९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोलभेँडाबाटै मनग्य आम्दानी

२२ श्रावण २०७७, बिहीबार ०९:०८

वासुदेव पौडेल । साउन २२, गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउँदुर रानीथोकका नारायणप्रसाद पौडेल र उहाँकी श्रीमती कमलाले व्यावसायिक कृषि थालेको आठ वर्ष पुगेको छ । कृषिप्रतिको लगावसँगै आयआर्जन राम्रो भएको त छ नै यतिखेर उहाँहरू अरुका लागि पनि अनुकरणीय बन्नुभएको छ । रोजगारीको खोजीमा भौँतारिएका युवा वर्गका लागि यहीँ बसेर केही गर्न सकिन्छ भन्ने दरिलो उदाहरण बनेका उहाँहरूले यामअनुसारका तरकारीसँगै पछिल्ला समयमा बजारमा राम्रो माग बढिरहेका किवी, भुइँस्याउजस्ता फलफूलको खेतीसमेत थाल्नुभएको छ ।

कृषिको आधुनिकीकरणमा ध्यान दिँदै करिब दुई रोपनी क्षेत्रफलमा टनेल निर्माण गरी त्यहाँ लगाइएका गोलभेँडाले राम्रो उत्पादन दिन थालेको र त्यहीअनुरूप बजारको माग बढेपछि आफूहरूमा अझै उत्साह बढेको कृषक नारायणप्रसादले बताउनुभयो । आफ्नो १७ वर्षसम्मको विदेश बसाइका क्रममा कृषि क्षेत्रका देखाइभोगाई समेतलाई व्यावसायिक कृषिमा उपयोग गर्ने गरेको उहाँले बताउनुभयो ।

“विदेशको बसाइका क्रममा पनि त्यहाँबाट विभिन्न जातका बीउ ल्याएर लगाउने गरेका थियौँ”, उहाँले भन्नुभयो, “कतारबाट ल्याएको बीउबाट तयार गरिएका बिरुवामा एउटै गोलभेँडा झण्डै आधा किलोसम्म फल्न थालेको छ ।” पौडेल दम्पतीले एक रोपनी क्षेत्रफलमा किवीखेती पनि शुरु गर्नुभएको र यसै वर्षदेखि फल्न थालेको छ ।

नारायणप्रसादकी श्रीमती कमलाका अनुसार आठ वर्षअघिसम्म यो ठाउँमा गोलभेँडा लगाउनेभन्दा सबै हाँस्ने गर्दथे । शुरुमा आफूसहित चार महिलाले आँट गरेर गोलभेँडा लगाएको र त्यसबाट राम्रो उत्पादन भएपछि यहाँका धेरै सर्वसाधारणले यतिखेर यसको खेती थालेका छन् । जीवनोपयोगी कृषक समूह गठन गरी पहिलो वर्ष चार जनाबाट शुरु गरिएको गोलभेँडा खेती राम्रो उत्पादन भएसँगै दोस्रो वर्ष यहाँका २० घरपरिवारले घरघरमा गोलभेँडा लगाएको उहाँले जानकारी दिनुभयो ।

गोलभेँडाबाटै वार्षिक रु डेढदेखि दुई लाखसम्म आम्दानी हुने गरेको जानकारी दिँदै उहाँले व्यावसायिक कृषिबाट घरपरिवारको दैनिकी सञ्चालनका साथै छोराछोरीको पठनपाठन राम्रैसँग चलेको जानकारी दिनुभयो । उत्पादित गोलभेँडा एवं तरकारीको बजारलाई समस्या नभएको बताउँदै उहाँले टनेलबाट दुई दिनमा करिब ५० किलोसम्म बिक्री गर्ने गरेको उल्लेख गर्नुभयो । उत्पादित तरकारी खोज्दै ग्राहक डोको लिएर घरघरमै आउने गरेको उहाँको भनाइ छ ।

पौडेलको बारीमा गोलभेँडाका साथै यामअनुसार काउली, बन्दा, आलु, साग, घिरौँला, लौका, काँक्रा आदिको पनि राम्रो उत्पादन हुने गरेको छ । व्यावसायिक कृषिमा लागेको आठ वर्ष पुगे पनि पौडेल दम्पतीले हालसम्म राज्यबाट कुनै सेवा सुविधा भने पाउनुभएको छैन । परम्परागत कृषिमा पनि पाउँदुर वर्षौँदेखि आफ्नो पहिचान बनाएको ठाउँ हो । विगतमा कोदोको राम्रो उत्पादन हुने स्थानका रूपमा यसले छुट्टै पहिचान बनाएको थियो ।

अनिकालका समयमा पनि पाउँदुरे कोदो कास्कीका विभिन्न स्थानमा पुग्ने गरेको र त्यही कुरामा आधारित भई ‘दुःखको पाउँदुर’ भन्ने उखान प्रचलनमा रहेको पाइन्छ । पहिला–पहिला एउटै घरमा वार्षिक सात–आठ मुरीसम्म कोदो उत्पादन हुने गरेको भए पनि पछिल्ला समयमा जनशक्तिको अभाव, कोदो खेतीप्रतिको अनिच्छालगायतका कारण कोदोखेतीप्रतिको आकर्षण घट्दै गएको छ ।

“पहिला कोदोको उत्पादन राम्रै हुन्थ्यो त्यस समयमा ढिँडो, रोटी खाँदा पनि लुकाएर खानुपर्ने अवस्था थियो”, पौडेलले भन्नुभयो, “अहिले उत्पादन एकदमै कम छ, कोदोको माग दिनानुदिन बढ्दो छ ।” कृषिप्रतिको व्यावसायिकता बढेसँगै पछिल्लो समयमा महिला क्षमता अभिवृद्धि कार्यक्रममार्फत यहाँका १४ महिला मिलेर सामूहिक कुरिलो खेती थालेका छन् । यसै वर्षदेखि कुरिलोले राम्रो उत्पादन दिन थालेको कमलाले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली