अनिल अधिकारी ।
नेपाली उखान छ नि 'भाई फुटे गवार लुटे' । स्थानिय निकाय निर्वाचनमा एमाले हारको मुख्य कारण ओलीकै खिसीटिउरीको शब्दमा भन्नु पर्दा 'चोइटिएर' बनेको एकीकृत समाजवादीनै भएको धेरै कोणबाट विश्लेषण गर्न सकिन्छ । यो विश्लेषणले एकीकृत समाजवादीलाई मात्र एकोहोरो दोषी देखाउन भने खोजिएको होइन ।
स्थानिय निकाय निर्वाचनको मतगणना जारी रहँदा नेकपा एमालेको स्थिति उसको नेतृत्व पंक्तिले सोचे अनुरुप छैन । निर्वाचन अघि अरु पार्टीलाई गिराएर खिसी उडाएको परिणाम अहिले एमाले आफैले भोगिरहेको आलोचना सुनिदैछ । निर्वाचनको परिणामको बिषयमा एमाले असन्तुष्ट रहेको बिषयलाई एमाले आफैले जारी गरेको बिज्ञप्तिले पनि पुष्टि गर्छ । त्यसो त स्थानिय निकाय निर्वाचनमा एकीकृत समाजवादीले समेत सोचे अनुसारको नतिजा ल्याउन नसकेको माधव नेपालकै भनाइ छ । नेपाल नेतृत्व रहेको एकीकृत समाजवादीले गठबन्धनसँग स्थानिय निकायको निर्वाचनबारे समिक्षा गर्ने बताएको छ । यो दुवै पक्षको असन्तुष्टिको आगो हो । जुन स्वभाविक छ । गठबन्धनमा माओवादीकै शक्तिसँग तुलनामा रहेको एकीकृत समाजवादीले पाएको स्थान र माओवादीको स्थान तुलनात्मक रुपमा धेरै तल छ । पार्टी नफुट्दा २०७४ मा पाएको जनमतकै आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले 'नेपालसँग सानो झुण्ड गएको हो' भन्दै गरेको अवमुल्यन यो पटकको स्थानीय निकायको निर्वाचनको परिणामले देखाएको छ ।
निर्वाचनमा आएको नतिजाको सारमा कारक भने एमाले फुटेपछिको अवस्थानै मुख्य मान्न सकिन्छ । एकले अर्कोको अस्तित्व सक्ने गरि निर्वाचनमा आन्तरिक प्रयासहरु भएपछि आएको परिणामले एमाले र समाजवादी दुवैलाई पीडित बनाएको छ । जसको प्रत्यक्ष फाइदा नेपाली कांग्रेस र माओवादी केन्द्रले हाँशिल गरेको परिणामलाई लिन सकिन्छ ।
अर्को एउटा उखान छ नि 'फुटाउ र शासन गर' । एमालेमा एकता भएर नेकपा बनेपछि माओवादी अध्यक्ष प्रचण्डले खेलेको भूमिका र ओलीको अहंकारले एमालेको शक्ति तल गिरेको संकेत यो पटकको निर्वाचनको मत परिणाम नै हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले एमाले फुटेपछिका मन्तव्यहरुमा माधव नेपालको समूहलाई पार्टीबाट उछिट्टिएको सानो झिल्कोको रुपमा विश्लेषण गरेर गल्ति गरेको परिणाम अहिले देखिएको छ ।
ओलीकै अहमताको कारण एमालेको तात्कालिन नेताहरु माधव नेपाल, झलनाथ खनाल सहित नेताहरु र पहिलेदेखि माधव नेपालको खेमामा खुलेर रहेका तथा पार्टीबाट बिभिन्न कारणले रुष्ट बनेका नेता तथा कार्यकर्ताहरुले एमालेमा नरहने निर्णय लिनु एमाले कमजोर हुनुको मुख्य कारण हो भन्न सकिन्छ । पार्टी फुटेपछि केहि तात्कालिन एमाले समर्थकले स्वतन्त्र भूमिका समेत खेले । दुवै पक्षलाई स्वतन्त्र रुपमा रहेका नेता/कार्यकर्ताहरु आफ्नोमा तान्ने कोसिस रहेपनि स्वतन्त्र पक्ष बढीजसो निर्वाचनको मुखमा एमालेमै गएको पाइएको छ । तर त्यसले मात्र पनि ओलीको घमण्डलाई मह्लम लगाउन सकेन ।
स्थानिय तह निर्वाचनमा एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादीको आकार सानो बुझिएपनि त्यसले एमालेको हारको लागि ठूलो भूमिका खेलेको पाइएको छ । अधिकांश स्थानिय निकायमा एमालेले हारेको मतान्तर हेर्ने हो भने पनि फुटको स्पष्ट असर एमालेमा देखिएको छ । पालिकाको एक मात्र वडामा ४०-५० जनाको संख्यामा मात्र पनि एमालेबाट फुटेर गएकाहरु रहंदा त्यसले वडामा पार्टीको शक्तिलाई हल्लाउने ताकत राख्छ । किनकि त्यो ५० जनाको संख्याले उसको परिवार र छिमेकीलाई समेत प्रभावित पार्न सक्ने क्षमता राख्छ । यसरी वडामै त्यस ५० ले प्रभावको योगफलले वडा देखि पालिका समेतमा प्रभाव राख्छ । बिपक्षीको सानो संख्याले निर्वाचनको बेला सक्रियता बढाएको अवस्थामा परिवार, छिमेकी, नातागोतालाई समेत प्रभावमा पारेर एकको ३/४ मतमा समेत परिणत गर्न सक्छ । जसको गुणाले ठूलो मतान्तरको घाटा दिन सक्ने क्षमता राख्छ । अहिलेको निर्वाचनमा भएको त्यहि हो ।
एमालेको शक्ति उस्तै छ भनेर एमाले पंक्तिले जुन विश्लेषण गर्यो त्यसो थिएन । हरेक पालिकामा पार्टीको सानो अंश मात्र टुक्रिनुले पनि पनि पार्टीमा असर राख्छ । बिपक्षी शक्ति आफूजतिकै शक्तिशाली छ भने त झन् त्यसले खेल्ने भूमिका अहम हुन जान्छ । यो पटक त्यो भूमिका एमालेबाटै टुक्रिएर बनेको एकीकृत समाजवादीले खेल्न बाध्य भयो । समाजवादी माथि आफ्नो शक्ति देखाउने बिभिन्न विकल्प थियो । (१) गठबन्धनसँग मिलेर पाएको पदको उपयोग गर्ने । (२) गठबन्धन दलले विश्वास नगरेमा आफै उम्मेदवारी दिने र जित्ने स्थिति बनाउने । (३) कमजोर अवस्था देखेर गठबन्धन दलले वेवास्था गरे वा पदिय सहमति नभए आफ्नो शक्ति कति छ देखाउने । (४) आफू छुट्टिएको पार्टीलाई पराजित गर्न भूमिका खेल्ने ।
मुख्यत: माथिका चार बिकल्पमा समाजवादी यो पटकको निर्वाचनमा उत्रिएको देखियो । पहिलो बिकल्प अनुसार केहि ठाउँमा गठबन्धन बने तर सबै ठाउँमा समाजवादीले मुख्य पद पाएन । केन्द्रिय नेताहरुको सहमतिबाट बनेका महानगर र उप महानगरमा केहि मुख्य पदमा समाजवादीले माओवादीकै बराबर पद पाउने भएपनि जिल्ला र स्थानिय स्तरसम्म कमजोर मत र कमजोर नेतृत्वको कारण सहमति भएन । स्थानिय निकायको गठबन्धन मिलाउने जिम्मेवारी पाएका स्थानिय नेताहरुले गठबन्धनको स्थानिय निकायको भागवण्डामा उपयुक्त भूमिका टुंग्याउन सकेनन् । स्थानीय स्तरमा ठूलो जनमत भएकाहरुको समाजवादीलाई पद दिन इन्कार गरेको कारण पनि सहमति हुन सकेन । माथि गठबन्धनको सहमति भएको कारण केहि स्थानिय निकायको प्रमुख र उपप्रमुख पदमा गठबन्धन बने । बनेका ठाउँमा पनि समाजवादी प्रमुख भन्दा बढी उपप्रमुखमा चित्त बुझाउन पर्ने भयो ।
त्यसो त अधिकतम स्थानिय वडामा समाजवादीले एक्लै लड्नुपर्ने अवस्था सृजना भयो । अब उसको लागि दोश्रो, तेश्रो र चौथो बिकल्प खडा भए । जनमत कमजोर भएको कारण जित्छु भन्ने शाहस भएन । त्यस अवस्थामा नेतृत्व क्षमता भएका नेताहरुले जति छ नजितेपनि आफ्नो मत देखाउने निर्णय लिएर निर्वाचनमा होमिए । केहि व्यक्तित्वले भने शक्ति पार्टीसँग आर्थिक स्वार्थ लिएर चुनावी गतिबिधिमा देखिएझैं मात्र गरे । यस क्रममा समाजवादी भनेर खुलेकाहरुले एमालेलाई हराउने र अर्को पक्षलाई जिताउने भूमिका खेल्न बाध्य बने । स्थानीय स्तरमा आफ्नो नेतालाई जिताउनमा भूमिका खेलेपनि वडा स्तरमा खासै चासो नदिदा सम्बन्धित चिन्हमा समेत कम मतदान भएको पाइयो । जुन मत एमालेलाई भन्दा बढी अरु पार्टीलाई गयो । खुलस्त भन्न सकिन्छ कि समाजवादीमा खुलेकाहरुले बढी एमालेको विपक्षमा मत दिए । जसको असर कलममा समेत दावी गरिए जति मतदान देखिएन । उक्त मत एमालेलाई पराजित गर्ने उदेश्यलेनै एमालेको बिपक्षी शक्ति पार्टीमा गएको आंकलन गर्न सकिन्छ ।
यसरी विश्लेषण गर्दा चुनावी फाइदा एमाले तथा समाजवादी दुवैलाई पुगेको देखिएन । बरु समाजवादी र एमालेको द्वन्दको फाइदा अरुले लिए । निर्वाचनको जगबाट कांग्रेसले आफ्नो शक्ति फेरी ५ बर्षको लागि स्थापित गर्यो । माओवादी केन्द्र सकिन्छ भन्ने एमाले अध्यक्ष ओलीलाईनै टक्कर दिने गरि प्रचण्डले आफ्नो पार्टीलाई झन्डै एमालेकै १०/१५ प्रतिशतको अन्तरसम्मको प्रतिष्पर्धी बनाउन पुग्यो । एमालेलाई बाँकी एउटा भन्ने बहाना बन्यो 'गठबन्धन भएर त हो नि ! नत्र…'