२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

टोखाले अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने

२०७७, ८ भाद्र सोमबार ०४:२८

अच्युत रेग्मी । भदौ ८, काठमाडौँ । टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाको आइतबार बसेको ६१ औँ नगर कार्यपालिकाको बैठकले कोभिड–१९ नियन्त्रणमा अग्रभागमा प्रत्यक्ष खटिने मेडिकल अधिकृतसहितको टोली र स्वाब सङ्कलनमा खटिने प्रयोगशालाकर्मीलाई खाइपाई आएको तलब स्केलमा आइसोलेसन सेन्टर सञ्चालन भएको मितिदेखि भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । 

नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले कोभिड–१९ नियन्त्रणमा प्रत्यक्ष खटिने एम्बुलेन्स चालक, सुरक्षाकर्मी, कार्यालय सहयोगी र स्वीपरलाई तलब तथा दैनिक हाजिरीका आधारमा १०० प्रतिशत भत्ता उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो । उक्त भत्ता नगरपालिकाको स्वास्थ्य शाखाको सिफारिसका आधारमा उपलब्ध गराइने नगर प्रवक्ता बस्यालले बताउनुभयो ।

यस्तै बैठकले कोभिड–१९ नियन्त्रणमा अप्रत्यक्ष खटिने अन्य सवारी चालक र  स्वास्थ्य शाखाका कर्मचारीलाई ४० प्रतिशत र नियमित सेवा प्रवाह गर्ने अन्य स्वास्थ्यकर्मीलाई २५ प्रतिशत भत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ । कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलनमा खटिएका स्वास्थ्यकर्मीलाई असारदेखि भत्ता उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । एउटै व्यक्तिले दोहोरो भत्ता लिन नपाइने व्यवस्थासमेत टोखाले गरेको छ ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितका लागि खाना तथा खाजा खर्चको रकम नगर उपप्रमुखको संयोजकत्वमा रहेको समितिले निर्णय गरी सिफारिस गरेबमोजिम उपलब्ध गराइने जानकारी दिनुभयो । बैठकले ६० औँ बैठकमा प्रत्येक वडा कार्यालयबाट खटिएका बढीमा १५  स्वयंसेवकलाई वडा कार्यालयको सिफारिसका आधारमा राष्ट्रिय बीमा कम्पनीमार्फत कोरोना बीमा प्रक्रिया अगाडि बढाइने निर्णय भए पनि ६१ औँ बैठकले २० जनासम्मको कोरोना बीमा गर्ने निर्णय गरेको छ । 

यस्तै टोखा–२ मा रहेको सार्वजनिक जग्गामा आइसोलेसन सेन्टर स्थापनाका लागि स्रोत, साधन, आवश्यकता र औचित्यताका आधारमा अध्ययन गरी प्रतिवेदन पेश गर्न नगर उपप्रमुख ज्ञानमाया डङ्गोलको संयोजकत्वमा रहेको समितिलाई जिम्मेवारी प्रदान गर्ने निर्णय भएको नगरप्रमुख अधिकारीले बताउनुभयो ।

कार्यपालिकाको बैठकले नगरपालिकाअन्तर्गत वडाध्यक्षले बुझिलिएका मोटरसाइकल र  स्कुटर वडा कार्यालयका नाममा हस्तान्तरण गर्ने तथा नगरपालिकालाई आवश्यक पर्ने स्वास्थ्यसँग सम्बन्धित उपकरण खरिदका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । टोखा–२ चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन वाग्मती प्रदेश सरकारलाई सिफारिस गरिने भएको छ । 

नगरपालिकाभित्रका खाद्यान्न, तरकारी तथा फलफूल, दुग्धजन्य तथा मासुजन्य पसल बिहान ५ देखि ८ बजेसम्म खोल्न दिँदै आइएकामा आगामी दिनदेखि ५ बजेदेखि ९।१५ बजेसम्म खोल्न दिने बैठकले निर्णय गरेको छ । टोखामा अहिलेसम्म ९२ जनामा कोरोना सङ्क्रमण देखिइसकेको छ । तीमध्ये ६३ जना सक्रिय सङ्क्रमित छन् । नगरपालिकामा कोरोना सङ्क्रमितको दर बढेसँगै शनिबार मात्र १७ शय्याको ‘आइसोलेसन सेन्टर’ स्थापना गरी सञ्चालनमा ल्याइसकिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा