२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अज्ञात रोगले कफी उत्पादनमा कमी

११ आश्विन २०७७, आईतवार ०८:२४

असोज ११, चौतारा । सिन्धुपाल्चोकमा किसानले लगाएको कफीमा अज्ञात रोगले बोट सुक्न थालेपछि यस वर्ष ४० प्रतिशत मात्र उत्पादन भई ठूलो आर्थिक क्षति बेहोर्नुपर्दा किसान मर्कामा परेका छन् ।

गतवर्ष रु एक करोड ३२ लाख मूल्य बराबरको ३० मेट्रिकटन उत्पादन भएकामा अज्ञात रोगले यसवर्ष १३ मेट्रिकटन मात्र उत्पादन भई झण्डै रु एक करोड हाराहारीको नोक्सान भएपछि किसान मर्कामा परेका हुन् । उत्पादित १३ मेट्रिकटन कफीलाई ए ग्रेडको पार्चमेण्ट ग्रिनवीन कफी तयार गर्दा आठ मेट्रिकटन मात्र बाँकी रहेको छ । यसवर्ष रु ५० लाख मूल्य बराबरको नौ अमेरिकी डलरको भाउमा पाँच मेट्रिकटन मात्र जापान, कोरिया र अष्ट्रेलिया निर्यात भएको जिल्ला कफी सहकारी सङ्घकी अध्यक्ष मन्दु थापाले राससलाई बताउनुभयो ।

गत वर्ष उत्पादित ३० मेट्रिकटन कफीमध्ये १०.३ मेट्रिकटन विदेश निर्यात भई बाँकी कफी स्वदेशमै खपत भएको थियो । यसवर्ष कोभिड–१९ महामारीका कारण गएको चैत ११ गतेदेखि देशमा लकडाउन (बन्दाबन्दी) भएकाले दुई मेट्रिकटन कफी गोदाममै थन्किएको अध्यक्ष थापाले बताउनुभयो ।

जिल्लामा १२४ हेक्टर क्षेत्रमा कफी खेती गरिएको छ । गत वर्षको हिउँदमा औसत भन्दाबढी वर्षा तथा हिमपात भएकोले अत्याधिक चिसोका कारण पात झर्ने र बोट तथा दाना समेत सुकेर झर्न थालेपछि किसान चिन्तित बनेका थिए । किसानको गुनासो आउन थालेपछि सङ्घबाट फिल्ड भ्रमण गरी कृषि तथा सहकारी मन्त्रालयको बाली विज्ञान महाशाखामा नमूना सङ्कलन गरी पठाइएको थियो । उक्त महाशाखाका वैज्ञानिकले निरीक्षण गरेपछि जलवायु परिवर्तनकै कारण रोग लागेको निष्कर्ष निकालेका थिए । 

निरीक्षणबाट खासै उपलब्धी हासील हुन नसकेपछि रोगी बिरुवालाइ हटाएर स्वास्थ बिरुवा रोप्नुका साथै पर्याप्त कम्पोस्ट मल राखेपछि २५ प्रतिशत रोग नियन्त्रणमा आएको कृषि विज्ञ एवं कफी सहकारी सङ्घका केन्द्रीय उपाध्यक्ष सुदर्शन वोलखेले बताउनु भयो ।

जिल्ला कफी सहकारी सङ्घका सल्लाहकारसमेत रहनुभएका बोलखेकाअनुसार कफीलाई समय समयमा काँटछाँट र मलखाद दिनुपर्ने भएकाले कफी खेतीप्रति अभिरुची राख्ने किसानलाई आवश्यक जानकारी दिइँदै आएको छ । विसं २०६५ मा जिल्ला कफी सहकारी सङ्घको स्थापना भएपछि यहाँ उत्पादित कफी विदेश निर्यात हुँदै आएको छ । यहाँको हावापानीअनुसार सर्वोत्तम मानिएको बोर्वन प्रजातिका अराबिक कफीका बिरुवा लगाइएको छ । अरूको तुलनामा रोग प्रतिरोधात्मक क्षमता बढी रहेको उक्त प्रजातिका कफी विदेशमा अत्याधिक रुचाइने गरेको पाइएको छ । प्राङ्गारिक प्रमाण पत्रको आधारमा १४ देखि १६ मिलिमिटरको कफी मात्र विदेश निर्यात हुँदै आएको छ । 

गाउँघरमा युवा जनशक्तिको अभाव भएको अवस्थामा कफी खेती गर्न सहज हुनुका साथै नगदेबाली भएकाले किसान यसतर्फ आकर्षित भएका हुन् । कफी सदाबहार बिरुवा भएकाले वातावरण स्वच्छ राख्न र भूक्षय रोक्न सघाउ पु¥याउँछ । एक पटक लगाएको स्वस्थ बिरुवाले कम्तीमा ४० वर्षसम्म उत्पादन दिने र वृद्धवृद्धा र केटा केटीले दाना टिप्न सक्ने भएकाले यसलाई सजिलो खेतीको रुपमा लिइन्छ । कफीको बिरुवालाई छहारीको आवश्यकता पर्ने हुँदा बाली विविधीकरणअन्तर्गत केरा तथा अन्य फलफूल साथै खाली जमीनमा अदुवा खुर्सानी र बेसार खेती गरी अतिरिक्त आम्दानी लिन सकिन्छ । वार्षिक रु ६० हजारदेखि रु एक लाख २५ हजारसम्म आम्दानी गर्न थालेपछि यसतर्फ किसानहरु आकर्षित भएका हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान