जेठ २९, धनगढी। कोभिड–१९को सङ्क्रमणका कारण सबै गतिविधि बन्द भएसँगै सुदूरपश्चिम प्रदेशमा सिङ्गो सञ्चार क्षेत्रको आर्थिक अवस्था दयनीय बन्दै जाँदा श्रमजीवि पत्रकारमा पनि सङ्कट बढ्दै गएको छ । कोभिड–१९ को महामारीलाई रोकथाम तथा नियन्त्रण गर्न लामो समयदेखि लकडाउन गरिँदा आम जनजीवनसँगै सञ्चार क्षेत्र पनि मारमा परेको नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
कोभिड–१९को कहरका बीच महासङ्घ प्रदेश समितिले प्रदेशका सबै जिल्लाको स्थलगत अनुगमन गरी सञ्चारकर्मी तथा सञ्चारमाध्यमले भोग्नुपरेका समस्याको पहिचान तथा समाधानका उपाय पहिल्याउन हालै स्थलगत अध्ययन अनुगमन गरेको थियो ।
सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा ७५ एफएम रेडियो सञ्चालित छन् । दैनिक पत्रिका ४६, साप्ताहिक पत्रिका ४५, स्थानीय टेलिभिजन दुई छन् । नियमित प्रकाशन हुँदै आएका प्रायः सबैजसो दैनिक र साप्ताहिक पत्रिका लकडाउन शुरु भएदेखि नै बन्द छन् । प्रदेशका दुई तराईका जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै केही सीमित पत्रिका प्रकाशन भइरहेका छन् । नियमित प्रकाशन भइरहेका पत्रिकाले समेत निकै समस्या र चुनौतीको सामना गर्नुपरेको छ । बजार बन्द छ, स्वास्थ्य असुरक्षा उस्तै छ । विज्ञापन शून्य छ ।
यस अवस्थामा समुदाय तहसम्मलाई सूचना दिने काम एफएम रेडियोले गरिरहेका छन् । रेडियोले आम स्रोतालाई कोभिड–१९ का बारेमा समेत जनचेतना जगाउने काम गरिरहेका छन् । सरोकारवालालाई जवाफदेहिता वृद्धि गराउने कार्य पनि गरिरहेका छन् । थुप्रै समस्याका बाबजुद पनि एफएम रेडियो नियमित प्रसारण भइरहेका भए पनि उनीहरुको आम्दानी ह्वात्तै घटेको छ । व्यापारिक विज्ञापन छैनन् । प्रसारण हुँदै आएका विज्ञापनसमेत सम्बन्धित व्यक्ति र संस्थाले बन्द गर्न लगाइएको महासङ्घको अध्ययन प्रतिवेदनमा जनाइएको छ ।
अधिकांश पत्रपत्रिका लकडाउन शुरु भएदेखि नियमित प्रकाशन हुनसकेका छैनन् । अनलाइन आम नागरिकलाई सूचना प्रदान गर्ने/गराउने सशक्त माध्यम बनेका छन् । एफएम रेडियोले पनि समय घटाउनुपरेको बाध्यात्मक अवस्था छ । जसका कारण रेडियो, पत्रपत्रिका, अनलाइन र टेलिभिजनको अवस्था आर्थिक तथा व्यावसायिकरूपमा दयनीय बन्दै जाँदा सम्पूर्ण श्रमजीवी पत्रकारमाथिको सङ्कट बढ्दै गएको छ ।
पछिल्लो समय सञ्चारको सशक्त माध्यमका रूपमा विकास भइरहेको अनलाइनसमेत आम मानिसको सूचनाको स्रोत बनेका छन् । धेरै मानिसलाई कोभिड–१९ का बारेमा सूचना दिने र सचेतता गराउने काम अनलाइनले गरेको पाइएको छ । अनलाइनमा काम गर्ने सञ्चारकर्मीका समेत उस्तै समस्या छन् । अनलाइनमा विज्ञापन शून्य छ ।
प्रदेशका सबै जिल्लामा हरेक राष्ट्रिय मिडियाका प्रतिनिधि कार्यरत रहेका छन् । तीमध्ये अधिकांश स्ट्रिङ्गर समाचारदाता हुनुहुन्छ । अहिले उत्पन्न परिस्थितिमा उहाँहरुलाई मिडिया हाउसले घुमाउरो पारामा काम नगर्न भनेको महासङ्घको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । टेलिभिजनले भने आफ्ना प्रतिनिधिलाई अहिले पनि काममा लगाइरहेको छ । हरेक व्यक्तिको सम्पर्कमा जानुपर्ने भएका कारण रेडियोकर्मी तथा टेलिभिजनकर्मी कोरोनाको उच्च जोखिममा छन् ।
कैलाली र कञ्चनपुरका सञ्चारकर्मीले थोरै भए पनि स्वास्थ्य सामग्रीका रूपमा मास्क, स्यानिटाइजर र पञ्जा पाएका भए पनि पहाडी जिल्लामा कार्यरत सञ्चारकर्मीले यस्ता सामग्री पनि पाउन सकेका छैनन् । उनीहरु स्वास्थ्य सामग्रीबिना नै रिपोर्टिङमा गइहेका छन् । कतिपय स्थानीय निकाय, सङ्घसंस्था र व्यक्तिले पत्रकारका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् तर धेरैजसो ठाउँमा किनेर पनि स्वास्थ्य सामग्री पाउने अवस्था छैन ।
कोरोना प्रभावितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । कतिपय व्यक्तिले कोरोनाका कारण ज्यानसमेत गुमाएका छन् । यस्तो अवस्थामा सञ्चारकर्मी कोभिड–१९ सङ्क्रमणका बारेमा आम मानिसलाई जानकारी दिन चाहन्छन् । तर सूचना सहजरूपमा प्राप्त गर्न नसकेका कारणसमेत सञ्चारकर्मी समस्यामा छन् ।
नेपाल पत्रकार महासङ्घ प्रदेश समितिको अध्ययन प्रतिवेदनमा सञ्चारमाध्यम आर्थिक हिसाबमा जर्जर भई सञ्चारकर्मीको अवस्था जटिल बन्दै गएको अवस्थामा सञ्चारकर्मीको व्यावसायिक तथा आर्थिक सुरक्षाका साथै स्वास्थ्य सामग्रीको उपलब्धता र बीमा गर्न जरुरी रहेको सुझाव दिइएको छ । रासस