२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चिया किसानको आन्दोलन सहमति नजिक

२०७७, ४ श्रावण आईतवार ०५:१०

किरण पौड्याल। साउन ४, इलाम। लामो समयदेखि आन्दोलनरत चिया किसानले पछिल्लो छलफलबाट आफ्ना माग सुनुवाइ हुँदै गएकाले सहमति नजिक पुगेको बताएका छन् । उद्योगले विभिन्न बहाना बनाएर हरियो चियाको दाम कम्ती दिएको भन्दै आन्दोलनमा होमिएका किसान अब भने चियाको उचित दाम पाउनेमा आशावादी देखिएका छन् ।

सूर्योदय नगरपालिकामा रहेका चिया उद्योगले बन्दाबन्दीको बहाना बनाउँदै नगरले तोकेको मूल्यभन्दा कम मूल्यमा चिया लिने बताएपछि किसान आन्दोलनमा होमिएका थिए । दुई वर्षअघि नगरपालिकाले हरियो चियापत्ती प्रतिकिलो मूल्य रु ४० भन्दा कममा उद्योगले किन्न नपाउने भन्दै कार्यविधि नै बनाएको थियो तर अहिले उद्योगीले बन्दाबन्दीमा चिया बेच्न नसकिएका कारण व्यवसाय घाटामा गएकाले तोकिएको मूल्य दिन नसक्ने बताएका थिए ।

त्यसपछि आन्दोलनमा रहेका किसानले पछिल्लो समय उद्योगले माग सम्बोधन गर्न सकारात्मक रहेकाले सहमतितर्फ वार्ता पुगेको बताएका छन् । नगरपालिकाले समेत तोकिएको मूल्यमा किसानको चिया किन्न उद्योगीलाई आदेश दिएपछि उद्योगी माग पूरा गर्न सकारात्मक देखिएको सूर्योदय नगरपालिका–११ का चिया किसान सोनामछिरिङ काजीले बताउनुभयो ।

नगरपालिकाले हरियो चियापत्तीको न्यूनतम मूल्य रु ४० कानूनमै लेखिएकाले उद्योगले पूरा नगरे कारवाही गर्ने बताएपछि उद्योगी सकारात्मक देखिएको सोनामले बताउनुभयो । “नगरपालिका, चिया किसान र उद्योगीबीच वार्ता बस्दा नगरप्रमुख रणबहादुर राईले कानूनको कुरा गरेपछि उद्योगी सकरात्मक हुँदै आएका हुन्”, उहाँले भन्नुभयो, “धेरै उद्योगी अहिले पनि सकारात्मक हुनुहुन्छ । केही उद्योगीले मात्र कुरा बुझ्नुभएको छैन ।”

नगरका अधिकांश किसानले गुणस्तरहीन चिया कारखानामा ल्याउने भएकाले तोकिएको मूल्य दिन नसकेको उद्योगीले बताएका थिए तर किसानले भने सबै चियालाई कारखानाले एकै दाम दिने भएकाले चियामा गुणस्तर कायम गर्न नसकेको बताएका थिए । “कारखानाले सबै चियाको दाम एकै किसिमको दिन्छ”, सोनामले भन्नुभयो, “डोकोमा लगेको, बोरामा खाँदेको वा एक पात दुई सुइरो वा आठ इञ्च लामो सबै चियाको दाम एउटै मापदण्डमा राखेपछि गुणस्तर कम भएको हो ।” 

उद्योगीले गुणस्तरीय चिया मात्र किनेमा आफूहरू गुणस्तरीय चिया बनाउन पनि तयार रहेको सोनामले बताउनुभयो । उद्योगले चियाको गुणस्तरअनुसार प्रतिकिलो रु ४० देखि रु १०५ सम्म दाम दिन सकिने बताएपछि तोकिएअनुसारको चियाको दाम नदिने गरेको किसानले बताएका छन् । तोकिएकै दाम दिने उद्योगले कबोल गरेर चिया लिए पनि भुक्तानीको समयमा तोकिए जति दाम नपाउने गरेको अर्का चिया किसान डम्बर कटुवालले बताउनुभयो । “हामी सबै किसान पढेलेखेका पनि छैनौँ । पहिले राम्रै दाम दिने भनेर चिया किने पनि पछि कम दाम दिन्छन्”, डम्बरले भन्नुभयो, “आफूले उत्पादन गरेको वस्तुको मूल्यमा समेत हामी ठगिँदै आएका छौँ ।”

यता उद्योगहरूले भने गुणस्तरीय चिया आए तोकिए (रु ४० प्रतिकिलो) भन्दा बढी पनि मूल्य दिएर किन्ने बताएका छन् । किसानको चियामा गुणस्तर नहुने भएकाले नै कम मूल्य दिनुपरेको उद्योगीले बताएका छन् । “विषम परिस्थिति छ, चिया बजारमा जानसमेत सकेको छैन तर पनि चियाको गुणस्तरअनुसारको मूल्य दिन्छौँ”, सूर्योदय चिया प्रोडक्सनका सचिव गोपाल कट्टेलले भन्नुभयो, “हामी गुणस्तरीय चिया आएमा रु ४० होइन रु ९५ मा समेत किन्न सक्छौँ ।” कट्टेलले बन्दाबन्दीका कारण चिया बेच्न नसकिएकाले चियाको अग्रिम भुक्तानी दिन नसकिएको बताउनुभयो । 

नगरपालिकाले पनि तोकिएको भन्दा कम मूल्यमा किसानको चिया उद्योगले किन्न नसक्ने बताएको छ । चियाको मूल्य निर्धारण गर्दा उद्योगी, किसान, चिया बोर्ड सबैको छलफल भएकाले उद्योगले कानूनअनुसार चल्नुपर्ने नगरपालिकाका आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्माले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो