२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुदूरपश्चिम प्रदेशको राजधानी तोकेको दुई वर्ष : पूर्वाधार कामले गति लिन सकेन

४ श्रावण २०७७, आईतवार ०५:२१

मीन ठकुरी। साउन ४, गोदावरी। सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गोदावरीलाई स्थायी राजधानी तोकेको दुई वर्ष पुग्न लाग्दा पनि आवश्यक पूर्वाधार निर्माणको कामले गति लिन सकेको छैन । प्रदेश सरकारले राजधानी बनाउनका आवश्यक जग्गा प्राप्तिको अधिकार नपाउँदा पूर्वाधार निर्माणको कामले गति लिन नसकेको हो ।

सुदूरपश्चिम प्रदेशसभाको विसं २०७५ असोज १२ गते बसेको दोस्रो अधिवेशनको ४६औँ बैठकले कैलालीको गोदावरी नगरपालिकाको–२ र ४ क्षेत्रमा स्थायी राजधानी बनाउने निर्णय गरेको थियो । असोज १२ गते दुईतिहाइ बहुमतले उक्त स्थान नै स्थायी राजधानी घोषणा गरी राजधानीसम्बन्धी निर्णय १४ गते प्रमाणित गरिएको थियो ।

प्रदेशसभाले राजधानीको स्थान र नाम छनोटका लागि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक तारा लामा तामाङको संयोजकत्वमा सत्तारूढ दलकै बलदेव रेग्मी, प्रेमप्रकाश भट्ट, चुनकुमारी चौधरी, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका तर्फबाट श्यामलाल रानाथारू गरी पाँच सदस्यीय विशेष सुझाव समिति गठन गरेको थियो । सो समितिले स्थायी राजधानीका लागि कैलालीको गोदावरी नगरपालिका–२ र ४ तेघरीस्थित नेपाली सेनाको ब्यारेक रहेको स्थानदेखि उत्तरपश्चिम, गोदावरी–धनगढी–डडेधुरा राजमार्ग पश्चिम, गोदावरीखोलादेखि पूर्व र गोदावरीबजारदेखि दक्षिणको चार किल्ला क्षेत्र सिफारिस गरेको थियो । प्रदेशको नामकरण सुदूरपश्चिम प्रदेश सिफारिस गरेको थियो ।

राजधानी घोषणा भएको दुई वर्ष पुग्नै लाग्दा पनि आवश्यक अन्य प्रक्रिया अघि नबढ्दा अस्थायी राजधानी धनगढीबाटै नियमित कामकाज सञ्चालन हुँदै आएको छ । सुदूरपश्चिम प्रदेशको नामकरण चलनचल्तीमा आए पनि राजधानीको जग्गा प्राप्तिसँगै अन्य आवश्यक पूर्वाधार निर्माणको काम अघि बढ्न नसकेको नेकपाका प्रमुख सचेतक तामाङले बताउनुभयो । राजधानी कार्यान्वयनका लागि सरकारले कार्यदल नबनाउँदा समस्या भएको उहाँको भनाइ छ । प्रदेश सरकारले जसरी राजधानीको स्थान र प्रदेशको नामकरणका लागि समिति गठन गरेको थियो, त्यसैगरी कार्यदल बनाएको भए धेरै काम अघि बढिसक्ने तामाङको दाबी छ ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारको प्राथमिकतामा राजधानी बनाउने भनेर बजेट विनियोजन भएकाले काम अघि बढ्ने विश्वास आफूले लिएको उहाँले बताउनुभयो । प्रमुख प्रतिपक्षी दल काँग्रेसका प्रदेशसभा सदस्य एवं छनोट समिति सदस्य रानाले भन्नुभयो, “हाम्रो काम सुझाव दिने मात्रै थियो । सरकारले स्थायी राजधानी बनाउनका लागि आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने हो, तर प्रदेश सरकारको कमजोरीका कारण अघि बढ्न सकेको छैन ।”

आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशसभाले तोकेको स्थानमा राजधानी निर्माणको काम अघि बढाउन प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा राजधानी पूर्वाधार समिति गठन गरेको छ । सो समितिमा प्रदेशका मन्त्रीहरु सदस्य रहेका छन् भने समितिको सदस्यसचिवमा वन निर्देशनालयका वन निर्देशक हेमराज विष्ट रहनुभएको छ । उहाँका अनुसार राजधानी पूर्वाधार निर्माणका विषयका कुनै पनि काम अघि बढ्नसकेको छैन । राजधानी पूर्वाधार विकासकार्यलाई प्रभावकारी बनाउन चालु आव २०७७/७८ लागि सञ्चालन अनुदान र वातावरणीय प्रभाव मूल्याङ्कन, विस्तृत परियोजना प्रतिवेदनलगायतको कार्य गर्न पूँजीगत र चालू गरी रु दुई करोड ७४ लाख बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारको गत आव २०७६/७७ को बजेट, नीति तथा कार्यक्रममा प्रदेश राजधानीको संरक्षण, तटबन्धन, घेरा, पर्खाल र सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएको थियो । सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार प्रदेश सरकारले राजधानी तोकिएको स्थानको संरक्षणका लागि गत आव २०७६/७७  मा रु पाँच करोड विनियोजन गरेको थियो तर अदालतको फैसला नआउँदा र सङ्घीय सरकारले राजधानी कार्यान्वयनका लागि जग्गा हस्तान्तरण नगर्दा विनियोजन गरेको बजेट खर्च हुन सकेन ।

सरकारकै कमजोरीले राजधानी कार्यान्वयनमा समस्या भइरहेको विपक्षी दलहरूको आरोप छ । काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले शुरुदेखि नै वन मासेर राजधानी बनाउने विषय उपयुक्त छैन भनेर सुझाव दिएको बताउनुभयो । “वन फडानी गरेर राजधानी बनाउने कुरा राम्रो होइन”, उहाँले भन्नुभयो, “त्यसैमाथि सरकारले कुनै चासो नदिँदा अघि बढ्न सकेको छैन ।”

वन क्षेत्रमा राजधानीको स्थान घोषणा भएका कारण कार्यान्वयनमा समस्या आएको बुझाइ छ । त्यसैमाथि सर्वोच्च अदालतमा दुई मुद्दा नै दर्ता भएका छन् । अदालतको नियमित काम शुरु नहुँदा पेशी अगाडि बढ्न नसकेको बताउँदै प्रदेशका मुख्य महान्यायाधिवक्ता कुलानन्द उपाध्यायले भन्नुभयो, “अदालतले चाँडै नै यस विषयमा फैसला गरे काम अघि बढ्ला ।” प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जग्गा प्राप्तिका लागि सङ्घीय सरकारलाई आग्रह गरेको बताउनुभयो । उहाँले जग्गा प्राप्तिपश्चात डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) लगायत पूर्वाधारको काम अघि बढ्ने बताउनुभयो । 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता डा रावलले विशेष सुझाव समितिले ल्याएको प्रस्ताव मान्य नहुने बताउँदै संसद् बहिष्कार गरेपछि सत्तारूढ दलका सांसदहरू भने मतदान प्रक्रियामा सहभागी भएका थिए । सुदूरपश्चिम प्रदेशमा सभामुखसहित ५३ प्रदेशसभा सदस्यमध्ये सत्तारूढ दल नेकपाका ३९, काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सदस्य छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य