माघ २९, काठमाडौं । कोरोना महामारीका कारण रोजगारी गुमाउनेको संख्या सबैभन्दा बढी लघु उद्योगमा रहेको पाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोभिड–१९ ले उद्योग क्षेत्रमा पारेको प्रभावबारे एक अध्ययनले यस्तो देखाएकोहो ।
कोरोना महामारीले गर्दा लघु उद्योगपछि क्रमशः साना, मझौला र ठूला उद्योगहरुमा रोजगारी गुमेको अध्ययनले देखाएको छ । अध्ययन अनुसार रोजगारी गुमेको अवस्थालाई लैंगिक दृष्टिकोणबाट हेर्दा महिलाको तुलनामा पुरुषहरुले उल्लेख्य संख्यामा रोजगारी गुमाएका छन् ।
मन्त्रालयले अध्ययनको लागि १७ वटा लघु उद्यम तथा घरेलु उद्योग, ८ वटा साना उद्योग, ४ वटा मझौला उद्योग र ८ वटा ठूलो उद्योग गरी कुल ३७ वटा उद्योग व्यवसायको सहभागितामा अध्ययन गरेको जनाएको छ । जसमा अध्ययनको लागि नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल चेम्बर अफ कमर्स र महिला उद्यामी महासंघमार्फत उद्योग व्यवसायीको सहयोग लिएको जनाएको छ ।
मन्त्रालयले २०७७ कार्तिक १७ देखि मंसिर १६ गतेसम्म तथ्याङ्क कार्य गरिएको थियो । जसमा उक्त अध्ययनमा गरगहना, रङरोगन, सिमेन्ट, तामा पित्तल भाँडा, जलविद्युत उत्पादन, हस्तकला, तयारी पोसाक, परामर्शलगायतका वस्तु तथा सेवा उत्पादन गर्ने उद्योग व्यवसायहरू सहभागी भएका थिए ।
मन्त्रालयले गरेको अध्ययन अनुसार १०.८१ प्रतिशत उद्योग व्यवसायहरु पूर्ण रुपमा बन्द भएको जनाएको छ । सरकारले गरेको बन्दाबन्दीले कुनै पनि उद्योग पूर्ण रुपमा सञ्चालन हुन नपाएको मन्त्रालयको अध्ययनले देखाएको छ । जसमा अध्ययनमा सहभागी उद्योग व्यवसायहरुमध्ये १०.८१ प्रतिशत पूर्ण बन्द रहेको छ भने ८९.१९ प्रतिशत उद्योग व्यवसायहरु आंशिक रुपमा सञ्चालनमा रहेका छन् । त्यसमध्ये पूर्ण बन्द भएका उद्योगहरुमा लघु तथा घरेलु उद्योगको संख्या ७५ प्रतिशत रहेको जनाएको छ ।
मन्त्रालयले तयार गरेको अध्ययन अनुसार उद्योगहरुको उत्पादन क्षमतामा उल्लेख्य रुपमा गिरावट आएको जनाएको छ । सर्वेक्षणमा सहभागी उद्योगहरुमध्ये ५४ प्रतिशत उद्योगहरुको ५० प्रतिशतले उत्पादन क्षमतामा ह्रास आएको उल्लेख गरेको छ ।
त्यसैगरी ३२.४३ प्रतिशत उद्योगहरुको ७५ प्रतिशतसम्म उत्पादन गिरावट आउनुका साथै २३.५२ प्रतिशत लघु घरेलु उद्योगको उत्पादन क्षमता ७५ प्रतिशतले घटेको अध्ययनले देखाएको छ ।
अध्ययनमा सहभागी लघु तथा घरेलु उद्योगमध्ये ८२.३५ प्रतिशत उद्योगहरुले कोभिड–१९ महामारीका कारण आफ्नो उत्पादनमा असर परेको मन्त्रालयलाई जानकारी दिएको मन्त्रालयले जनाएको छ ।त्यसैगरी ७६.प्रतिशत लघु तथा घरेलु उद्योगले कच्चा पदार्थ प्राप्ति गर्न कठिनाई हुनुका साथै श्रमिक परिचालनमा समेत असर परेको बताएका छन् । त्यस्तै, ७५ प्रतिशत साना उद्योगहरुले उद्योगथको लागि कच्चा पदार्थ प्राप्त गर्न कठिन भएको प्रतिक्रिया दिएका छन् । साथै, ८७.५ प्रतिशत उद्योगहरूले श्रमिकहरुको परिचालन र उत्पादनको बजारीकरणमा असर परेको जनाएको छ ।
त्यस्तै मझौला उद्योगहरुमध्ये ५० प्रतिशतले कच्चा पदार्थ प्राप्तिमा समस्या परेको, ७५ प्रतिशत उद्योगहरुको श्रमिक परिचालनमा समस्या परेको जनाएको छ । कोभिड-१९ ले सबै मझौला उद्योगको उत्पादन र बजारीकरणमा असर परेको अध्ययनले देखाएको छ । ठूला उद्योगको हकमा भने कच्चा पदार्थको प्राप्ति, वस्तु तथा सेवाको उत्पादन, श्रमिक परिचालन र बजारीकरण सबै क्षेत्रमा असर परेको पाइएको छ ।
मन्त्रालयले गरेको उद्योगहरुको नाफा नोक्सानको अवस्था अध्ययन गर्दा, कोभिड-१९ प्रभावले अधिकांश उद्योगहरु नोक्सानमा रहेको जनाएको छ । यस अध्ययनमा सहभागी उद्योगहरुमध्ये १६.२२ प्रतिशतले मात्र नाफामा रहेको छ । नाफामा रहेका उद्योगमध्ये ६६.६७ प्रतिशत ठूलो उद्योग रहेका छन् ।
यससँगै मन्त्रालयका अनुसार कोरोनाको समयमा उद्योग व्यवसायको सञ्चालन क्षमता घटेकोले वस्तु तथा सेवाको उत्पादनमा समेत गिरावट आएको जनाएको छ । साथै, उद्योगी तथा व्यवसायहिरूको कच्चा पदार्थको आपूर्ति, श्रमिक परिचालन र उत्पादनको बजारीकरण समस्या भोगिरहेको बताएका छन् । अधिकांश उद्योगी व्यवसायहरू घाटामा सञ्चालन भएका छन् भने लघु, घरेलु, साना तथा मझौला उद्योगीहरूले सञ्चालन पूँजीको अभाव भएको बताएका छन् ।
मन्त्रालयका अनुसार नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनलाइृ उदृत गर्दै कोरोनाले लगाइएको बन्दाबन्दीले गर्दा ९६.७ प्रतिशत उद्योगहरूको ७३.८ प्रतिशत औद्योगिक उत्पादन/कारोबार घटेको जनाएको छ । साथै, उक्त अध्ययन अनुसार २२.५ प्रतिशत श्रमिकले रोजगारी गुमाएको उल्लेख गरेको छ । जसमा अन्य क्षेत्रको तुलनामा लघु, घरेलु, तथा साना उद्योगहरुले उल्लेख्य रुपमा श्रमिकको कटौती गरेको जनाएको छ ।
उद्योग क्षेत्रमा सञ्चालकहरुको सञ्चालन खर्चको अभाव, उत्पादनको बिक्री वितरणमा कठिनाई, बजार मागको कमी जस्ता समस्या रहेको उक्त अध्ययनको निष्कर्ष निकालेको छ । यस्तै, आन्तरिक र बाह्य प्रणालीमा भएको अवरोधले उद्योगहरु सञ्चालनका लागि आवश्यक कच्चा पदार्थको उपलब्धता हुन नसकेको, श्रमिक आपूर्तिमा कठिनाई भएको र औद्योगिक उत्पादनको बजारीकरण समेत प्रभाजित भएका कारण सम्पूर्ण उद्योग क्षेत्रको आर्थिक उत्पादकत्वमा नकारात्मक प्रभाव परेको मन्त्रालयको अध्ययनले देखाएको छ ।
यस अध्ययनमा सहभागीहरुको उद्योग व्यवसायीको पूर्ण सञ्चालनका लागि सरकारले ब्याजदरमा विशेष छुन दिनुपर्ने माग गरेको छ । साथै, सहुलियत दरमा ऋण पाउनुपर्ने, करमा विशेष छुट दिनुपर्ने, उत्पादनको आधारमा विद्युतको डिमाण्ड शुल्क निर्धारण गर्नुपर्ने, अभिवृद्धि कर फिर्ता दिनुपर्ने, पूनकर्जा उपलब्ध गराउनुपर्ने, घरभाडा छुट दिनुपर्ने भन्दै उद्योगीहरुले सुझाव दिएको मन्त्रालयले जनाएको छ ।
यसका साथै कम्तिमा २ वर्षसम्मको श्रमिकको न्यूनतम ज्यालामा वृद्धि गर्न नहुने, अन्तशुल्क र भ्याटको दरमा पुनर्मूल्याङ्कन गर्नुपर्ने र नेपाल सरकारले घोषणा गरेका सबै सहुलियतहरु तुरुन्त प्रदान गर्नुपर्ने सुझाव मन्त्रालयलाई दिएको मन्त्रालयलले उल्लेख छ ।