मोहन पौडेल । पुस २, परासी । इस्लाम र हिन्दू धर्मावलम्बीको साझा आस्थाको केन्द्र मदारबाबा थानमा केवलकार सञ्चालन हुने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुस्ता गाउँपालिका–२ स्थित यस स्थललाई धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले केवलकार सञ्चालनका लागि प्रक्रिया थालेको हो ।
मदारबाबा थान (समाधीस्थल) पुग्न महलबारी बजारबाट पहाड र जङ्गल हुँदै करिब तीन घण्टाको उकालो चढ्नुपर्ने हुन्छ । व्यवस्थित सडक नहुँदा भक्तजन घण्टौँ जोखिमपूर्ण पैदलयात्रा गरेर समाधीस्थल पुग्ने गरेका छन् । महलबारीबाट समाधीस्थलसम्म जाने यात्रुलाई सहजताका लागि केवलकार सञ्चालन गर्न लागिएको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
“हामीले स्थानीय तहको चुनावका क्रममै घोषणापत्रमा यहाँ आउने भक्तजन र पर्यटकलाई आवातजावतमा सहज बनाउन केवलकार सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थियौँ, सोहीअनुसार प्रक्रिया शुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “केवलकार सञ्चालनका लागि व्यवसायीहरू आएर लगानी गर्ने इच्छा देखाउनुभएको छ” ।
सुस्ता–२ महलबारीबाट समाधीस्थलसम्मको नौ किलोमिटर बाटो हाल जोखिमपूर्ण पैदलयात्राबाट जानुपर्ने बाध्यता छ । समाधीस्थलमा पुगेर दर्शन गर्दा मनोकामना पूरा हुने विश्वासका साथ यहाँ प्रत्येक वर्ष नेपाल र भारतका लाखौँ भक्तजन आउने गरेका छन् । यहाँ शिवरात्रिभन्दा नौ दिनअघिदेखि ठूलो मेला लाग्ने गर्दछ । दश दिनसम्म लाग्ने मेला शिवरात्रिको दिन समापन हुन्छ ।
यस पवित्रस्थलमा बाह्रै महिना पर्यटकको आकर्षण बढाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न गाउँपालिकाले केवलकार सञ्चालनको प्रक्रिया थालेको जनाएको छ । पैदलयात्रा नै गरेर दर्शनका लागि समाधीस्थल पुग्न चाहने भक्तजनको सुविधाका लागि पनि महलबारीबाट समाधीस्थलसम्म सिँढी निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष पाण्डेले उल्लेख गर्नुभयो । समाधीस्थलसम्म पुग्ने बाटो वन क्षेत्रमा पर्ने भएकाले सिँढी निर्माणका लागि वन विभागसँग स्वीकृतिका लागि पठाइएको उहाँले बताउनुभयो । गढीमाईपछिको सबैभन्दा ठूलो मेला लाग्ने यस स्थलमा अप्ठ्यारो सडकसँगै खानेपानी, बिजुली, शौचालयको समेत समस्या छ ।
यस क्षेत्रको विकास, संरक्षण र जर्गेनाका लागि गाउँपालिकाले प्रत्येक वर्ष बजेट विनियोजन गरी लगानी गर्दै आएको अध्यक्ष पाण्डे बताउनुभयो । गत वर्ष रु २५ लाख विनियोजन भएकामा कोरोना महामारीका कारण काम गर्न नसकिए पनि यस वर्ष निरन्तरता दिने उहाँले बताउनुभयो । लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पनि यस क्षेत्रको विकासका लागि बजेट विनियोजन गरेको छ । तीनै तहका सरकारको साझेदारीमा यस क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर काम गर्ने उहाँको भनाइ छ ।
मुस्लिम समुदायका लागि नेपालकै ठूलो र पुरानो ऐतिहासिक मदारबाबास्थलमा हरेक वर्ष फागुन महिनामा लाग्ने मेलामा पाँच लाखभन्दा बढी भक्तजन आउने गर्दछन् । त्यसमध्ये ६० प्रतिशतभन्दा बढी भारतबाट आउने गरेको मदारबाबास्थलका मठाधीश अमिरुल्लाह अन्सारीले बताउनुभयो । विशेषगरी सन्तान नहुनेहरुले यहाँ आएर दर्शन गर्दा सन्तान प्राप्ति हुने गरेको जनविश्वास छ । यसबाहेक अन्य बिरामीले यहाँ आएर भाकल गर्ने गरेका छन् ।
यहाँ आउने पर्यटक एक दिन बास बसेर जाने गरेका छन् । तर समाधीस्थलमा बासको राम्रो व्यवस्था छैन भने पिउन तथा स्नान गर्न पानीको सुविधा छैन । बिजुली नहुँदा टुकीको भरमा प्रार्थना तथा पूजा गर्नुपर्ने बाध्यता छ । यस क्षेत्रको संरक्षण कुतबुल मदार शाह दरगाह कमिटी महलबारीले गर्दै आएको छ । मठाधीश अन्सारीका अनुसार यो स्थल मदारबाबाले तपस्या गरेको क्षेत्र हो । आजभन्दा ६०० वर्ष पहिला मदारबाबा यस स्थलमा आएर तपस्या गर्नुका साथै आफ्ना शिष्यहरुलाई सन्देश दिने र मानवसेवामा क्रियाशील हुनुहुन्थ्यो । शुरुमा महलबारीमा रहेको गद्दी घरमा बाबा बस्ने गरेको तर त्यहाँ भीड बढ्न थालेपछि माथि पहाड हालको समाधीस्थलमा गएर तपस्या र सेवा गर्ने गरेको किंवदन्ती छ । उहाँका शिष्य र अनुयायी हिन्दू तथा इस्लाम दुबै धर्मका रहेकाले आज पनि यस स्थलमा सबै धर्मको उत्तिकै आस्था र विश्वास रहेको छ ।
विश्वका १०३ देशमा भ्रमण गर्ने क्रममा मदारबाबाले नवलपरासीको यस मदारडाँडा र बुटवलको फूलबारीमा पनि तपस्या गरेको बताइन्छ । भौगोलिकरूपले विकट तथा वर्षको एकपटक मात्र मेला लाग्ने गरेकाले यस क्षेत्रको उचित प्रचारप्रसार र विकास हुनसकेको छैन । केवलकार सञ्चालन भए यहाँ आउने पर्यटक थप बढ्ने र आवातजावतमा सहज हुने मठाधीश अन्सारीले बताउनुभयो । यद्यपि पैदलयात्रामा रमाउनेका लागि सिँढी पनि आवश्यक रहेको उहाँले बताउनुभयो ।
विश्वकै धेरोहरका रूपमा रहेका यस स्थलको विकासका लागि तीनै तहका सरकारले ठोस योजनाका साथ कार्य गर्नुपर्ने कुतबुल मदारशाह दरगाह कमिटीका अध्यक्ष निजामुद्दिन मियाँले बताउनुभयो । यसस्थलमा पुग्न सदरमुकाम परासीबाट २७ किलोमिटर र पूर्वपश्चिम राजमार्गको बर्दघाटबाट २१ किलोमिटरको यात्रा तय गर्नुपर्दछ । रासस