दामोदर रेग्मी । असोज २२, काठमाडौं ।
कर्मचारीतन्त्रको अवधारणा
म्याक्स वेवरले कर्मचारीतन्त्रको अवधारणा सरकारी काम कारवाही सम्पादन गर्ने इकाईको रुपमा कर्मचारीतन्त्रको महत्वपूर्ण भूमिका रहने विचार व्यक्त गरेका छन् । उनको यो अवधारणा म्याक्स वेवरको कर्मचारीतन्त्रीय अवधारणावाट परिचित छ । उनको अनुसार सरकारी काम कारवाहीहरु धेरै कर्मचारीहरुको समन्वयात्मक प्रयासवाट प्रक्रियागत रुपमा सम्पन्न हुने गर्दछन् । कर्मचारीतन्त्रीय प्रणालीका केही विशेषताहरु रहेका हुन्छन् जसमा कर्मचारीहरु पूर्णकालीन सेवाको लागि समर्पित भएका हुन्छन् र यसको लागि उनीहरुलाई जीवनवृत्तिको लागि पारिश्रमिक दिइने गरिन्छ र यस्तो पारिश्रमिक उनीहरुको पद वा कामको प्रकृतिमा आधारित हुन्छ । उनीहरुको पदावधि कानूनव्दारा निर्धारित भएको हुन्छ ।संगठन प्रति कर्मचारीको कुनै व्यक्तिगत स्वार्थ रहेको हुदैन । उनीहरुको छनौट उनीहरुको प्रतिस्पर्धात्मक क्षमताको आधारमा हुने गर्दछ । कर्मचारीतन्त्रको अर्को विशेषता भनेको पदसोपान हो । पद सोपानको श्रृंखलाले एकातर्फ सूचनाको प्रवाहलाई सरल र सहज वनाइदिन्छ भने अर्को तर्फ निर्देशन र नियन्त्रणलाई प्रभाकारी वनाउछ । यसै गरी कार्य विभाजनले कार्य विशिष्टता र जिम्मेवारी निर्वाहको पूर्णताको परिकल्पना गरेको हुन्छ ।कर्मचारीतन्त्रको अर्को राम्रो पक्ष भनेको कानूनमा आधारित कार्यप्रणाली हो यस मान्यता अनुसार कर्मचारीहरु आफ्नो दैनन्दिनी कार्यलाई विधिको आवरणव्दारा सुरक्षित वनाउन सक्दछन् । र यसरी सम्पादन गरिने कामहरु को अभिलेख भावी प्रयोगको लागि वा सन्दर्भको लागि सुरक्षित रुपमा संग्रह गर्ने गरिन्छ । कर्मचारीहरु सेवाग्राही संग व्यक्तिगत भावनात्मक सम्बन्ध भन्दा आफ्नो जिम्मेवारी प्रति लगनशील हुनु पर्ने र सवै प्रति सम भाव राख्ने हुनु पर्ने मान्यता कर्मचारीतन्त्रको अर्को असल पक्ष हो ।
कानूनमा आधारित कार्यप्रणालीले कर्मचारीहरु कानून को परिपालना गर्न बाध्य हुन्छन् भने यिनीहरुवाट सम्पादन हुने कार्य प्रक्रियामा एकरुपता कायम हुने गर्दछ । जिम्मेवारी र उत्तरदायित्वको प्राबधानले कार्य प्रणालीमा व्दिविधा वा विवादहरु आउन दिदैन । प्रतिस्पर्धात्मक छनौट प्रणालीले मानव श्रोतको क्षमताको अत्यधिक उपयोग हुन सक्ने अवस्थाको सिर्जना गरेको हुन्छ र श्रम विभाजनको सिध्दान्तले उनीहरुमा विज्ञता वढाउदै लगेको हुन्छ । कर्मचारीको अभाव वा कर्मचारीले सो काम छोडेमा निजको स्थान प्रतिस्थापन हुने परिपाटीले कार्य सम्पादनमा समस्या आउन दिदैन ।
कर्मचारीतन्त्रका राम्रा पक्ष रहदा रहदै यसमा केही नकारात्मक पक्ष पनि विद्यमान रहेका छन् । कर्मचारीतन्त्र वढी प्रक्रियामुखी हुने हुदा यसले प्रक्रियाको लामो श्रृंखला माग गर्दछ र कागजी प्रक्रियामा जोड दिने गर्दछ । कर्मचारी तलवजीवि भैदिनाले संगठन प्रति अपनत्व ग्रहण गरिदिदैनन् ।कानूनमा आधारित कार्य प्रणालीका कारणले कानूनका प्राबधानहरु बाहेक दायां बायां नगर्ने प्रबृत्तिले उनीहरुमा मानवीय संवेदना भन्दा मेशिन संवेदनाले काम गरेको हुन्छ । यिनीहरु परिवर्तनका संवाहक भन्दा पनि यथास्थितिमा रमाउने र परिवर्तनलाई सहज आत्मसात नगर्ने मात्र होइनकि परिवर्तनका विरोधी पनि हुन्छन् ।
यसरी कर्मचारीतन्त्र सरकारको एउटा स्थायी संरचना र जनता संगको सम्बन्ध सेतु हुदा हुदै पनि यसमा विद्यमान सकारात्मक चरित्र र नकारात्मक पक्षको सन्दर्भ नकारात्मक पक्षमा सुधार हुनु पर्ने, यो संयन्त्र अन्य सामयिक परिवर्तन संग संगै परिवर्तित हुदै जानु पर्ने र क्रमशः आधुनिक बन्दै जानु पर्ने आवश्यकता देखिन्छ । यसै पृष्ठभूमिमा कर्मचारीतन्त्र मा सामयिक सुधारहुदै गएका छन् र यो यो एउटा निश्चित गतिमा आधुनिक बन्दै गैरहेको पनि छ ।
१. सरकारको सेवा प्रवाहको एक महत्वपुर्ण र आवश्यकीय संयन्त्र भएकोले
सार्वजनिक प्रशासन सरकारको सेवा प्रवाहको एक महत्वपुर्ण र आवश्यकीय संयन्त्र हो सरकार र जनता विचको दरिलो र स्थायी सम्पर्क सुत्रको रूपमा रहेको सार्वजनिक प्रशासन सरकारको स्थायी संयन्त्र विषयगत विज्ञता, कार्यगत विशिष्टताले युक्त हुन्छ । समय, शिक्षा, प्रविधिको परिवर्तन संगै राजनितिक र शासकीय आयामहरु धेरै परिवर्तन हरू आउछन् र यी परिवर्तन हरूले स्वभावत सार्वजनिक प्रशासनमा पनि परिवर्तनका धेरै आयामहरू सिर्जना गर्दछन् । यस्ता परिवर्तित परिवेशहरुले सार्वजनिक प्रशासनको भूमिका अझै प्रभावकारी हुनुपर्ने विषयमा जोड दिने गर्दछ । सार्वजनिक प्रशासन राज्यद्वारा जनता समक्ष प्रतिवद्दता गरिएका उद्देश्यहरुको परिपुर्तिको लागि निरन्तर रूपमा दत्त चित्त, तयारी अवस्थामा रहनु पर्ने र सक्रिय रहनुपर्ने अंग हो । जसरी समयको परिवर्तन भएको छ तदनुरूप जनताको व्यक्तिगत तहमा आशा र अपेक्षा वृद्धि भएको हुन्छ र त्यो आशा र भरोसा सरकार तर्फ लक्षित रहेको हुन्छ अन्ततः सरकार तर्फ लक्षित जनताको आशा र अपेक्षा पुरा गर्नु पर्ने दायित्व सार्वजनिक प्रशासनमा सर्न पुग्दछ । त्यसैले शासकीय पक्षमा देखिने परिवर्तित परिवेशले सार्वजनिक प्रशासनको कार्यशैली, व्यवहार, प्रक्रिया, सेवा प्रवाहको सुनिश्चितिता र सेवाको गुणस्तर को प्रत्याभूति जस्ता क्षेत्रहरूमा पनि सकारात्मक परिवर्तनको अपेक्षा राखेको हुन्छ ।यस्ता आवश्यकताको परिपूर्ति गर्न सक्ने प्रशासन नै अहिलेको समयिक आवश्यकता हो ।
२. शासकीय सन्दर्भमा सरोकारवालाहरुको सम्वन्ध व्यवस्थापनका लागि
शासकीय सन्दर्भमा सरोकारवालाहरुको सम्वन्ध महत्वपूर्ण विषय मानिने गर्दछ । सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण भएको हुदा यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् । आवश्यकताहरुको सम्बोधनको आधारमा नै सरोकारवालाहरुको सम्बन्धको निर्धारण हुने गर्दछ । यस्ता आवश्यकताहरुको एकल वा सामूहिक प्रयत्नव्दारा समाधानको निमित्त गरिने प्रयास नै सार्वजनिक मामिलाहरुको व्यवस्थापन हो । सार्वजनिक आवश्यकताहरुको माग र आपूर्तिमा धेरै सरोकारवालाहरुको उपस्थिति र सहकार्यले एउटा अन्तरसम्बन्ध स्थापित गरेको हुन्छ र सवै सरोकारवालाहरुको सुमधुर सम्वन्धले सार्वजनिक मामिलाहरुको व्यवस्थापनलाई प्रभावकारी वनाइदिन्छ ।यो नै सार्वजनिक मामिलाको व्यवस्थापनको सुन्दर पक्ष हो । नागरिक समाज, सामुदायिक संस्थाहरु, निजी क्षेत्र, व्यापारिक र व्यवसायिक समुदाय सार्वजनिक मामिलाका सरोकारवालाहरु हुन् । सरकार आफैमा एउटा महत्वपूर्ण सरोकारवाला हो । यी सरोकारवालाहरु भिन्न भिन्न परिस्थितिमा भिन्न भिन्न भूमिकामा देखिने गर्दछन् । सार्वजनिक मामिलाहरुको व्यवस्थापनमा विभिन्न सरोकारवालाहरुको उपस्थिति रहने तथा यी सरोकारवालाहरुको भूमिका भिन्न भिन्न हुने र यी भूमिकाहरुको सकारात्मक अन्तर सम्बन्धले सार्वजनिक मामिलाको व्यवस्थापनलाई प्रभावकारी वनाइदिन्छ । यसर्थ सार्वजनिक मामिलाको व्यवस्थापनमा सरोकारवालाहरुको अन्तरसम्बन्ध महत्वपूर्ण विषय हो । यसर्थ सरोकारवालाहरु संग सहकार्य र समन्वय गर्न सक्ने तथा सार्वजनिक मामिलाको व्यवस्थापनमा प्रभावकारी भूमिका निवाृह गर्न सक्ने सार्वजनिक प्रशासन परिवर्तित शासकीय परिवेशको आवश्यकता हो ।
३. शासन प्रणालीमा जनताको सहभागिता र अपनत्व निर्माण गर्न
शासन प्रणालीमा प्रजातान्त्रिकीकरण वर्तमान समयको अपरिहार्य र आवश्यकीय पक्ष हो । लोकतन्त्रमा जनता नै राज्यको शासन व्यवस्थाको सर्वेसर्वा निर्णायक हुन्छन् । जनताले तिरको कर; राज्यको स्रोत साधनबाट भएको आर्जन र जनताको नाममा आएको सहयोग बाट तलब र सुिवधा पाउने जनप्रतिनिधि, कर्मचारी तथा सार्वजनिक निकायहरु सबै जनताप्रति जवाफदेही हुनुु पदर्छ । यो नै सच्चा लोकतन्त्रको मूल आदर्श पनि हो । प्रजातन्त्रको दिगोपना र यसको वास्तविक उपयोगको लागि पारदर्शी सरकारी संयन्त्र र सुसुचित नागरिक को उपस्थिति न्यूनतम आवश्यकता भित्र पर्दछ । सुसुचित नागरिकको उपस्थितिले सरकारी काम कारवाहीमा प्रभावकारिता ल्याउने, भ्रष्टाचार न्यूनीकरण हुने, जनउत्तरदायी सरकारको स्थापनाको मार्ग प्रशस्त भै सुशासनको अवधारणाले मूर्त रुप पाउने गर्दछ । पारदर्शिताको अभिवृध्दिले सरकार जनउत्तरदायी वन्न र प्रजातान्त्रिक विधिको परिपालनामा सहयोग पुग्ने मात्र होईनकि सर्वसाधारण जनताको तहमा समेत सवलीकरण हुन गई समग्र शासन प्रणालीमा जनताको सहभागिता र अपनत्व निर्माणमा समेत सहयोग पुग्न जान्छ । निष्पक्षता, तटस्थता, सदाचारिता, पारदर्शिता सार्वजनिक प्रशासनका मूलभूत न्यूनतम विशेषताहरु हुन् । यी विशेषताहरुको सक्षम उपस्थितिले नै सक्षम प्रशासनको कल्पना गर्न सकिन्छ र यी विशेषताहरुको न्यून उपस्थिति वा क्षयीकरणले प्रशासन मात्र होइन समग्र शासकीय संयन्त्र नै व्यापक आलोचनाको पात्र बन्न पुग्दछ , जसले प्रशासन शासकीय संरचना र सरकार (राज्य संयन्त्र) प्रति जनताको अपनत्वबोध समाप्त हुन जाने खतरा बढ्दछ । राज्य संयन्त्र प्रति जनताको अपनत्वबोध कायम गर्न जति सरकारी कर्मचारीहरुको सकारात्मक भूमिका त्यति नै मात्रामा सरकार प्रति जनमानसमा विश्वसनीययता वृध्दि भै जन अपनत्वयुक्त दिगो सरकार वन्न सक्दछ ।
४. विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र भएकोले
प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र हो। यसै कारणले सरकारी नीति निर्माण कार्यान्वयनमा प्रशासनिक संयन्त्रको महत्वपुर्ण भूमिका रहेको हुन्छ। प्रशासकीय सक्रियताको सन्दर्भलाई पनि यसै परिवर्तनमा हेर्न सकिन्छ। प्रशासन निर्वाचित सरकार (राजनीति) र सेवाग्राही (जनता) वीचको सम्बन्ध सेतु हो। यसर्थ प्रशासनिक संयन्त्र जति प्रभावकारी हुन्छ त्यत्तिनै सरकार त जनतावीचको सम्बन्ध असल हुने गर्दछ र यहि असल सम्बन्धलेनै सरकारको दिगोपना को सुनिश्चितता गर्ने गर्दछ। यसै कारणले नै कुनै पनि देशको सरकार त्यहाको प्रशासन यन्त्रको राम्रो हुन सक्दैन भन्ने गरिएको हो। प्रशासन यन्त्रको सकारात्मक पूर्व सक्रियता ( प्रो एक्टिभनेस) ले एकातर्फ राजनीतिज्ञले आफुले परिकल्पना गरेको दीर्घकालीन सोचलाई नीतिनियम र प्रक्रियाका आवद्ध गराएर जनताले अनुभूति गर्ने गरी कार्यान्वयन गर्न सक्छन भने कार्यान्वयनको क्रममा जन अपेक्षाको सम्बोधन भयो भएन र त्यसमा के कस्ता सुधारको आवश्यकता छ भन्ने कुराको पृष्ठ पोषण प्राप्त भै त्यसलाई आगामी दिनको कार्ययोजनामा परिमार्जन वा समाहित गर्न सकिन्छ। सकारात्मकता सहितको निष्पक्ष र सक्रिय प्रशासनिक संयन्त्र असल शासकीय प्रणालीको सम्वाहक हो ।
५. प्रजातन्त्रमा दक्षता सहितको तटस्थताको अपरिहार्यताको कारणले
नीति निर्माण राजनीतिक नेतृत्वको मूल कार्यक्षेत्र हो। तर राजनीतिक नेतृत्वसंग जनताका ईच्छा, आकांक्षा,चाहनाका सन्दर्भमा परिवर्तनको एउटा स्पष्ट लक्ष्य रहेको हुन्छ तर त्यो ईच्छा, आकांक्षा,चाहनालाई कानूनी र प्रशासनिक प्रक्रियाको माध्यमवाट नीति दस्तावेजमा प्रतिविम्वित गराउन, कार्यान्वयनको सुनिश्चितताको लागि संस्थागत संयन्त्रको परिचालन गर्न र तल्लो तहसम्म फैलिएको प्रशासनिक संयन्त्रको परिचालनव्दारा जनतासंग सम्पर्क कायम गर्न प्रशासनिक संयन्त्रको परिचालनको आवश्यकता हुन्छ । यसैले तटस्थता प्रशासनयन्त्रको अपरिहार्य विषवस्तु भएपनि विषगत विज्ञता र स्थायी संयन्त्र भएको कारणले प्रशासनयन्त्रले दक्षता सहितको तटस्थता व्दारा सकारात्मक योगदान गर्न सक्छ भन्ने मान्यताको विकास हुदै गएको छ । यो अवधारणाले आस्था, वाद वा विचारको आवध्दता सहितको दक्षतालाई पूर्ण रुपमा नकारेको छ ।
मानव श्रोत व्यवस्थापनको अवधारणा
राष्ट्यि विकासको लक्ष्य हासिल गर्नका लागि सार्वजनिक क्षेत्रमा पनि मानव श्रोतको योजना, विकास, सम्बध्र्दन र समुचित उपयोग अनिवार्य छ । मानव संशाधन आर्थिक तथा सामाजिक विकासको मुख्य आधार पनि हो । मानव संसाधन व्यवस्थानको अभ्यास मानव सभ्यताको विकासव्रmमसँगै हुँदै आएको हो । यद्यपि यसको व्यवस्थित विकास शुरु भएको भने केही दशकमात्र भएको छ । मानव श्रोतको प्रभावकारिता वाट अन्य अन्य साधनश्रोतहरु पूजी, औजार, वस्तु, सूचना को परिचालनमा प्रभावकारिता ल्याउन सकिन्छ । यसैले मानव श्रोत स्वतन्त्र चर हो भने अन्य साधन श्रोतहरु मानव श्रोतको प्रभावकारितामा निर्भर रहने आश्रित चर हुन् । यसर्थ मानव श्रोत व्यवस्थापन महत्वपूर्ण र आवश्यकीय व्यवस्थापकीय संयन्त्रको रुपमा चिनिने गरेको हो । मानव संसाधन व्यवस्थापनले मानिसहरुको शक्ति र क्षमताको उचित व्यवस्थापन गरी अपेक्षित परिणाम निकाल्नमा सहयोग पुर्याउंछ । मानव संसाधन व्यवस्थापनले मानवीय साधनहरुको अद्यावधिक स्थिति र आवश्यकताको योजना , प्राप्ति , उपयोग , विकास , सामयिक संभार , एकाकार, अवकाश ,अवकाश पश्चातको योजना र अवकाश व्यबस्थापन जस्ता समग्र पक्षलाई समेट्दछ । मानव श्रोत व्यवस्थापन यी सवै कार्यहरुको श्रृड.खलावध्द प्राथमिकतामा आधारित विभिन्न क्रियाकलापको संयुक्त स्वरुप हो । यी सवै चरणवध्द श्रृंखलाहरुको विवेकपूर्ण , दिगो र परिणाममूलक व्यवस्थापन कौशलता रणनीतिक व्यवस्थापन हो ।
मानव पूंजीको रणनीतिक व्यवस्थापनको अवधारणा
मानव संसाधनको रणनीतिक व्यवस्थापनको पक्ष प्रतिभा व्यवस्थापनको रुपमा पनि चिनिने गर्दछ । प्रतिभा व्यवस्थापनको अवधारणा सन् १९९७ देखि प्रयोगमा आउन थालेको हो । मानव संसाधनको विवेकपूर्ण व्यवस्थापननै प्रतिभा व्यवस्थापन हो । प्रतिभा व्यवस्थापनको अवधारणाले मानव शक्तिलाई दायित्व भन्दा पनि पूजीको रुपमा लिने गर्दछ र कसरी कर्मचारी विशेषको दक्षतालाई सांगठनिक लक्ष्य प्राप्तिमा उपयोग गर्न सकिन्छ भन्ने उद्देश्य वाट अभिप्रेरित गर्ने गर्दछ ।साधारण अर्थमा प्रतिभा व्यवस्थापन संगठनमा उपलब्ध जनशक्तिको विवेकपूर्ण उपयोग हो ।प्रतिभा व्यवस्थापनको यो बुझाईले संगठनमा प्राप्त भैसकेका जनशक्तिको उपयोग नै प्रतिभा व्यवस्थापन हो भन्ने मात्र अर्थ लाग्न सक्दछ तर प्रतिभा व्यवस्थापन मानवश्रोत व्यवस्थापनको समग्र पक्ष र चक्र संग सम्बन्ध राख्ने विषय हो ।मानव संसाधन व्यवस्थापन नियुक्ति पूर्व र अवकाश पश्चातका विषय संग सम्बन्धित छ भने प्रतिभा व्यवस्थापन यसको अतिरिक्त उत्कृष्ट जनशक्तिको प्राप्ति, विकास, प्रयोग र संगठनमा टिकाइराख्ने विषय समेत संग सम्बन्धित छ । प्रतिभा व्यवस्थापनका मूलत निम्न चार चरणहरु रहने गर्दछन् यी चारै चरणको सुझबुझ र सवल र दुर्वल पक्षको व्यवस्थापन नै रणनीतिक व्यवस्थापन हो ।
१. प्राप्तिपूर्वको चरण : श्रम बजार व्यवस्थापनको रणनीति
जनशक्ति योजना प्रतिभा व्यवस्थापनको प्राप्तिपूर्वको चरणमा पर्दछ । सांगठनिक उद्देश्य प्राप्ति व्दारा राष्ट्यि उद्देश्य प्राप्ति का लागि प्रतिभावान मानव श्रोत सवभन्दा महत्वपूर्ण पक्ष हो । यस चरणमा संगठनको लागि आवश्यक पर्ने उमेर समूह, योग्यता र सीपको क्षेत्र, विज्ञताको क्षेत्र आदिको विश्लेषण गरिन्छ र सो अनुरुप त्यस्ता जनशक्तिको उत्पादन गर्ने रणनीति लिइन्छ ।
जनशक्ति योजना सांगठनिक र राष्ट्यि तह गरी दुई तहमा निर्माण हुने गर्दछ ।यी दुवै तहको आवश्यकताको आधारमा विभिन्न शैक्षिक संस्थाहरुले लामो समयको अन्तराल पछि श्रम बजारमा क्षमतावान र प्रतिभावान जनशक्ति तयार गर्ने गर्दछन् ।
२. प्राप्तिको चरण : योग्यता र क्षमताको चयन गर्ने रणनीति
क्षमतावान जनशक्तिको प्राप्ति गर्ने प्रक्रिया प्रतिभा व्यवस्थापनको अर्को महत्वपूर्ण चरण हो । श्रम वजारमा उपलव्ध जनशक्ति मध्ये संगठनलाई आवश्यक पर्ने क्षमतावान जनशक्तिको प्राप्ति गर्ने प्रक्रिया यस अन्तरगत पर्दछ । यसमा कुनै निश्चित संगठनका लागि आवश्यक जनशक्ति लाई छनौटको विशिष्ट मापदण्ड तयार गरी विभिन्न प्रतिस्पर्धाको माध्यम व्दारा क्षमतावान जनशक्तिलाई संगठनमा प्राप्त गर्ने गरिन्छ । संगठनको लागि आवश्यक जनशक्ति प्राप्तको लागि अपनाइने छनौट प्रक्रिया निम्न आधारमा आधारित हुनु पर्दछ :
जनशक्ति प्राप्तिको लागि अपनाइने प्रक्रियालाई व्यवस्थापकीय भाषामा पदपूर्ति भन्ने गरिन्छ । पदपूर्ति सम्बन्धमा लुट प्रणाली, योग्यता प्रणाली र मिश्रित प्रणाली चलन चल्तीमा रहेका छन् । योग्यता प्रणालीमा संगठनमा आवश्यक पर्ने जनशक्ति लाई निश्पक्षता र प्रतिस्पर्धाको आधारमा छनौट गरिन्छ । सर्वसाधारणको सहज पहुंच र निष्पक्ष छनौट प्रणालीको कारणले योग्यता प्रणाली पदपूर्तिको लागि उचित मानिएको छ ।
३. उपयोग र विकासको चरणः क्षमताको उपयोगको रणनीति
श्रम बजारमा उपलब्ध क्षमतावान जनशक्तिको प्राप्तिले मात्र संगठनको आवश्यकता पूर्ति हुदैन यस्तो क्षमतावान जनशक्तिलाई क्षेत्रगत विज्ञताको आधारमा काममा उपयोग गर्ने प्रक्रिया प्रतिभा व्यवस्थापनको महत्वपूर्ण चरण हो । विभिन्न चरणको प्रतिस्पर्धात्मक छनौट प्रक्रिया पार गरेर आएको जनशक्तिलाई प्रयोग गर्ने सम्बन्धमा निम्न आधारहरु लिने गरिन्छ ः
विज्ञताको आधार
परिणाम र उत्तरदायित्वको आधार
सक्षमताको आधार
स्थान अनुरुप व्यक्तिको उपयुक्तताको आधार
उत्प्रेरणाको आधार
क्षमतावान जनशक्तिलाई संगठनमा टिकाइराख्ने आधार
जनशक्ति विकासः संगठनमा उपलब्ध जनशक्तिलाई कार्यशैली, प्रविधि, विकसित नवीनतम प्रवृत्ति संग परिचित गराई कार्य सहजताका साथ सम्पादन गर्न सक्ने कौशलमा वृध्दि ल्याउनमा विकास (तालिम ) को अहम भूमिका रहेको हुन्छ । जनशक्ति विकास मानव श्रोत व्यवस्थापनका अवयवहरु मध्ये महत्वपूर्ण र प्रभावकारी अवयवको रुपमा चिनिने गर्दछ । संगठनमा एक पटक लिईएको जनशक्ति लाई समय, प्रविधि, अवधारणा, कार्यक्षेत्रमा आएको परिवर्तन को परिवेशमा सामयिक रुपमा परिमार्जित र विकास गरिनु पर्ने मान्यता नीति जनशक्ति व्यवस्थापनको सन्दर्भमा महत्वपूर्ण विषय हो । मानव श्रोत ब्यबस्थापनमा विकास को महत्वपूर्ण स्थान रहेको छ । जनशक्ति विकास वा तालिम एउटा निरन्तर चलिरहने प्रक्रिया हो । यसले समय र प्रविधिमा आएको परिवर्तन संगै ज्ञान, सीप , र मनोवृत्ति मा सकारात्मक परिवर्तन ल्याई जनशक्ति लाई संगठनको कार्य सम्पादनमा सदा चुस्त दुरुस्त रहन सहयोग पु¥याउंछ । तालिमको आधुनिक मान्यता अनुसार तालिमले जनशक्ति लाई वर्तमान आवश्यकता अनुसार र भावी आवश्यकता अनुसार चल्न सक्ने बनाउन सक्नु पर्दछ भन्ने अवधारणाको विकास भएको छ ।
४. बहिर्गमनको चरण : योगदानको सम्मानको रणनीति
अवकाश
अवकाश योजना, अवकाश व्यबस्थापन
प्रशासन सुधारको अवधारणा
प्रशासन सुधार विद्यमान यथास्थितीमा विभिन्न आन्तरिक र वाह्य पक्षवाट उत्पन्न हुने परिस्थितीजन्य विषय संग प्रशासनिक परिपाटी र क्रियाकलापलाई आवश्यकता र अनुकुलताको सिध्दान्त अनुरुप समायोजन, व्यबस्थापन र कार्यान्वयन गर्दै जाने विषय हो । विविध सामयिक तथा आयामिक परिवर्तन खासगरी वदलिदो राजनैतिक वातावरण,आर्थिक परिदृष्य र अवधारणमा आएका सामयिक परिवर्तन, शासकीय सोच र मान्यतामा आउने आयामिक परिवर्तन, सुशासनको अवधारणा, सहभागितामूलक र प्रतिनिधिमूलक शासन प्रणालीको आवश्यकता, जनमुखी तथा समावेशी प्रशासन निर्माणको लागि
सार्वजनिक सेवा प्रवाहको प्रभावकारितामा अभिवृध्दि गर्ने जस्ता नियमित रुपमा परिवर्तित हुदै आएका विषयवस्तुहरु वाट विद्यमान प्रशासनिक परिपाटी र परिवर्तित सन्दर्भवाट सिर्जित आवश्यकतालाई उपयुक्त तवरवाट सम्बोधन र समायोजन प्रशासनिक संयन्त्र (परिपाटी र कार्यशैलीमा हेरफेर गर्न गरिने प्रयासलाई नै प्रशासन सुधार भन्ने गरिन्छ । सुधार आवश्यकताको जननी हो । प्रशासन सुधार पनि यस्तै आवश्यकताको उपज हो । प्रशासन सुधार गन्तव्य नभै सकारात्मक क्षितिज तर्फको निरन्तर यात्राक्रम हो । परिवर्तित मूल्य, मान्यता अनुरुपका सामयिक मागहरु प्रशासनिक संयन्त्रवाट पूरा गर्न सकिने भएकोले उपयुक्त प्रशासनिक परिपाटीको विकास गर्न, प्रशासनिक प्रणालीको संरचना ,प्रक्रिया व्यबहार र मनोवृत्तिमा समयानुकुल परिवर्तन ल्याई प्रभावकारी प्रशासनिक प्रणालीको विकास गर्न, प्रशासनमा नवीनता र सिर्जनात्मकताको प्रवध्र्दन गराउन, प्रशासनिक क्षमता र दक्षता अभिवृध्दि गर्न प्रशासन सुधार एउटा गतिलो औजार हो । यसको अतिरिक्त प्रशासनको अन्य अन्तरसम्बन्धित पक्षवीच समायोजनका पक्ष पहिचान गरी परिचालन गर्ने संयन्त्रको विकास गर्न, सेवा प्रवाहमा प्रभावकारिता ल्याउन र प्रशासनिक संगठनहरुलाई चुस्त, दुरुस्त र प्रभावकारी वनाई मितब्ययी तथा उत्पादनमूलक बनाउन प्रशासन सुधार गर्ने गरिन्छ ।
सूचना र प्रविधिका क्षेत्रमा भएको ब्यापक तथा तीब्रतम विकासका सन्दर्भमा प्रशासनिक परिपाटीलाई समायोजन गर्न, प्रशासनिक मूल्य मान्यतामा आएका आयामिक परिवर्तनहरु संग प्रशासनलाई अनुकुलित गराउन र जन चाहनाको सही तवरबाट सम्बोधन हुने प्रशासनिक परिपाटीको विकास गर्ने उद्देश्य प्रशासन सुधारले लिएको हुन्छ । प्रशासन सुधार समयको आवश्यकता हो । विश्व व्यापीकरण र भूमण्डलीकरण ले ल्याएका परिवर्तन लाई सम्वोधन गर्न , स्थानीय तहमा अधिकार दिएर स्थानीय आवश्यकताको सम्वोधन गर्न , शासन प्रक्रियालाई प्रभावकारी जनमुखी संयन्त्र वनाई सार्वजनिक मुद्दाहरुको उचित तवरवाट सम्वोधन गर्न , भ्रष्टाचार न्यूनीकरणको जल्दो बल्दो समस्यालाई सम्वोधन गर्न , सार्वजनिक व्यबस्थापन संग अन्तरनिहीत पक्षहरुमा प्रभावकारिता ल्याउन , सरकारी संरचना र संयन्त्र मा प्रभावकारिता ल्याउन, सरकारी श्रोत व्यबस्थापन मा प्रभावकारिता ल्याउन, सार्वजनिक सेवामा प्रशासनिक इमान्दारिता र जवाफदेहिता अभिवृध्दि गर्न , अन्य बाह्य तथा अन्तरनिहीत पक्षहरुसंग समन्वयात्मक वातातरण निर्माण गर्ने विषयहरु प्रशासन सुधारका कारक तत्वहरु हुन् ।
(प्रशासन र संघीयताका विषयका विश्लेषक तथा कुशल प्रशिक्षक दामोदर रेग्मी साझासबाल डटकमका नियमित लेखक हुन् ।)