मङ्सिर ११, काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा भएको एक वर्षको अवधिमा झण्डै १ लाख १६ हजार श्रमिक योजनामा सहभागी भएकामध्ये प्रदेश नं ३मा बढी श्रमिक देखिएका छन्।
मङ्गलबारसम्म कोषमा १ लाख १५ हजार ६ सय ६ श्रमिक सूचीकृत भएको कोषले जनाएको छ। त्यस्तै १० हजार ४ सय ७७ प्रतिष्ठानसमेत सूचीकृत भएका छन्। कोषमा १८ करोड १३ लाख २ हजार ७ सय ८१ रुपैयाँ ३१ पैसा योगदान रकम सङ्कलन भएको छ।
सूचीकृत हुने श्रमिकमा सबैभन्दा बढी प्रदेश नं ३ बाट रहेका छन्। सो प्रदेशबाट ८७ हजार २ सय ४२ श्रमिक सूचीकृत भएको पाइएको छ। त्यस्तै प्रदेश नं १ बाट १५ हजार ७ सय ३५, प्रदेश नं २ बाट ६ हजार ८ सय ५२, गण्डकी प्रदेशबाट ३ हजार ११ श्रमिक सूचीकृत भएको कोषले जनाएको छ।
यस्तै प्रदेश नं ५ बाट २ हजार २ सय ७ श्रमिक सूचीकृत भएका छन् । सबैभन्दा कम कर्णाली प्रदेशबाट श्रमिक सूचीकृत भएका छन्। सो प्रदेशबाट अहिलेसम्म जम्मा १ सय ५० श्रमिक सूचीकृत भएको कोषले जनाएको छ। यस्तै सुदूरपश्चिम प्रदेशबाट ४ सय ९ श्रमिक कोषमा आबद्ध भएका छन्।
यसैगरी प्रदेश नं ३बाट सबैभन्दा बढी ७ हजार ४६ प्रतिष्ठान कोषमा सूचीकृत भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट १ सय ५वटा प्रतिष्ठान कोषमा दर्ता भएका छन्। प्रदेश नं १ बाट १ हजार ७ सय ६, प्रदेश नं ५बाट ६ सय १०, गण्डकी प्रदेशबाट ४ सय ८७, प्रदेश नं २ बाट ४ सय १३ र सुदूरपश्चिम प्रदेशबाट १ सय १० प्रतिष्ठान सूचीकृत भएको कोषले जनाएको छ।
हालसम्म सूचीकरणमा ६९ जिल्ला समेटिएका छन्।