३० चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

असारे भाका गाउँदै धान रोपाइँ गर्ने बेठी परम्परा लोप हुन थाले

२१ असार २०७७, आईतवार ०४:३४

भविन कार्की । असार २१, खाँदबारी । सहरिया नयाँ पुस्तालाई ‘बेठी’ शब्द नै आश्चर्यको विषय बन्न सक्छ । बेठी लगाएर धान रोप्ने चलन निकै पुरानो मानिन्छ । ग्रामीण भेगका गाउँबस्तीमा असारे भाका गाउँदै रोपाइँ गर्ने चलन पछिल्लो समय लोप हुन थालेको छ । नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारको दोहोरीसहितको धान रोपाइँ बेठी परम्परा किसानको संस्कृति अब स्मृतिमा सीमित हुँदै जान थालेको छ । 

पुर्खादेखि चल्दै आएको चलनलाई जीवन्त राख्न बेठी परम्परालाई संरक्षण गर्ने प्रयास गरिएको छ । लोप भइसकेको बेठी परम्पराको जगेर्ना गर्न सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ वानाका चार दाजुभाइले गत वर्ष बेठी लगाएर धान रोपाइँ गरेका थिए । चार दाजुभाइले २० वर्षपछि लगाएको बेठी युवापुस्ताका लागि अत्यन्तै नौलो र रोचक दृश्य बनेकोे पाँचखपनका स्थानीय वृद्ध बृहस्पति गौतमले बताउनुभयो । नौमती बाजा बजाएर असारे भाकामा दोहोरीसहित गत वर्ष बेठी लगाउँदै धान रोपाइँ गरिए पनि यस वर्ष निरन्तरता पाउन सकेन । हराउनै लागेको बेठीको संरक्षण गर्नका लागि आफूहरुले यस वर्ष बेठी लगाएको चन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । वर्षौँअघिदेखि चल्दै आएको बेठी रोपाइँको चलन अहिले एक देशको कथाजस्तो भएको स्थानीयवासीको भनाइ छ ।

पहिले नै हिलो आली सकेर तयार पारेको पर्याप्त पानी पुग्ने खेत, तयारी अवस्थाको धानको बीउ, दर्जनौँ हलगोरु, सोही अनुपातमा बाउसे, रोपाहार अनि बाजागाजाको टोली भएपछि मात्र बेठीको रौनक शुरु हुन्छ । मानव जीवन र हिलो माटोबीचको अन्योन्याश्रित सम्बन्धको प्रतीकसमेत बन्दै आएका किसानले माटोको टीका थाप्नुपर्ने बेठीमा दर्जी समुदायले बाजा बजाउने र श्रमिकले आ–आफ्नो भूमिकाअनुसारको खेतमा काम गर्नुपर्ने चलन रहेको पाँचखपन–१ का ७१  वर्षीय टीकादत्त भट्टराईले बताउनुभयो ।

देशमा भूमिसम्बन्धी जिम्मावाल व्यवस्था कायम रहुञ्जेलसम्म जिम्मावालको सान र रवाफको पर्याय बन्दै आएको बेठी परम्परा विसं २०२१ मा लागू भएको भूमिसुधार कार्यक्रमपछि गाउँ समाजमा सामाजिक प्रतिष्ठाका रूपमा हुनेखाने वा गाउँका धनीमानी वा मुखियाहरुकै प्रतिष्ठा वृद्धिको माध्यमका रूपमा चल्दै आयो । नौमती बाजाको तालमा रौसिँदै, असारे गीतको भाका हाल्दै, जोतेको हिलो माटोलाई लेदो बनाउन दाँदे लाउने, हिलो सम्याउने बाउसे, कोही पानीको मात्रा मिलाउने, कोही ब्याडमा बीउ काढ्ने, कसैले गरागरामा बीउका मुठा ओसारिदिने, रोपाहारले आपसमा उछिन र पाछिन गर्दै लहर मिलाएर बीउ रोपेको दृश्य निकै रोमाञ्चक हुन्छ । सिमेभूमेको पूजा, ठूलो गरामा धान धेरै फलोस् भन्ने कामनासहित भकारी बाँधेर नाचसहित आपसमा हिलो छ्यापाछ्याप गर्दा दिनभरिको सबै थकान मेटिन्छ । 

रोपाइँ सकेपछि भोज खाने चलन रहेकाले यसलाई किसानले पछिल्लो समय पर्वका रूपमा मनाउन थाले । बेठीको दिन आप्mना चेलीबेटीलाई समेत बोलाएर रोपाइँ गर्ने चलन छ । नौमती बाजा, दर्जनौँ हलगोरु, सयौँ रोपाहार र बाउसेहरुले एकै दिन रोपाइँ गरेर उनीहरुले यसलाई पर्वका रूपमा मनाउने गरेका थिए । अरुबेला गरिएको रोपाइँमा खेताला पर्म र बोलाइएकाहरुलाई पैसा दिनुपर्ने भए पनि बेठीमा आएकाहरुको पर्म तिर्नु पर्दैन तर रोपाइँ सकिएपछि माटोको टीका र धानको बीउको फूल लगाएर रोपाहार र चेलीबेटीलाई दक्षिणास्वरुप पैसा दिने चलन छ । बेठी परम्परा विगतमा जुन हिसाबले थालनी गरिए पनि लोपोन्मुख संस्कृति भएकाले यसको संरक्षण गर्नु किसानको मात्र नभएर सरकारको समेत कर्तव्य भएको सरोकारवालाको भनाइ छ । 

नेपाली समाजमा यो चलन कहिले शुरु भयो कसैले यकिनसाथ भन्न सक्तैन । जे जसरी शुरु भए पनि पहिलेको समाजमा मुखिया वा जमीनदारहरुले बेठी लगाउने दिन भनेपछि उसको समाजका सबैले आफ्नो परिवारबाट एक जना श्रमिक पठाउने गर्दथे । तत्कालीन समाजमा बेठीमा आएका श्रमिकलाई ज्याला दिइँदैनथ्यो । न पर्म नै तिरिन्थ्यो । जिम्मावाल वा मुखिया प्रथामा आएको परिवर्तनसँगै बेठी परम्परामा समेत आएको परिवर्तनले श्रमिकहरुलाई ज्याला दिने चलन बसेको थियो । सामाजिक परिवर्तनको लहर वा मानिसहरुको दृष्टिकोण र बानी व्यवहारमा आएको परिवर्तनले बेठी परम्पराको अस्तित्व लोप हुनपुगेको छ ।

आजभोलि गाउँघरतिर पहिलेको जस्तो खेतीपातीको काममा आकर्षण छैन । पछिल्लो समय ग्रामीण भेगका युवापुस्ता शहर केन्द्रित श्रम, वैदेशिक रोजगारी र कृषि कार्यमा अपेक्षित ज्याला नपाइने भएकाले खेतीपाती छाड्ने गरेका छन् । सङ्खुवासभामा १३ हजार हेक्टर जमीनमा धानखेती गरिने गरेको कृषि ज्ञान केन्द्र सङ्खुवासभामा प्रमुख गोविन्द आचार्यले बताउनुभयो । जिल्लामा अहिलेसम्म १७ प्रतिशत धान रोपाइँ सकिएको प्रमुख आचार्यको भनाइ छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रविले हाले सर्वोच्च अदालतमा निवेदन गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण पूर्वराजालाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने जीवन परियारको माग भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ