२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जाने तीन चौथाइ कामदार ‘अदक्ष’

४ फाल्गुन २०७८, बुधबार ०७:२७

फागुन ४, काठमाडौँ । दुई वर्षअघि वैदेशिक रोजगारीका सिलसिलामा दुबई पुग्नुभएका धनुषाका ३० वर्षीय रोशन गोलेको अचानक मृत्यु भयो । राति खाना खाएर सकुशल सुत्नुभएका उहाँ बिहान अबेलासम्म नउठेपछि साथीहरू बोलाउन गए पनि उहाँको मृत्यु भइसकेको थियो । उहाँको मृत्यु भएको थाहा पाएपछि उनीहरूले तत्काल परिवारलाई खबर गरिदिए ।  एक महिना बितिसक्दा पनि परिवारले शव नेपाल ल्याउन निकै सास्ती बेहोर्नुप¥यो । सेक्युरिटी गार्ड उहाँमा पहिले कुनै पनि स्वास्थ्य समस्या नभएको परिवारको जिकिर छ । शव ल्याउन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुग्नुभएका मृतकका पिता नरबहादुरले भन्नुभयो, “यति छिट्टै छोराले छाडेर जाला भनेर हामीले कल्पना पनि गरेका थिएनौं।” 

छोराको मृत्युले सिङ्गो परिवार धान्ने खम्बा नै ढलेको उहाँ बताउनुहुन्छ । मृतक गोलेका परिवारमा बुवा, आमा, श्रीमती, दुई छोरी र एक छोरा छन् । रोशनको मृत्युसँगै पिता नरबहादुरलाई १०, पाँच र तीन वर्षका नातिनातिनाको शिक्षादीक्षाको चिन्ता त छ नै, साहुसँग लिएको रु  पाँच लाख ऋण कसरी तिर्ने भन्ने चिन्ताले समेत सताउन थालेको छ । छोरा विदेशमा हुँदा खासै राम्रो कमाइ नभएकाले पहिलेदेखि नै साहुसँग लिएको ऋण तिर्न नसकेको उहाँको भनाइ छ ।

क्षतिपूर्तिमा बिचौलियाको दबदबा

वैदेशिक रोजगारीका क्रममा चार वर्ष अगाडि दुबईमा मृत्यु भएका धनुषाका शैलेश चौधरीको परिवारलाई वैदेशिक रोजगार बोर्डमार्फत उपलब्ध क्षतिपूर्तिले निकै राहत मिल्यो । सडक दुर्घटनामा परी घाइते भएका चौधरीको उपचारका क्रममा त्यहीँ मृत्यु भएको थियो । पाँच महिनापछि मात्र उहाँको शव नेपाल ल्याइएको थियो । 

मृतकको परिवारले बोर्डमार्फत उपलब्ध गराउँदै आएको क्षतिपूर्तिका लागि गाउँकै पदम भनिने पिन्टु साहमार्फत आवेदन दिएको थियो । आवेदन दिएको एक हप्तामै पीडित परिवारले क्षतिपूर्तिस्वरुप रु पाँच लाख पाएको थियो । सो रकमबाट साहुसँग लिएको रु चार लाख कर्जा चुक्ता गरिएको मृतककी श्रीमती जयन्ती साह बताउनुहुन्छ । बाँकी रकमबाट केही समय परिवार चलेको उहाँले सुनाउनुभयो । हाल उहाँले ज्याला मजदुरी गरेर पाँच जनाको परिवार धान्दै आउनुभएको छ ।

बोर्डले भने मृतकका परिवारलाई क्षतिपूर्तिबापत रु सात लाख उपलब्ध गराउँदै आए पनि  उहाँ सो विषयमा अनभिज्ञ देखिनुहुन्छ । यसरी हेर्दा पिण्टुले क्षतिपूर्ति लिन बिचौलियाको भूमिका खेलेर साहको परिवारसँग रु दुई लाख ठगी गरेको देखिन्छ । 

मृत्युको हिसाबकिताब   

पछिल्लो समय वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा नेपालीको मृत्युको घटना बढ्न थालेको छ । वैदेशिक रोजगार बोर्डको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७५\०७६ मा वैदेशिक रोजगारीका क्रममा पुरुष ३२१ र महिला १२ ले ज्यान गुमाएका थिए । मृतकमध्ये काठमाडौँ जिल्लाका कामदार सबैभन्दा बढी थिए । 

आव २०७६/०७७ मा अघिल्लो वर्षका तुलनामा मृतक दोब्बरभन्दा बढी थिए । सो वर्ष पुरुष ६६५ र महिला १४ जनाले ज्यान गुमाएका थिए । सो आवमा पनि सबैभन्दा बढी काठमाडौँका कामदारले ज्यान गुमाएका थिए ।   आव २०७७/७८ मा पुरुष एक हजार २१३ र महिला २९ जनाको मृत्यु भएको थियो । 

रोजगार बोर्डले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमार्फत मृतकको घरसम्म शव ढुवानी गर्दै आएको छ । बोर्डको शव ढुवानी तथ्याङ्कानुसार वैदेशिक रोजगारीका क्रममा हालसम्म सबैभन्दा बढी मलेसियामा नेपाली कामदारले ज्यान गुमाएका छन् । आव २०७५/७६ मा मलेसियामा २८२, कतारमा १३४, साउदी अरेबियामा २०६, संयुक्त अरब इमिरेट्समा ७९, कुवेतमा ३३, दक्षिण कोरियामा २०, बहराइनमा ११, ओमानमा नौ, जोर्डनमा तीन, माल्दिभ्समा दुई  तथा बङ्गलादेश र पोर्चुगलमा एक/एक जनाले ज्यान गुमाएका थिए । तिनमा पुरुष ७६५ र महिला १७ को मृत्यु भएको थियो । 

त्यस्तै आव २०७६/७७ मा मलेसियामा २१९, साउदी अरबमा १८, कतारमा १०७, युएईमा ९७, कुवेतमा ४२, ओमानमा छ तथा अफगानिस्तान र  साइप्रसमा दुईदुई जनाले ज्यान गुमाए । यसैगरी इजराइल, ब्रुनाइ, इराक, पोल्याण्ड, पोर्चुगल, रुस र अफगानिस्तानमा एक/एक जनाले ज्यान गुमाएका थिए । तिनमा पुरुष ६६५ र महिला १४ जनाको मृत्यु भएको थियो ।

आव २०७७/७८ मा माल्दिभ्सका सबैभन्दा बढी कामदारको शव ढुवानी गरिएको पाइएको छ । शव ढुवानीको तथ्याङ्कानुसार माल्दिभ्सका २४१, साउदी अरेबियाका २२७, कतारका १३८, युएईका ९२, मलेसियाका ६०, दक्षिण कोरियाका छ तथा ओमन र रोमानियाका दुई/दुई जना छन् ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट घरसम्म पु¥याउँदाको सम्पूर्ण खर्चको व्यवस्था बोर्डले नै गर्दै आएको महानिर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

मृत्युको कारण लापरबाही

बोर्डको तथ्याङ्कानुसार वैदेशिक रोजगारीका क्रममा सबैभन्दा बढी कामदारकै लापरबाहीका कारण निधन हुने गरेको पाइएको छ । धेरैजसो कामदारको मृत्यु हुनाका कारणमा कामबाट फर्कनेबित्तिकै एसी चलाउने, चिसो पानी पिउने, चिसो पानीले नुहाउने र राति सुत्ने बेलामा अत्यधिक मदिरा सेवन गर्ने जस्ता गतिविधि भएको श्रेष्ठको भनाइ छ । 

बोर्डको तथ्याङ्कानुसार आव २०७७÷७८ मा प्राकृतिक कारणबाट ३४.३८, आत्महत्याबाट १९.९७, सडकमा दुर्घटनाबाट १३.७७, हृदयाघातबाट ११.२७ र कार्यस्थलमा दुर्घटनाबाट ९.५८ प्रतिशतको मृत्यु भएको थियो । यस्तै ८.३७ प्रतिशतको भने मृत्युको कारणबारे अनुसन्धान हुनै बाँकी छ । यस्तै २.०९ प्रतिशतको भने हत्या भएको पाइएको छ । रोगका कारण ०.१६  र अन्य कारणबाट ०.४० प्रतिशतको मृत्यु हुने गरेको पाइएको छ ।

मृत्यु हुनेमा धेरैजसो व्यक्तिगत रुपमा जाने नेपाली कामदार पाइएको श्रेष्ठले बताउनुभयो । व्यक्तिगत रुपमा नेपाली कामदारलाई वैदेशिक रोजगारीका लागि जानका  निरुत्साहन गर्न बोर्डले पूर्वप्रस्थान अभिमुखीकरण र सीप विकास तालिम पनि उपलब्ध गराउँदै आएको जनाइएको छ । 

तालिम

रोजगार बोर्डले वैदेशिक रोजगारीमा जानुपूर्व नेपाली श्रमिकलाई गन्तव्य मुलुकका बारेमा अभिमुखीकरण दिँदै आएको छ । सो तालिममा गन्तव्य मुलुकको भाषासमेत सिकाइने गरेको छ । तालिमबाट वैदेशिक रोजगारीमा जाने कामदारलाई सो देशको संस्कृति, रहनसहन र कामका प्रकृतिका बारेमा जान्न निकै सहज हुने उहाँको भनाइ छ । तालिममा वैदेशिक रोजगारीका क्रममा हुने तनाव कसरी व्यवस्थापन गर्ने, विदेशमा कसरी सुरक्षित हुने लगायत कुरा पनि सिकाइने जनाइएको छ । 

यस्तै वैदेशिक रोजगारीमा जानुपूर्व लिएको सीप विकास तालिमबाट कामदारलाई वैधानिक रुपबाट जान अभिप्रेरित गर्दै आएको श्रेष्ठको भनाइ छ । सीप विकास तालिमका लागि बोर्डले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)सँग समन्वयसमेत गरेको जनाइएको छ । तालिमपछि कतिपय युवा स्वदेशभित्रै स्वरोजगार भएर बसेको थाहा भएको छ । हाल सिटिइभिटीले देशभर १९ शैक्षिक संस्थामार्फत दैनिक ५३ तालिम दिँदै आएको छ । 

मृतकका परिवारलाई क्षतिपूर्ति 

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका प्रतिकामदारका परिवारलाई रोजगार बोर्डले क्षतिपूर्तिस्वरुप रु सात लाख  राहत उपलब्ध गराउँदै आएको छ । बोर्डले आव २०७५÷७६ मा ७५३ परिवारलाई क्षतिपूर्ति उपलब्ध गराएको थियो ।

त्यस्तै आव २०७६/७७ मा ६५५ परिवारलाई क्षतिपूर्ति उपलब्ध गराएको थियो ।  यस्तै आव २०७७/७८ मा भने सबैभन्दा धेरै परिवारलाई बोर्डले क्षतिपूर्ति उपलब्ध गराएको थियो । गत आवमा एक हजार २४३ परिवारलाई राहत उपलब्ध गराइएको बोर्डले जनाएको छ । कोभिड –१९ सङ्क्रमणका कारण वैदेशिक रोजगारीका क्रममा धेरै नेपाली कामदारको मृत्यु भएकाले गत वर्ष क्षतिपूर्तिका लागि बोर्डमार्फत सबैभन्दा धेरै परिवारले क्षतिपूर्ति बुझेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य