२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बजार अभावमा खुर्सानी व्यवसायी मारमा

२०७७, ५ भाद्र शुक्रबार ०७:१०

सुशीला रेग्मी । भदौ ५, रामपुर । बगनासकाली गाउँपालिका­१ माडीफाँटका कृषक एकदेव पाण्डेय खुर्सानीले बजार नपाउँदा समस्यामा पर्नुभएको छ । खुर्सानी बेचेर रु दुई लाखभन्दा बढी आम्दानी हुने अनुमान गरिए पनि यस पटक बजार भाउ मूल्य नहुँदा लागत सस्तोमा बिक्री गर्नुपरेको उहाँ गुनासो गर्नुहुन्छ ।

उहाँले करिब साढे दुई रोपनी जग्गामा खुर्सानी लगाउनु भएको छ । अघिल्लो वर्ष प्रतिकिलो रु ९० देखि १०० मा खुर्सानी बिक्री गर्नुभएका पाण्डेयले यस पटक मुस्किलले रु २० देखि रु २५ मा बेच्नु पर्दा कृषकलाई सित्तैमा बेच्नु सरह जस्तै भएको बताउनुहुन्छ ।  “खुर्सानीका बोट र उत्पादन राम्रै थियो, बजारमा बिक्री गर्न खोज्दा अघिल्लो वर्षको तुलनामा आधा पनि मूल्य पाउन सकिएन, कतिपय खुर्सानी बजार नपाएर बोटमै पनि कुहिएर गयो”, पाण्डेयले भन्नुभयो । 

खुर्सानीले बजार नपाउँदा खेती गर्ने उत्साह नै हराउँदै गएको बगनासकाली­१ चिलाङ्दीका कृषक कपिल ढुङ्गाना बताउनुहुन्छ । उहाँले दुई वर्षदेखि दुई रोपनीमा खुर्सानी खेती गर्दै आउनुभएको छ । बगनासकाली गाउँपालिकाले वडा नं १ चिर्तुङ्गधारा क्षेत्रमा खुर्सानीको पकेट क्षेत्र विस्तार कार्यक्रम शुरु गरेको छ । यहाँका ९० जना कृषक यस व्यवसायमा आबद्ध छन् भने करिब ६० रोपनी क्षेत्रफलमा खुर्सानी लगाइएको छ । 

गतवर्ष गाउँपालिकाले खुर्सानी खेती बिस्तार कार्यक्रमका लागि प्राङ्गारिक मल, बीउ, मल्चिङ्ग प्रविधि सहयोग गरेको कृषि शाखा प्रमुख राजेश बोहराले जानकारी दिनुभयो । माथागढी गाउँपालिका­४ झडेवा क्षेत्रमा छ वटा समूहमा व्यावसायिक रुपमा नै खुर्सानी खेती थालिएको छ । गतवर्षदेखि गाउँपालिकाले यो क्षेत्रलाई खुर्सानी पकेट क्षेत्रका रुपमा बिस्तार गर्ने गरी कार्यक्रम सञ्चालन गरिएको छ । 

गाउँपालिकाले गत वर्षमा रु दुई लाख बजेटबाट कृषकलाई जैविक मल, खुर्सानीका बीउ वितरण गरिएको र यसवर्ष खुर्सानी पकेट क्षेत्र विस्तार कार्यक्रमका लागि रु एक लाख रकम विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले बताउनुभयो । यहाँ करिब ६० रोपनी क्षेत्रफलमा खुर्सानी खेती गरिएको छ भने यस खेतीमा एक सय कृषक आबद्ध रहेको कृषि शाखा प्रमुख सीता खाम्चा मगरले बताउनुभयो । 

 उहाँका अनुसार गाउँपालिकामा यसपटक पकेट क्षेत्र कार्यक्रमअन्र्तगत लगाइएको खुर्सानी करिब ३५ हजार किलो उत्पादन भइसकेको छ । बजार मूल्य नहुँदा अघिल्लो वर्षको तुलनामा आधाभन्दा कम मूल्य नै घटाएर बिक्री गर्न कृषक बाध्य बनेका छन् ।

रामपुर नगरपालिकाको वडा नं ७ मा व्यावसायिक तवरले कृषकले खुर्सानी खेती शुरु गरेका छन् । नगरका सबैजसो वडामा खुर्सानी खेती गरेर मनग्य आम्दानी लिन सकिने भएपनि बजारको समस्या हुँदा कृषकले ठुलो क्षेत्रफलमा खुर्सानी खेती शुरु गर्न नसकेको कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउनुहुन्छ ।

पाल्पा जिल्लामा ६१ हेक्टर क्षेत्रफलमा खुर्सानी खेती गरिएको छ । वार्षिक उत्पादन ५३९ रहेको छ भने उत्पादकत्व ७.८१ रहेको छ । जिल्लाको बगनासकाली, माथागढी क्षेत्रमा व्यावसायिक रुपमा खुर्सानी खेतीको शुरुआत भएको कृषि ज्ञान केन्द्र पाल्पाका बागवानी विकास अधिकृत सन्तोष पाठकले बताउनुभयो । थोरै जग्गामा खुर्सानी लगाएर आयस्रोत लिन सकिने भएपछि कृषकले अन्य खेतीसँगै यसको शुरु गरेको उहाँ बताउनुहुन्छ । 

कोरोनाको कहरका कारण होटल व्यवसाय तथा व्यापार, पसल, बजार बन्द हुँदा खुर्सानी लगाएर राम्रो कमाइ गर्ने मनसाय बोकेका कृषकहरु भने बिक्री गर्ने माध्यम नहँुदा समस्यामा परेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ ।  “खुर्सानीलाई सुकाई मेशिनबाट प्रशोधन गरी पाउडर बनाएर प्याकिङ्ग गरी बजारमा लैजाने सकिने हुँदा कृषकलाई तालिम र प्रविधिको सहयोग आवश्यक रहेको छ र त्यसका लागि कृषकबाट माग आएको खण्डमा कार्यालयले कार्यक्रम सञ्चालन गर्नेछ,” प्रमुख अर्यालले भन्नुभयो । 

 तरकारी खेतीसँगै धेरेजसो कृषकले खुर्सानी खेती गर्ने गरेको पाइएको छ । जिल्लामा दुई हजार १२७ हेक्टर क्षेत्रफलमा तरकारी लगाइने गरिएको छ । वार्षिक उत्पादन ३४ हजार १६३ मेट्रिक टन रहेको छ भने उत्पादकत्व १६ मेट्रिक टन छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो