२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विष्णुमती किनारको फिल्टर प्लान्ट आयोजनाको सूचना माग्दै स्थानीयवासी

२०७७, ३० श्रावण शुक्रबार ०७:३२

पूर्णप्रसाद मिश्र । साउन ३०, काठमाडौँ । राजधानीको मध्यभागमा रहेको विष्णुमती किनारमा उपभोक्ता समितिमार्फत निर्माण भइरहेको ‘फिल्टर प्लान्ट’आयोजनाले सूचना पाटी नराखेपछि स्थानीयवासी सूचना माग्न सम्बन्धित कार्यालय पुगेका छन् ।

राजधानीको मुटुमै अपारदर्शीरुपमा योजना सञ्चालन भइरहेको र त्यससम्बन्धी जानकारी स्थानीयवासी एवं वडा कार्यालयलाई समेत नभएको समाचार राससमार्फत यही साउन २१ गते सार्वजनिक भएको थियो । काठमाडौँ महानगरपालिका–१९ स्थित कङ्केश्वरी मन्दिर नजिकै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलेसमेत पिउनयोग्य पानी नआउने भनी प्राविधिक प्रतिवेदन दिएको स्थानमा ‘फिल्टर प्लान्ट’ निर्माण भइरहेको छ । 

निर्माणस्थलमा स्थानीयवासीलाई जानकारी दिन राखिनुपर्ने सूचना पाटीसमेत छैन । निर्माणस्थलमा सूचना पाटी नराखिँदा के बनाउन लागिएको हो भन्ने स्पष्ट नभएपछि स्थानीयवासीले पटकपटक सरोकार भएका निकाय बोलाएर छलफल कार्यक्रमसमेत आयोजना गरे । यति गर्दा पनि जानकारी हुन सकेन । कुन कार्यालयको योजना भन्नेसमेत थाहा नभई अन्योलमा भएका बेला राससको समाचार पढेर कार्यालय थाहा पाएपछि स्थानीयवासीसँग सल्लाह गरी बिहीबार सूचना मागको निवेदन दर्ता गरिएको १९ नं वडा नागरिक मञ्चका अध्यक्ष सुमन खड्गीले राससलाई जानकारी दिनुभयो ।

“उपभोक्ता समितिमार्फत ९० हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माण भएको भनिए पनि आयोजनास्थलमा सूचना पाटी नभएको र मञ्चले सार्वजनिकरुपमा छलफल कार्यक्रम आयोजना गरी पदाधिकारीलाई जानकारी दिने गरी बोलाउँदासमेत नआएपछि वाग्मती प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहेको खानेपानी तथा सरसफाइ डिभिजन नं ५ भक्तपुरमा कति बजेटमा, के काम गर्न लागेको लगायत आयोजनासम्बन्धी जानकारी सूचनाको हकसम्बन्धी २०६४ अनुसार माग गरिएको हो”, उहाँले भन्नुभयो । 

वडामा आएको योजनाका बारेमा वडा कार्यालयलगायत तीनै तहका जनप्रतिनिधिले अनुगमन गरेर गुणस्तरीय एवं पारदर्शी काम गराउनुपर्नेमा त्यस्तो हुन नसकेको स्थानीयवासीको गुनासो छ । आयोजनाका विषयका थाहा भएका जनप्रतिनिधि नै स्थानीयवासीलाई जानकारी नदिन लागेपछि मञ्चको अग्रसरतामा अध्यक्ष खड्गीले सूचना माग गर्नुभएको हो ।

वडाध्यक्ष शशिलाल श्रेष्ठ प्रदेशको बजेट भएकाले वडालेसमेत विस्तृतरुपमा जानकारी पाउन नसकेको बताउनुहुन्छ । चालू आवमा महानगरले त्यो आयोजनाका लागि रु ३० लाख बजेट छुट्याएको पनि उहाँले जानकारी दिनुभयो । 

दमैचाघाट उपभोक्ता समितिमार्फत सञ्चालनमा रहेको आयोजनाका बारेमा छलफल गर्न असार तेस्रो साता मञ्चले कङ्केश्वरी मन्दिरको सभाहलमा आयोजना गरेको कार्यक्रममा समितिका पदाधिकारी एवं सदस्य उपस्थित भएनन् । आयोजना कार्यान्वयन गर्ने समितिका पदाधिकारी स्थानीयवासीलाई जानकारी गराउन उपस्थित नहुँदा विषयको गम्भीरतालाई आशङ्कित बनाएकाले सूचना माग गर्नुपरेको मञ्चले जनाएको छ ।

सुशासन ऐन २०६४ मा पाँच लाखभन्दा बढीका आयोजना सञ्चालन गर्दा कहिले शुरु भएर कहिले अन्त्य हुने, लागत, निर्माण व्यवसायी वा उपभोक्ता समितिका विषयमा जानकारी दिन सूचना पाटी (होर्डिङ बोर्ड) राख्ने व्यवस्था गरिए पनि राजधानीकै मुटुमा पालना हुन सकेको छैन । मञ्चले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड क्षेत्रपाटी शाखालाई पनि यस विषयमा ध्यानाकर्षण गराएको थियो । मञ्चको ध्यानाकर्षणपछि लिमिटेडलेसमेत समितिलाई पत्राचार गरेको थियो । लिमिटेडले मञ्चलाई फिल्टर प्लान्टबाट उत्पादित पानी प्रशोधन गर्दा पनि पिउनयोग्य नहुने भनी प्राविधिक प्रतिवेदन दिएको प्रवक्ता प्रकाश राईले बताउनुभयो ।

“त्यहाँको पानीमा धमिलोपना (टर्विडिटी) ६४.६, आइरन ६.३ र एमोनिया ५८ प्रतिशत छ, यी तीन वटा प्यारामिटरका कारण पानी पिउन सकिँदैन, घरायसी प्रयोजनका लागि उपयोग गर्न सकिने प्रतिवेदन दिएको हो, प्रशोधनबाट आइरन र धमिलोपना मापदण्डमा ल्याउन सकिने भए पनि एमोनिया भने घटाउन सकिँदैन”, उहाँले भन्नुभयो ।

आयोजनाले महानगरका वडा नं १५, १७, १८, १९ र २० को अधिकांश क्षेत्रलाई समेट्ने जनाइएको छ । यो क्षेत्रमा धाराको पानी पुर्याउन नसकिएको लिमिटेडको स्वीकारोक्ति छ । महानगरपालिकाको वडा नं १९ मा आठ वटा ढुङ्गेधारा भए पनि हाल दुई वटामा मात्र पानी आउने गरेको वडासदस्य चन्द्रमान डङ्गोलले बताउनुभयो । मरुहिटी र बञ्जाहिटीमा मात्र पानी आउने गरेको उहाँले सुनाउनुभयो ।

आयोजना सञ्चालन गरेको खानेपानी तथा सरसफाइ डिभिजन नंं ५ भक्तपुरका इञ्जिनीयर कुलप्रसाद शर्माले असार ३ गते रु ४० लाखमा सम्झौता भई फिल्टर प्लान्टको काम गरिएको बताउनुभयो । तीमध्ये रु २० लाख भने फ्रिज भएको उहाँले जानकारी दिनुभयो ।

वडा नागरिक मञ्चबाट सूचना माग भएपछि तीन चार दिनमै आयोजनासम्बन्धी सम्पूर्ण जानकारी दिने प्रतिबद्धता कार्यालय जनाएको अध्यक्ष खड्गीले बताउनुभयो । त्यो ठाउँमा खानेपानी आयोजना उपयुक्त छैनभन्दा भन्दै केही राजनीतिक व्यक्तिको दबाबमा आयोजनामा बजेट विनियोजन भएको इञ्जिनीयर शर्माले मञ्चका पदाधिकारीलाई जानकारी दिनुभएको छ ।

आयोजनाका लागि परामर्शदाता कम्पनीसमेत नियुक्त गरिएको सूचना प्राप्त भएकाले थप खोजी भइरहेको मञ्चले जनाएको छ । अपारदर्शिताको यो नमूनालाई उजागर गरी छोड्ने स्थानीयवासीको प्रतिबद्धता छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा