फागुन १, डडेल्धुरा | डडेल्धुरामा ११ वर्षीया बालिकामाथि पटक-पटक बलात्कार भएको खुलेको छ।
माघ २८ गते उपचारका लागि परशुराम नगरपालिकास्थित जोगबुडा अस्पतालमा ल्याइएकी बालिकामाथि पटक-पटक बलात्कार भएको पाइएको हो।
उपचारका क्रममा बालिकामाथि बलात्कार भएको भेटिएपछि चिकित्सकले प्रहरीलाई खबर गरेका थिए।
सोही क्रममा अनुसन्धान गर्दा बालिकामाथि पटक-पटक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी दीपक कार्कीले जानकारी दिए।
‘अनुसन्धान गर्दा बालिकामाथि आफन्तले ६ महिनादेखि पटक-पटक बलात्कार गर्दै आएको खुल्न आएको छ,’ डिएसपी कार्कीले भने।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा बालिकामाथि उनकै काका पर्ने र स्थानीय युवकले पटक-पटक बलात्कार गर्दै आएको पाइएको छ।
प्रहरीले सोधपुछ गर्दा काकाले ६ महिनाअघि बलात्कार गरेको बालिकाले बताएकी छन्। स्थानीय युवकले पनि हालसालै बालिका बलात्कार गरेको अनुसन्धानमा खुलेको छ।
बालिकाले बयान दिएलगत्तै माघ २८ गते नै स्थानीय आलिताल गाउँपालिका-५ का २० वर्षीय पुष्कर थापालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।
बालिकाको काका भने रोजगारीको लागि भारत पुगेका पाइएको छ। उनी बलात्कार मुद्दामा बच्नका लागि भारत गएको हुनसक्ने प्रहरीको अनुमान छ।
बालिकाको बा-आमा रोजगारीका लागि भारतमा छन्। बालिका हजुरबुबा-आमाको साथमा बस्दै आएकी थिइन्।