२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विदेशबाट फर्केर सामूहिक तरकारी खेती

२०७७, २२ पुष बुधबार ०८:३२

पुस २२, तम्घास | विश्व महामारीका रुपमा फैलिएको कोरोनाले धेरैको भविष्य अन्योल बनाए पनि गुल्मीका युवाले भने नयाँ सोचसहित सामूहिक तरकारी खेती गर्न थालेका छन् । विदेश तथा स्वदेशमा काम गर्ने धेरैका रोजगारसमेत गुमेको बेला यहाँको रेसुङ्गा नगरपालिकाका युवा विदेशबाट फर्केर सामूहिक तरकारी तथा कृषि खेतीमा लागेका छन् । 

रेसुङ्गा नगरपालिक–१० सिमिचौरका ४० वर्षीय राजन कुँवर विगत १० वर्षदेखि मलेसियामा विभिन्न रेष्टुरेन्ट तथा अन्य कम्पनीमा काम गर्नुहुन्थ्यो । व्यक्तिगत कामका लागि गत फगुन २४ गते स्वदेश फर्कनुभयो । त्यसपछि कोरोना महामारी शुरु भयो । विदेशको भिसा पनि कम्पनीले बन्द गरिदियो । परिवार चलाउनकै लागि अर्थोपार्जका विभिन्न उपाय सोच्दै गरेका कुँवरले सामूहिक कृषि खेतीको अवधारणा बनाउनुभयो । अहिले उहाँसहित सिमिचौरका पाँच र रेसुङ्गा नगरपालिका–४ अर्खलेका एक गरी ६ जना मिलेर गत जेठदेखि सिमिचौरमै सामूहिक तरकारी खेती गरिरहनुभएको छ । उहाँसहित टोपबहादुर कुँवर, फर्सुराम कुँवर, रवि कुँवर, सुवास कुँवर र टेकराज कुँवरले सामूहिक तरकारी खेती शुरु गर्नुभएको हो । उहाँहरु सबै वैदेशिक रोजगारीबाट बन्दाबन्दीको समयमा घर फर्कनुभएको हो ।

छ युवाले सिमिचौरकै १० जनाको कूल ७२ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएका छन् । उक्त जग्गा छ वर्षदेखि बाँझो थियो । जसले गर्दा खेतमा रूख उम्रिएर जङ्गलमा परिणत भएको थियो । युवाले आफूहरुको परिश्रमसहित कूल रु ६ लाख लगानीमा ५५ रोपनी जङ्गल (खेत) फँडानी गरी अहिले तरकारी लगाएका छन् । 

जग्गाधनीमध्ये केहीले एक वा दुई वर्षको भाडा छुट गरेका छन् । त्यसपछि भने वार्षिक रु ६० हजार जग्गा भाडा बुझाउनुपर्ने राजन कुँवरले बताउनुभयो । खेतमा अहिले पाँच क्विन्टल आलु लगाइको छ । त्यस्तै गोपी, प्याज, काँक्रा, घिरौँलालगायत तरकारीका नर्सरीहरु रहेका छन् । अन्य तरकारीका बेर्नाहरु पनि यामअनुसारका उत्पादन गर्छन् । अहिलेसम्म प्याज, गोपीलगायत बेर्ना बिक्रीबाट मात्रै एक लाखभन्दा बढी आम्दानी भइसकेको छ । अहिले बारीमा बन्दागोभी, लोकल गाजर, साग, मूला, टमाटर, केराउलगायत तरकारी छन् । उत्पादित कृषिजन्य सामग्री सबै रेसुङ्गा नगरपालिकाको हाटबजारमा बिक्री हुने गरेका छन् । कृषि उपज लिन नगरपालिकाको गाडी फार्म नजीकै आउने भएकाले बजारको समस्या नभएको अर्का कृषक फर्सुराम कुँवरले बताउनुभयो ।

विदेशमा काम गर्नेको तुलनामा ६० प्रतिशत मात्रै मिहिनेत गरे राम्रो आम्दानी हुने राजनको भनाइ छ । भविष्यमा आफूहरुले उक्त ठाउँलाई टमाटरको पकेट क्षेत्र बनाउने योजना रहेको उहाँले सुनाउनुभयो । विदेशमा अरूको मातहतमा काम गर्न परे पनि स्वदेशमा ‘आफ्नै हात जगन्नाथ’ हुने उहाँको अनुभव छ । ७२ रोपनीमध्ये बाँकी रहेको केही जग्गा फँडानी गरी तरकारी खेती गर्न तयारी अवस्थामा राखिएको छ । बाँकी रहेको २०÷२२ रोपनी जग्गामध्ये केही भाग फँडानी गरी बाख्रा पाल्ने र केही भाग बाख्राका लागि चरन क्षेत्र बनाउने योजना छ ।  अब एक÷डेढ महिनाभित्रै खोर बनाउन शुरु गरिने, खोरमा चार सयसम्म बाख्रा पाल्ने र उक्त बाख्राका लागि घाँस पनि लगाउने अर्का कृषक टोपबहादुरले बताउनुभयो ।

सिमिचौरकै २६ वर्षीय सुवास कुँवर रोजगारीको सिलसिलामा अहिलेसम्म तीन देश घुम्नुभयो । शुरुमा मलेसिया जानुभयो । दलालका कारण काम राम्रो नभएपछि उहाँ दुई महिनामै घर फर्कनुभयो । त्यसपछि रोजगारीकै लागि भारत र कतार जानुभयो । तर, कोरोनाका कारण काम बन्द भएपछि उहाँ पुनः घर फर्कनुभयो । गाउँमै केही काम गर्ने सोच बनाएका सुवास सामूहिक खेतीमा भविष्य देखेर काममा होमिनुभयो । आफूको सानैदेखि कृषिमा रुचि भएकाले पनि अहिले तरकारी खेती गर्दा आनन्द लागेको उहाँले सुनाउनुभयो । विदेशमा भन्दा स्वदेशमा काम गर्दा छुट्टै प्रकारको आनन्द आउने उहाँको अनुभव छ । “विदेशमा अरूको मातहतमा बस्नुपर्छ, समयमा तलब आउने ग्यारेन्टीसमेत हुँदैन”, उहाँले भन्नुभयो, “यहाँ त आफ्नै प्रकारको स्वतन्त्रता छ ।”

सामूहिक कृषि खेतीमा लागेका अर्का सदस्य ३७ वर्षीय टेकराज विगत पाँच वर्षदेखि मलेसिया हुनुहुन्थ्यो । कोरोनापछि गाउँ बस्ने सोच बनाएर शुरु गरेको तरकारी खेतीबाट उहाँलाई सन्तुष्टि मिलेको छ । अहिले आफूहरुलाई काम गर्नका लागि विभिन्न कृषि सामग्री फार्मसम्म पु¥याउन तथा उत्पादित कृषिजन्य उपजहरु बजारसम्म लैजान मोटरबाटोको समस्या तथा सिँचाइका लागि पानी भए पनि पाइपको समस्या रहेको उहाँले गुनासो गर्नुभयो । 

त्यस्तै विभिन्न कृषिजन्य सामग्री जस्तै हाते ट्र्याक्टर, टनेल, बीउ तथा आवश्यक मललगायत सामग्री पाए उत्पादनमा वृद्धि हुने उहाँले बताउनुभयो । मलेसियामा वार्षिक चारदेखि पाँच लाख आम्दानी हुने गरेकामा यहाँ त्योभन्दा बढी हुने उहाँको अपेक्षा छ । 

रेसुङ्गा नगरपालिकाका कृषि शाखाप्रमुख हरिशरण पन्थीले नगरपालिकाभित्रका व्यावसायिक कृषि फार्मलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम बनाएको बताउनुभयो । नगरपालिकाले कृषकलाई तालीम, अनुदान, युवा लक्षित कार्यक्रम, हाते ट्र्याक्टर, स्प्रेयरजस्ता सामग्री प्रदान गरिएको पन्थीले बताउनुभयो । कृषकको उत्पादनलाई बजारको ग्यारेन्टी नगरपालिकाले गरेको र यसबाट धेरै कृषक लाभान्वित भएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले हाटबजार सञ्चालन गरीे तोकेको दरमा जुनसुकै प्रकारका कृषि उपजहरुको बजारको ग्यारेन्टी गरेको पन्थीको भनाइ छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो