१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वैदेशिक रोजगारी छोडेर गाउँमै उद्यम

१९ कार्तिक २०७७, बुधबार ०७:३७

झलनाथ खनाल । कात्तिक १९,  भजनी । कैलालीको जानकी गाउँपालिका वडा नं– ८ भगरैयाका युवा विनोद विक अफ्रिकाको सेसलमा पाँच वर्ष बसेर फर्किनुभयो । त्यहाँ उहाँको आम्दानी राम्रै थियो । त्यहाँ बस्दा उहाँको मासिक आम्दानी रु दुई लाख ५० हजारभन्दा बढी थियो । त्यो आम्दानी छोडेर उहाँ स्वदेश फर्किएको करिब ४ वर्ष भयो । वैदेशिक रोजगारीका क्रममा झण्डै रु एक करोडभन्दा बढी कमाएर फर्केको उहाँको भनाइ छ ।  

स्वदेश फर्केर वैदेशिक रोजगारीका क्रममा कमाएको रुकमको ठूलो हिस्सा उहाँले भैँसीपालनमा लगाउनुभएको छ । विगत एक वर्षदेखि आफ्नै गाउँमा भैँसीपालन थाल्नुभएका विकको त्यस क्षेत्रको नमुना भैँसी फर्म रहेको छ । उहाँका अनुसार भैंसीपालनमा हालसम्म रु ८५ लाख खर्च भइसकेको छ । उहाँले भैँसीपालनमा लगानी थप्दै  गएको बताउनुभएको छ । “विदेशमा गरिने परिश्रम नेपालमा गर्न सके सफलता प्राप्त गर्न गाह्रो छैन, विकले भन्नुभयो, “विदेशमा १८ घण्टा काम गर्छौँ कमाइ भएको देख्छौँ । तर स्वदेशमा काम ८ घण्टा पनि गर्दैनौँ कमाई चाही धेरै खोज्छौँ । अनि जति कमाए पनि कमै देख्छौँ ।’’ 

उहाँले दैनिक ५० देखि ६० लिटर दूध बेच्दै आएको बताउँदै चारजना भाइ भँैसीफार्ममा काम गर्ने गरेको बताउनुभयो । उहाँले विदेशमा काम गर्नुभन्दा स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचले स्वदेश फर्किएको बताउनुभयो । ‘‘कति अर्काको लागि मात्रै काम गर्ने भन्ने सोचेर घर फर्किएको हुँ’’ उहाँले भन्नुभयो ‘‘आफ्नो ठाउँमा काम गर्दाको आनन्द नै बेग्लै हुने रहेछ ।’’

 टीकापुर नगरपालिका–६ नारायणपुरका हिरण्य गिरी पनि रोजगारीकै लागि पाँच वर्ष मलेसिया बसेर फर्कनुभएको हो । उहाँ मलेसियामै बिरामी पर्नुभयो । हातखुट्टा चल्न छोड्यो र काम गर्न नसक्ने भएपछि उहाँ स्वदेश फर्किनुभयो । यहाँ केही समयको औषधि उपचारपछि सञ्चो भयो । त्यसपछि विदेशमा काम गर्दाको दुःख सम्झिदै स्वदेशमै केही गर्ने सोच बनाउनुभयो उहाँले । विदेशको दुःख सम्झिएपछि उहाँले स्वदेशमै केही काम गर्ने प्रण लिनुभयो । उहाँले स्थानीयवासी सुमनप्रसाद श्रेष्ठसँगको समन्वय तथा सुझाव सल्लाहअनुसार गाउँमै बङ्गुरपालन शुरु गर्नुभयो । 

करिब रु २२ लाख लगानीमा शुरु भएको टप एग्रिकल्चर बङ्गुर फार्ममा अहिले ४५ बङ्गुर छन् । यस बङ्गुर फार्मबाट बच्चा उत्पादन गरेर बिक्री गर्ने उद्देश्य उहाँको रहेको छ । अहिले यस बङ्गुर फर्ममा पाठा उत्पादन हुन थालेका छन् । विभिन्न ठाउँबाट माग पनि आइरहेको छ । तर अझै पाठा बेच्ने बेला भने आइसकेको छैन । ‘‘विभिन्न जिल्लाबाट किसानले माग गर्न थालेका छन्’’ उहाँले भन्नुभयो, “थोरै मात्रामा बेच्न शुरु गरे पनि अहिल्यै बेचिसकेको छैन । जुन माग अहिले छ त्यसअनुसार उत्पादन हुनसके विदेशमा विरामी भएर र यसै बिताएको समयको पनि म नाफा निकाल्न सक्ने अवस्थामा पुग्छु ।’’ उहाँको चारजनाको परिवार बङ्गुर फार्ममै संलग्न छ ।

जानकी गाउँपालिका–८ पहाडीपुरका प्रेमराज जोशी पनि मलेसियाबाट फर्केर गाउँमै व्यावसायिक तरकारी खेतीमा लाग्नुभएको छ । उहाँसँग पनि वैदेशिक रोजगारीका क्रममा कैयौँ दुःख झेलेको अनुभव छ । विसं २०६७ मा रोजगारीका लागि मलेसिया छिरेका प्रेमराज २०७१ सालमा स्वदेश फर्किनुभयो । स्वदेश फर्किएपछि उहाँलाई के गरौँ र कसरी केही आयआर्जन गरौँ भन्ने कुनै अन्योल भएन । थोरै रकम कमाएर फर्किएका प्रेमराजको अढाई बिघा खेतबारी छँदै थियो । त्यसैले उहाँले तरकारीखेती शुरु गर्नुभयो । 

उहाँले शुरुआतमा बारीमा फलेको तरकारी साइकलमा बोकेर बजार पुर्याउने गर्नुहुन्थ्यो । त्यही तरकारी खेतीबाट भएको आमदानीबाट केही समयपछि मोटरसाइकल किन्न सफल भएका जोशीसँग अहिले बारीमा उत्पादन भएको तरकारी बजारसम्म पुर्याउनको लागि मिनि ट्रक पनि छ ।

उहाँको चारजनाको परिवार तरकारी खेतीमा संलग्न छ । दुई जनालाई जोशीले वर्षभरि नै रोजगारी दिनुभएको छ भने उहाँको तरकारी फार्ममा दैनिक ज्यालादारीमा काम गर्नेको सङ्ख्या पनि धेरै नै छ । उहाँको तरकारी खेतीले गाउँमै रोजगारी सिर्जना गरेको छ । कुनै बेला रोजगारीका लागि मलेसिया भासिएका जोशी अचेल गाउँमै रोजगारदाताका रुपमा चिनिनुभएको छ भने अहिले उहाँकै सिको गर्दै कैयौँ युवा तरकारी खेतीमा आकर्षित भएका भएका छन् । 

उहाँले गाउँमा उत्पादन भएको अन्य व्यवसायीको तरकारी समेत खरिद गरी बजार पुर्याउने काम समेत गर्नुभएको छ । बारीमा यतिबेला बोडी, लौका, करेलालगायतका तरकारी टन्न फलेको छ । कोरोना महामारीका कारण मुलुकमा केही समयअघि भएको बन्दाबन्दीका कारण भने उहाँको आम्दानीमा केही असर परेको छ । लकडाउनका कारण होटल बन्द छन् । बारीमा फलेको तरकारी खपत हुनसकेको छैन । ‘‘लकडाउनले केही हदसम्म असर पारेको छ’’ उहाँले भन्नुभयो– ‘‘तर तरकारी खेतीमा लागेर राम्रै आम्दानी भइरहेको छ ।’’

टीकापुर नगरपालिका–५ नुक्लीपुरका प्रकाश ओड युएइस्थित दुबईको एक होटलको राम्रो जागिर छोडेर फर्किनुभयो । सन् २०१५ मा दुबई पुगेका ओड २०१९ मा स्वदेश फर्किनुभएको हो । उहाँले अहिले गाउँमै बाख्रापालन थाल्नुभएको छ । बाख्राबाट राम्रो आमदानी हुने भन्दै व्यावसायिक बाख्रापालनमा लागेका ओडले विदेशभन्दा स्वदेशमै राम्रो आम्दानी हुने भन्दै बाख्रापालनमा लागेको उहाँले बताउनुभयो ।

उहाँले बोयर जातको बाख्रा पाल्ने लक्ष्य रहेको बताउनुभयो । “लोकल जातको बाख्राको नश्ल सुधारको कामको थालनी भइसकेको छ र यसका लागि रु दुई लाख ५० हजार खर्च गरेर अस्ट्रेलियाबाट बोयर जातको बोका ल्याएको छु । उहाँले भन्नुभयो, “थप १५ ओटा बोयर जातको बाख्रासमेत मगाएको छु, केही दिनभित्रै आइपुुग्छ, मासु उत्पादन र बिक्री गर्ने मेरो लक्ष्य छ ।’’ 

वैदेशिक रोजगारीबाट फर्केर कृषि क्षेत्रमा लागेका यी केही उदाहरणीय पात्र मात्रै हुन् । हाम्रो गाउँ समाजमा अझ थुप्रै युवाहरु वैदेशिक रोजगारीबाट फर्केर कृषि क्षेत्रमा लागेका छन् र उनीहरुले विदेशमाभन्दा राम्रो आम्दानी र अझ त्योभन्दा पनि राम्रो सन्तुष्टि आर्जन गर्न सफल भएको देख्न सकिन्छ । उनीहरुमध्ये धेरैजसोको भनाइ आफ्नै देशमा केही गर्नुपर्छ भन्ने छ । जसले समाजका अन्य युवाहरूलाई समेत प्रेरणा मिलेको छ ।

रानी जमारा कुलरियाको राम्रो सहयोग

कृषि क्षेत्रमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले महत्वपूर्ण सहयोग गर्दै आएको छ । रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले कृषि क्षेत्रमा सहयोग गर्दै आएको छ । कार्यालयले विभिन्न किसानलाई वर्र्सेनी लाखौँ रुपैयाँ बराबरको कृषि औजार, मलखाद, बीउबिजन, विषादीलगायत सहयोग गर्ने गरेको छ । वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै कृषि क्षेत्रमा लागेका अधिकांश युवाहरु समेत कार्यालयबाट लाभान्वित भएका छन् । समाचारमा उल्लेखित सबै युवाले कार्यालयबाट केही न केही सहयोग प्राप्त गरेका छन् भने त्यस सहयोगले पेशामा लाग्न झन् मद्दत पुगेको युवाहरू बताउँछन् ।

कार्यालयका कार्यालय प्रमुख भरत कँडेलले कृषि क्षेत्रमा लाग्न युवालाई प्रोत्साहित गर्ने खालका विभिन्न कार्यक्रम सञ्चालन हुने गरेको बताउनुभयो । उहाँले धेरैभन्दा धेरै युवाहरु कृषि क्षेत्रमा लागेर कृषि उपजमा आत्मनिर्भर बन्ने उद्देश्य रहेको बताउँदै अझै पनि युवाहरूले आयोजनाबाट थुप्रै प्रकारको लाभ लिनसक्ने कार्यक्रम रहेको बताउनुभयो । कँडेलले किसानले उत्पादन गरेको वस्तुको बजारीकरणमा समस्या रहेको बताउँदै त्यसका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने बताउनुभयो । 

उहाँले कोरोनाका कारण रोजगारी गुमाइ व्यावसायिक कृषिमा लाग्न चाहने युवाहरुलाई प्राथमिकतामा राखिने भन्दै थप कार्यक्रमका लागि समन्वय भइरहेको बताउनुभयो । रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले गत आर्थिक वर्षमा कृषि क्षेत्रका लागि करिब रु २३ करोड बजेट विनियोजन गरेको थियो भने चालू आर्थिक वर्षका लागि रु २८ करोड ८८ लाख विनियोजन गरेको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै आजदेखि सकियो दसैँ बिदा, सरकारी कार्यालय खुल्दै सुदूरपश्चिम रोयल्समा अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हज नियुक्त