकेका प्राविधिक शिक्षा सिक्न चाहाने विद्यार्थीहरुलाई धनगढी र काठमाडौँ आउनु पर्ने बाध्यताको अन्त्य गर्न सरोकारवाला सम्पूर्णले पहल गर्नु जरुरी छ | एउटा विद्यार्थीले प्राविधिक तर्फका अठार महिने वा तिन बर्षिय बिषय पढ्नको लागि ठिक दोब्बर खर्च गर्नुपर्ने वाध्यता छ | विद्यालयको शुल्क कम र खान बस्नको लागि बढी खर्च हुने गर्दछ | जसको कारण हो एउटा प्राविधिक विद्यालय हुन् नसक्नु | आफ्नै ठाउँमा सिकेको सिप र व्यवसायको सहि सदुपयोग गर्नको लागि सोहि ठाउँमा प्राविधिक शिक्षाको लागि सबै राजनीतिक नेतृत्वले पहलगर्नु जरुरी छ | शिक्षक, अभिभावक र स्वयंम बिद्यार्थी अर्थात सरोकारवाला सबै पक्षले सरकारी बिद्यालयमा भएको लापरवाही र पढाउन भन्दा धेरै राजनीतिमा बेस्त हुने शिक्षकले पनि आफ्नो मर्यादा र नैतिकताको ख्याल राख्दै जवाफदेही र जिम्मेवार नबनुन्जेल सम्म बुङ्गलको बिकास हुने स्थिति छैन |
हामी परिकल्पना गरौँ , हिजोको सशस्त्र दन्द्धको कारण पुरै इतिहासमा एउटा पुस्तानै अन्धकारमा बस्नुपर्ने स्थिति आयो , त्यसकारण शिक्षाले मात्र व्यक्तिको ज्ञान र सिपको विकास गरी मानिसमा मानिस हुनुको भवना जगाउँन सक्छ | समाजमा अन्धकार र बलात्कार जस्ता कुप्रथा र कुरीतिलाई शिक्षाले मात्र चिर्न सक्छ | तथापि बुङ्गल नगरपालिकालाई समृद्द बनाउन प्राविधिक तथा अप्राविधिक शिक्षाको विकास गरेर युवालाई आफ्नै क्षेत्रमा कामगर्ने वातावरण बनाउन आवस्यक छ |
प्रशिद पर्यटकीय स्थलहरुको पहिचान गरि बाइसधारालाई पवित्र धार्मिक धामकारुपमा विकास गर्नु जरुरि छ | जसको माध्यम बाट नगरपालिकाको अर्थतन्त्रमा टेवा पुग्ने निश्चित छ | त्यस्तै खोल्लेक, बड्डी ज्यावन, धौल्काडालाई पनि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नसके समृद्द बुङ्गल बन्ने निश्चित छ | स्थानीय सरकार र प्रदेश सरकारको सम्वन्नयमा विभिन्न खनिज तत्वहरुको उत्खनन गरेर धेरै युवा जनशक्तिलाई रोजगारी उपलब्ध गराउन सकिन्छ त्यसतर्फ सरोकारवाला निकायको ध्यान जानु जरुरि छ | दहबगरमा रहेको फलाम खानि, धौलकाडामा रहेको पत्थर खानि, र हिमाली भेगमा पाइने यार्सा गुम्बा खट्कनेमा रहेको सल्ले घारी वनको सहि ढंगले परिचालन गर्न सके भविष्यमा एउटा देशकै नमुना नगर बन्न सफल हुने छ | सरकारी स्वामित्वमा रहेका वनजंगल र विभिन्न सामुदायिक जमिनको भूमाफियाले अधिकरण गरि आफ्नो बनाएको स्थिति छ, जस तर्फ स्थानीय निकायको ध्यान जानु आवस्यक छ | विभिन्न झारी तथा वनजंगललाई तिब्र रुपमा फडानी गरेको स्थिति बढो क्रममा छ, स्वच्छ र सफा वातावरण दिनानुदिन प्रदूषण भएको छ | तिब्ररुपमा भइरहेको वन विनाशलाई रोकेर हरियाली डाडाकाडा र सुन्दर पर्यावरण कायम राख्न सकिन्छ जसबाट अमूल्य जडीबुडी संकलन गरेर आर्थिक उपार्जन गर्न सकिने अवस्थाको सृजना हुन् जान्छ | त्यसकारण तत्काल वनजंगल फडानीलाई अनुगमन गरेर त्यस्ता क्रियाकलाप गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याउन सकेमात्र भविष्यका सन्ततिले स्वस्छ र निर्मल वातावरणको अनुभूति गर्न पाउने छन् | यदि यसतर्फ सरोकारवाला निकायको ध्यान जान सकेन र समयमा यस्ता समस्या रोक्न सकेन भने भविष्यका सन्ततिलाई ठूलो दुर्भाग्य हुन् जानेछ | हालसालै पनि त्यसका केहि परिणामहरु देखिन थालिसकेका छन् | दिनदिनै गर्मी बढी राखेको छ भने, साउनमा पानि नपर्ने, चैतमा चिसोहुने,कहिले बढीपानि पर्ने, कहिले खडेरी पर्ने, पहिरोको उच्च जोखिम जस्ता प्राकृतिक समस्याहरु देखिन थालेका छन् | यसको प्रमुख कारण हो जनसंख्या बढ्नु र अबैज्ञानिक बनजंगल फडानी गर्नु हो | फलसोरुप यसको एउटामात्र समस्याको समाधान हुन् सक्छ, वृक्षरोपण गर्नु र बन फडानी रोक्नु |
बिश्व ग्लोबलाइजेसनको अबधारणामा आजको समाज अघि बढी सकेको अवस्थामा हामी एकदमै दुर्गम र बिकट क्षेत्रमा अझै अध्यारोमा जीवन गुजारी राख्न बाध्य भएका छौं | एउटा बिरामीको उपचार नपाएर सिटामोल किन्न नसकेर अल्पायुमै ज्यान जान्छ,सामान्य स्वस्थे परिक्षणको लागि एक दुई दिनको यात्रा गरेर जानु पर्छ | यस्तो समस्या समाधानका लागि सम्पूर्ण सरोकारवाला निकायहरु प्रदेश सरकार ,स्थानीय सरकार र विभिन्न संघ सस्थाले यसको निकास खोज्नु जरुरि छ | र यहाँ जनताको आवस्यकता र नेतृत्वप्रतिको आशा पनि यहि नै हो | सम्भाव्य स्थानमा खेल मैदानको बिकासले राष्टिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादनमा महत्तपूर्ण योगदान पुग्ने छ | सानिगाड र कालंगा नदीमा तट बन्धनको ब्यबस्था गर्नसके पर्याप्तमात्रामा नदीले कटान गरेका फाटहरुमा आधुनिक र बैज्ञानिक कृषि गर्न सके, यहाँका जनताको जीवनस्तरमा परिवर्तन आउनेछ | खाद्यान्न आयात गर्नुपर्ने अवस्थाको अन्त्य निश्चित छ | जुन ठाउँमा जे उत्पादन हुन्छ सोहि बालीको खेति गर्न कृषकलाई प्रेरित गर्नु आबस्यक छ | नयां प्रविधिको बिकास गरेर युवाहरुलाई सामुहिक ब्यबसाय गर्न पहल गराई उत्पादित बस्तुहरुलाई निर्यात गर्ने जिम्मा स्थानीय सरकारले लियो भने युवाको यसतर्फ आकर्षण बढ्ने निश्चित छ | जसले गर्दा नगरको आर्थिक बिकासमा टेवापुग्नेछ | कालंगा जलविद्युत आयोजना, र विभिन्न श्रोत साधनले भरिपूर्ण शौन्दर्य पवित्र धार्मिक स्थलहरुको पर्यटकीय विकास गर्न सके, निश्चित नै बुङ्गल नगरपालिका विकासको बाटोमा अग्रसर बन्ने छ |