भदौ २५, बैतडी | एक महीनाअगाडि पहिरोले थातबास गुमाएका बैतडीको सुर्नयाका पहिरोपीडितले हालसम्म पनि राहत पाउन नसकेको गुनासो गरेका छन् ।
गत साउन २२ गते सडकबाट खसेको पहिरोले विस्थापित भएका सुर्नया गाउँपालिका–८ मल्लोढोलेका छ परिवार अझै अर्काकै घरमा बस्न बाध्य भएका छन् । रेडक्रसको सामान्य राहतबाहेक अरू कसैले राहत पनि नदिएको उनीहरुले गुनासो गरेका छन् । पहिरोले घर तथा खेतबारी गुमाउँदासमेत कसैले नहेरेको स्थानीयवासी अम्मर बोहराले जानकारी दिनुभयो ।
पीडित परिवारहरुलाई खान लाउनमै समस्या भएको उहाँले बताउनुभयो । खेतमा लगाएको अन्न र घर सडकमाथिबाट खसेको पहिरोले बगाएपछि आफूहरुको बिचल्ली भएको उहाँले बताउनुभयो ।
पहिरोले स्थानीय लालबहादुर बोहरा, डम्मर बोहरा, अम्मर बोहरा, महावीर बोहरा, रमेश बोहरा र धौलसिंह बोहराको परिवार पूर्णरूपमा विस्थापित भएका छन् । उनीहरुको घरजग्गा सबै पहिरोले लगेपछि अर्काको घरमा बसिरहेका छन् । घरबारविहीन भएको एक महीना हुनै लाग्दासमेत कसैले चासो नदिएको पीडितहरुले गुनासो गरेका छन् ।
सतबाँझ श्रीभावर सडक खण्डअन्तर्गत ढोल्यामोढदेखि वडा कार्यालयसम्म काटिएको सडकबाट पहिरो खस्दा छ परिवार पूर्णरूपमा विस्थापित भएका छन् भने २२ परिवार पहिरोको उच्च जोखिममा रहेका छन् ।
यस्तै छ परिवार पहिरोको जोखिममा रहेका सुर्नया गाउँपालिका–८ का वडाध्यक्ष आनन्दसिंह बोहराले जानकारी दिनुभयो । पीडित परिवारको समस्या समाधानका लागि गाउँकार्यपालिकाको बैठकमा छलफल गरिने जनाइएको छ ।
सुर्नया गाउँपालिका अध्यक्ष वीरबहादुर बिष्टले प्रभावित भएकाले उनीहरुको व्यवस्थापनका लागि सबै सरोकारवालाहरुसँग छलफल गरेर अघि बढ्ने बताउनुभयो ।
यता जिल्ला प्रशासन कार्यालय बैतडीले पनि पहिरोले विस्थापित भएका पीडितको पुनःस्थापनाका लागि पहल थालिएको जनाएको छ । प्रजिअ आनन्द पौडेलले प्रभावित क्षेत्रको अनुगमन गरिसकेको र पुनःस्थापनाका लागि मन्त्रालयमा जानकारी पठाएको बताउनुभयो ।
गाउँपालिका–८ मल्लोढोलेमा गत महीना पहिरो खस्दा गाउँ नै जोखिममा पर्यो । असारमा डोजरले खनेको सडकले पहिरो खस्दा छ घर विस्थापित भएका छन् भने करीब २२ घर जोखिममा परे । ढोल्यामोडबाट वडा कार्यालयसम्म काटिएको सडककै कारण गाउँ नै जोखिममा परेको हो । स्थानीयवासी प्रेमबहादुर बोहराका अनुसार सडक माथिबाट ठूलो पहिरो खसेको छ । एक परिवार पूर्णरूपमा विस्थापित भएको छ भने अन्य पाँच परिवार घर छोडेर आफन्तका घरमा बस्न बाध्य रहेको रेडक्रस बैतडीका मन्त्री रमेशसिंह भण्डारीले जानकारी दिनुभयो । भिरालो जमीन भएकाले स्थानीयवासीले अन्यत्रबाट सडक लैजान आग्रह गरे पनि गाउँ नै जोखिममा पर्ने गरेर डोजरले सडक काट्दा विस्थापित हुनु परेको स्थानीयवासी अम्मरसिंह बोहराले बताउनुभयो ।
ढोल्यामोडदेखि सुर्नया गाउँपालिका–८ को कार्यालयसम्म गत वर्ष करीब रु ९५ लाखमा सडक खनिएको थियो । सडकका कारण पहिरोको जोखिम बढेको स्थानीयवासी वीरपल बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “सडकमा खनिएको सबै माटो खेतमा आएको छ । माथिबाट पूरै पहिरो खसेर घर नै जोखिममा परेका छन् । सडककै कारण बस्ती जोखिममा परेका हुन् ।”
जिल्लाका अन्य स्थानीय तहमा पनि पहिरोको जोखिम बढेको छ । बिना ‘स्टिमेट’ जथाभावी डोजरले खनिएका सडककै कारण बर्खामा समस्या बढेको हो । दोगडाकेदार गाउँपालिकाको–१ रिममा खनिएको सडकले पनि स्थानीय बासिन्दाका घर जोखिममा परेका छन् । खोचलेक–मल्लाढिक–सित्तड–रिम सडकले स्थानीय बासिन्दाका घर जोखिममा परेका हुन् । करीब रु एक करोडभन्दा बढी खर्चेर गत वर्ष निर्माण गरेको उक्त सडकले वर्षा शुरु भएसँगै पहिरोको जोखिम बढाएको छ । भुल्गाउँका छ घर पहिरोको जोखिममा परेको वडाध्यक्ष ध्वजबहादुर कार्कीले जानकारी दिनुभयो । परमले भुल, मन्धिरे भुल, चिउचे भुल, गोविन्द भुल, पत्या भुल र फुत्ते भुलको घर पहिरोको जोखिममा परेको उहाँले बताउनुभयो । घरमुनि बाट सडक खनिएकाले पहिरोको जोखिम बढ्दै गएको छ । घरआँगनबाट सडक निर्माण गर्दा जोखिममा परेपछि राति पालैपालो सुत्ने गरेको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
डोजरले खनेका सडककै कारण पहाडी धरातल भएको बैतडीका विभिन्न ठाउँमा पहिरोको त्रास बढेको छ । बिना स्टिमेट डोजरले खनेका सडकले पहिराको त्रास निम्त्याएको स्थानीयवासीको गुनासो छ । विगतमा काटिएका सडक बर्खासँगै खोल्सामा परिणत भएको स्थानीयवासी बताउँछन् । सडक काट्ने प्रतिस्पर्धा चलेपछि सबै स्थानीय तहले डाँडाकाँडा चिराचिरा पारेका छन् । मेशिनले जथाभावी सडक खन्दा पहिराको जोखिम एकातिर बढेको छ भने पानीका मुहान पनि हराउँदै गएको स्थानीयवासी बताउँछन् ।
गोकुलेश्वर–डिलासैनी सडकले पनि थलालगाउँ, ओखलबाटा, सेटीगाउँ, सौगाउँ लगायतका ठाउँमा पहिरोको जोखिम बढेको छ । छ वर्षअघि बाट सडक काट्न शुरु गरेदेखि नै घर पहिरोको जोखिममा परेको स्थानीयवासी हरिदत्त जोशीले बताउनुभयो । जथाभावी खनिएका कच्ची सडकले खेतीयोग्य जमीन र बस्तीमा प्रभाव पर्न थालेको पाटन नगरपालिका–६ का हरिश बिष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “विकासका नाममा विनाश भएको छ ।” जिल्लाका अधिकांश स्थानीय तहले सडकलाई प्राथमिकतामा राखेर गाउँगाउँमा सडक खनेका छन् । रासस