९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्युठानमा व्यावसायिक सुन्तला खेतीः बजारीकरणको माग

२१ भाद्र २०७७, आईतवार ०९:१८

भदौ २१, झिमरुक । प्युठानको झिमरुक गाउँपालिका –७ तुषारामा व्यावसायिक रुपमा सुन्तला खेती गरिँदै आएको छ । यहाँका किसानले परम्परागत रुपमा गरिँदै आएको सुन्तला खेतीलाई व्यावसायीकरण गर्न थालेका छन् । 

 हावापानीका हिसाबले उपयुक्त तुषारामा करीब ५०  किसानले व्यावसायिक रुपमा सुन्तला खेती गरेका छन् । घरपरिवारमा खानका लागि करीब एक सय परिवारले सुन्तलाका बोट लगाए पनि केहीले व्यावसायिक खेती शुरु गरेको सुन्तला उत्पादन कृषक समूहका अध्यक्ष मोहन जिसीले बताउनुभयो । 

व्यावसायिक रुपमा सुन्तला खेतीलाई बढावा दिन २५  किसानको समूह गठन गरिएको छ । जिसीका बारीमा हाल सानाठूला गरी सुन्तलाका १५६ बोट छन् । अघिल्लो आर्थिक वर्षमा रु एक लाख १० हजार बराबरको सुन्तला बिक्रीसमेत गरिएको उहाँले बताउनुभयो । यस क्षेत्रका किसानले याममा रु २० देखि ३० हजारसम्मको सुन्तला बिक्री गर्दै आएका छन् । रोग तथा कीराबाट बचाउन सक्ने हो भने सुन्तलाले राम्रो उत्पादन दिने उहाँको भनाइ छ । 

यसपूर्व प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत बगैँचा व्यवस्थापन  र नयाँ बेर्ना लगाउन प्रोत्साहन गरिएपछि सुन्तला खेतीतर्फ किसान थप आकर्षित भएको अध्यक्ष जिसीले बताउनुभयो । यहाँका किसानले अझै पनि परम्परागत रुपमा सुन्तला खेती गरेका कारण यसलाई व्यावसायिकीकरण र बजारीकरण गर्न आवश्यक रहेको उहाँको भनाइ छ । गाउँदेखि बजार क्षेत्र बाग्दुला र  बिजुवारमा सम्पर्क गरी पठाउँदा उचित मूल्य नपाएको किसानको गुनासो छ । 

प्युठान नगरपालिका–१० का रविलाल रोका मगरले पनि व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आउनुभएको छ । उहाँले आफ्नो जमीनमा सानाठूला गरी सुन्तलाका करीब २०० बोट लगाउनुभएको छ । बाबुबाजेले लगाउँदै आएको सुन्तलालाई पछिल्ला वर्षमा व्यावसायीकरण गरिएको उहाँले बताउनुभयो । विभिन्न निकायको सहयोगमा सुन्तला खेती फष्टाउनसमेत सहयोग भएको उहाँको भनाइ छ । सुन्तलासँगै उहाँले मौसम खेती पनि गर्नुभएको छ । “फलफूल बिक्रीवितरणबाटै घरपरिवार चलाएको छु”, उहाँले भन्नुभयो, “राम्रो आम्दानी हुन थालेपछि यसलाई व्यावसायीकरण गरेको हुँ ।” यस वर्ष भने असिनाले दानामा असर गर्दा उत्पादनमा कमी आउने उहाँको भनाइ छ । 

मगरसंगै प्युठान– ९ र १० मरन्ठानाका  करीब ५०   किसानले सुन्तला र मौसम खेती गर्दै आएका छन् ।  एक जना किसानले  याममा करीब चार क्विन्टलसम्म सुन्तला र मौसम बिक्रीवितरण गर्ने स्थानीयवासी रमेश गिरीले बताउनुभयो । यहाँका किसानले उत्पादन गरेको फलफूल बिक्रीका लागि  नगरपालिकाले निःशुल्क ढुवानी गरिदिने व्यवस्था मिलाएको छ । दशैंतिहार जस्ता ठूला चाडपर्वमा लाग्ने मेलामा नगरपालिकाले ढुवानी गरिदिएपछि फलफूलले उचित मूल्य पाएको र  किसानलाई सहज भएको गिरीले बताउनुभयो ।

स्वर्गद्वारी नगरपालिका –ं २ धनवाङका पटमान रोका मगरले पनि व्यावसायिक रुपमा सुन्तला खेती शुरु गर्नुभएको छ । लामो समयसम्म भारतीय सेनामा जागिर गरेर अवकाशपछि घर फर्किएर परम्परागत रुपमा गरिँदै आएको सुन्तला खेतीलाई व्यावसायीकरण गरिएको मगरले बताउनुभयो । उमेरले ६५ वर्ष पुग्नुभएका पटमानले श्रीमती दिलमायाका सहयोगमा २०७१ सालदेखि व्यावसायिक रुपमा सुन्तला खेती गरेको बताउनुभयो ।  उहाँले हाल आफ्नै ११ रोपनी क्षेत्रफलमा सुन्तलाका पाँच सयभन्दा बढ बोट रोप्नुभएको छ । स्थानीयवासी जङ्गबहादुर घर्तीको नर्सरीबाट बिरुवा किनेर खेती शुरु गर्नुभएका पटमानले मकैबारीमा मकैसँंगै सुन्तला लगाउनुभएको छ । एकै ठाउँबाट दुवै उत्पादनले आम्दानी हुने उहाँको विश्वास छ । 

अन्य खेतीमा पटकपटक मेहनेत गर्नु पर्ने भए पनि सुन्तला खेतीमा वर्षका एकदुई पटक मलजल गरेपछि राम्रै फल पाइने पटमानले बताउनुभयो । सुन्तलालाई प्राङ्गारिक मलका लागि चार गाईसमेत उहाँले पाल्नुभएको छ ।  पछिल्लो समय सुन्तलामा कीरा लाग्ने, जरामा झोपा लाग्ने तथा सेतो, पहेंँलो रोग लाग्ने हुनाले विषादी प्रयोग गर्नु परेको उहाँ बताउनुहुन्छ । परम्परागत रुपमा बारीको ढिककाल्नामा सुन्तला खेती गरिए पनि हाल भने आफ्नो जग्गाको पूरै क्षेत्रफलमा सुन्तला लगाइएकोे उहाँको भनाइ छ । सडकको पहुँचबाट अलि टाढा रहेको सो गाउँमा हाल सडक निर्माण भएसँगै उत्पादन गरिएका सबै वस्तुले सहज रुपमा बजार पाउने किसानको आशा छ । 

यससंगै प्युठानका विभिन्न क्षेत्रमा परम्परागत रुपमा रहेका सुन्तला खेतीलाई पछिल्लो समय व्यावसायिकीकरण गरिँदै आएको पाइन्छ ।  जिल्लाका ऐरावती, नौबहिनी गाउँपालिकासहित स्वर्गद्वारी नगरपालिकामा समेत व्यावसायिक रुपमा सुन्तला खेती हुँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो