२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नागढुङ्गा सुरुङमार्ग निर्माणको काम ठप्प

२०७७, १७ असार बुधबार १६:४७

असार १७, काठमाडौँ (रासस) | नागढुङ्गास्थित नेपालको पहिलो सुरुङमार्ग निर्माणको काम अघि बढ्न सकेको छैन । कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी राखेको बन्दाबन्दीमा सुरुङमार्ग निर्माण ठप्प भएको हो । 

सो आयोजनाको निर्माण शुरु भएको केही दिनमा नै बन्दाबन्दी कारण यहाँ कार्यरत विदेशी र नेपाली सबै फर्किएपछि निर्माणको काम ठप्प भयो । निर्माण कम्पनीले आवश्यक सबै सामग्री निर्माणस्थलमा ल्याए पनि जनशक्तिका अभावमा काम हुन नसकेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ । 

सरकारले ४२ महिनामा निर्माण सक्ने गरी हाज्मा आङ्लो कर्पोरेशनलाई निर्माणको जिम्मेवारी दिएको थियो । जापान सरकारको ऋण सहयोगमा निर्माणाधीन सो आयोजनामा लामो समयसम्म काम नहुँदा निर्धारित समयमा निर्माण सम्पन्न नहुने देखिएको महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताउनुभयो ।


उहाँका अनुसार निर्माणस्थलमा अहिले १०/१२ स्थानीय कामदार मात्रै छन् । उहाँले भन्नुभयो,“पाँचसात सय जना काम गरिरहेकामा १०/१२ जनाले के गर्नु छ र ?” सरकारले गत चैत ११ मा बन्दाबन्दी लागू गरे पनि कम्पनीले निर्माणको काम रोकेको थिएन । स्थानीयवासीले विरोध गरेपछि काम रोकेर कामदारलाई उनीहरुको घरघर फर्काइएको प्रमुख थापाले बताउनुभयो । जापानी संस्थाले सरकारको नियमको पालना गर्दा नेपालीलाई पनि घर फर्काएको थियो भने विदेशी कामदार पनि फर्किएका थिए । बन्दाबन्दी लागू भएको एक महिनापछि विकानिर्माणलाई निरन्तरता दिइने भने पनि निर्माणस्थलमा काम गर्ने वातावरण नबनेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “टाढाटाढाका जिल्लामा गएकालाई फर्काएर ल्याउन सक्ने अवस्था थिएन ।” निर्माण कम्पनीले गत असोजदेखि काम शुरु गरे पनि शुरुको महिनामा कामदार र निर्माण सामग्री व्यवस्थापनको काम गरेको थियो । कतिपय सामग्री नेपाली भए पनि कतिपय जापानबाट ल्याइएको उहाँले बताउनुभयो । कम्पनीले विस्फोटक पदार्थका लागि अनुमति पाइसकेको छैन । उहाँले भन्नुभयो,“हामीले मागेभन्दा आधाको मात्रै स्वीकृति पाएका छौँ ।”

निर्माण शुरु भएको पाँच छ महिनाको अवधिमा कम्पनीले माटो सम्याउने, आवश्यक सामग्रीको व्यवस्थापन गर्ने, जनशक्ति ल्याउनेलगायत काम अघि बढाएको सडक विभागले जनाएको छ । कम्पनीले अहिले आयोजनास्थलसम्म पुग्ने पहुँच सडक निर्माण शुरु गरिसकेको छ । सोही आयोजनाअन्तर्गत काठमाडौँतर्फ बलम्बुसम्म दुई दशमलव पाँच किमी र धादिङतर्फ ५०० मिटर सडक निर्माण हुँदैछ । आयोजना हेर्ने गरी शिविर कार्यालय निर्माण र निर्माणस्थललाई पर्खालले घेर्ने काम भइसकेको छ । 


सुरुङको कूल लम्बाइ दुई दशमलव सात किमिको हुनेछ । आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुई सुरुङ निर्माण हुनेछ । दुई ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुख र सतुङ्गलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ । अन्तरराष्ट्रिय मापदण्डानुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुने विभागले जनाएको छ ।

तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रँदा पनि दुई वटै गाडी चल्न सक्नेछन् । सहायक टनेल तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्नेछ ।

सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यहीँ निर्माणका क्रममा प्रयोग हुने प्रमुख थापाले बताउनुभयो । माटोलाई भने सिस्ने खोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिने छ । सो स्थानमा बसपार्क, तरकारी सङ्कलन केन्द्रलगायत कक्ष हुने बताइएको छ । निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेँसी नगरपालिकामा नै हस्तान्तरण हुनेछ । केन्द्रबाट सेवा शुल्क उठाएर नगरपालिकाले आर्थिक उपार्जन गर्ने र त्यसैको व्यवस्थापनमा खर्च गर्ने गरी योजना बनाइएको थियो । 


काठमाडौँ उपत्यका छिर्ने मुख्य नाकाको चाप कम गर्न निर्माण गर्न लागिएको सो सुरुङमार्गले सञ्चालन भएको सात वर्षमा  लगानी बराबरको प्रतिफल दिने अध्ययनमा उल्लेख छ । आयोजना सम्पन्न गर्न रु २२ अर्ब लाग्नेमा जाइकाले रु १६ अर्ब सहयोग गर्ने र रु छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण महाशाखाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो